Logo

अर्थ

सिन्धुलीका सात स्थानीय तहले बजेट सार्वजनिक गरे



सिन्धुली । कमलामाई नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाले कृषि उत्पादन र त्यसको बजारिकरणलाई प्राथमिकतामा दिँदै कृषि एम्बुलेन्स सञ्चालन सुरु गरी कृषि क्षेत्रको व्यवस्थापन, उत्पादन र त्यसको बजारिकरणलाई महत्व दिएर आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो ।

कृषिलाई व्यवसायीकरण, बजारीकरण र विस्तारिकरणका लागि आवश्यक पर्ने सिंचाइ, शीतगृह, संकलन केन्द्र सामुदायिक खेती तथा कृषि यान्त्रिकरण विकास गर्ने नीति लिइएको मेयर उपेन्द्रकुमार पोखरेलले जानकारी दिए ।

सिन्धुलीका ९ मध्ये सात स्थानीय तहहरूले नीति कार्यक्रम तथा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् ।

हरिहरपुरगढी गाउँपालिकाले तयारी नपुगेको भन्दै नीति तथा कार्यक्रम ल्याउन सकेन । यस्तै गोलन्जोरमा विवादका कारण शुक्रबार आगामी आर्थिक वर्ष ०७९/०८० को बजेट आउन सकेन । यी दुई पालिकाले असार १५ गतेभित्र बजेट ल्याउने तयारी गरेका छन् ।

कमलामाई नगरपालिकाले भने नगरसभामा नीति तथा कार्यक्रमसँगै शुक्रबार एक अर्ब ३४ करोड ७६ लाख रुपैयाँ बजेट प्रस्तुत गरेको हो । दुधौली नगरपालिकाले पनि नीति तथा कार्यक्रमसँगै एक अर्ब १२ करोड ३२ लाख ९० हजार ४२३ रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

मरिण गाउँपालिकाले तीन दिनअघि नै ६३ करोड २३ लाख ३३ हजार आठ सय बजेट सार्वजनिक गरेको छ । नीति कार्यक्रमसँगै सुनकोसी गाउँपालकाले ६० करोड, फिक्कल गाउँपालिकाले ५२ करोड ७४ लाख ७५ हजार, तीनपाटन गाउँपालिकाले ७७ करोड, घ्याङलेख गाउँपालिकाले ४८ करोड बजेट सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार १७:३७   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।