Logo

विविध

पहिराले डुम्रे बेँसीसहर र बेँसीसहर चामे सडक अवरुद्ध



लमजुङ । गएरातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिराले डुम्रे–बेँसीसहर सडक र बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । डुम्रे बेँसीसहर सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुर नजिकै पहिराले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।

उनका अनुसार गत वर्ष र केही दिनअघि गएको पहिराले अवरुद्ध बनाएको सडकका कारण वैकल्पिक रुपमा आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदिपुर जोडिने सडकमा सोही पहिराले ढुङ्गामाटासहित अवरुद्ध बनाएपछि सवारी साधन सञ्चालन ठप्प छ । सडक अवरुद्ध भएपछि बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवनलगायत ठाउँमा जान र सो स्थानबाट बेँसीसहर आउने सवारी साधन चल्न सकेका छैनन् ।

त्यस्तै, लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकखण्डस्थित बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा समेत बाढी पहिराले सडक अवरुद्ध भएको छ । करिब ३० मिटर सडक नै अवरुद्ध बनाएपछि सवारी साधन सञ्चालन हुन नसकेको प्रहरीको भनाइ छ । यस स्थानमा बर्सेनि पटकपटक पहिराका कारण थप जोखिम बढ्दै गएको छ । यी दुवै स्थानमा पहिरो खुलाउने तयारी भएको छ । डुम्रे–बेँसीसहर सडक ४२ किलोमिटर रहेको छ भने बेँसीसहर–चामे सडक ६५ किलोमिटर रहेको छ ।

प्रकाशित मिति : असार १४, २०७९ मंगलबार  ९ : ३४ बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।