Logo

विविध

ढलान गर्न नपाउँदै भाँचियो झोरुङ खोलाको मोटरेबल पुल



दोलखा । दोलखाको झोरुङ खोलामा बन्दै गरेको मोटरेबल पुल भाँचिएको छ । बिगु गाउँपालिका– ४ मा बन्दै गरेकाे साे पुल जेठ मसान्तमा निर्माण सकिएपछि हस्तान्तरण गर्नुपर्ने भए पनि हाल ढलान गर्ने तयारी थियो । पुलको एक भाग दबिएको आशंकामा बिगु गाउँपालिकाले २ साताअघि नै निर्माण रोक्न सम्बन्धित कम्पनीलाई भनेको थियो ।

पुलको एक भाग १०/१२ सेन्टिमिटर दबिएको आशंकामा निर्माणको काम रोक्न भनिएको पालिकाका प्राविधिक शाखा प्रमुख सब इन्जिनियर सरोज खड्काले बताए ।

त्रिवेणी–बाँनिया–लाफा जेभीले २ करोड १६ लाखमा निर्माण गर्नेगरी ठेक्काको कबोल गरेर जिम्मा लिएको थियाे । असार मसान्तमा हस्तान्तरण गर्नेगरी हतारमा उक्त निर्माण कम्पनीले पुल ढलानको तयारी थालेको हो । जेठ मसान्तमै प्राविधिक त्रुटिको आशंकामा काम रोक्न दिएको आदेश पुल ढलानका लागि फर्मा कसेर टेको लगाइएको थियो ।

स्थानीयका अनुसार निर्माण कम्पनीले पालिकाको आदेश नमानेर ढलानका लागि छड बाँध्ने काम गरिरहेको थियो । शनिबार झोरुङ खोलामा आएको बाढीले पुल भाँचिएको पालिकाले जनाएको छ । बिगु गाउँपालिकाको ५,६,७ र ८ का झण्डै ३० हजार स्थानीयको यातायात सहज बनाउन यहाँको पुल अति महत्वपूर्ण छ । सिंगटी खोला जलविद्युत् आयोजनाको ८० प्रतिशत र पालिकाको २० प्रतिशत लागतमा झोरुङ खोलामा पुल निर्माण हुन लागेको थियो ।

प्रकाशित मिति : १२ असार २०७९, आईतवार १३:५२   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।