Logo

टिप्पणी

तीन सिटे बन्दै एक सिटे बाबुराम !



नेकपा माओवादी केन्द्र पार्टी फूटाएर हिडेका डा. बाबुराम भट्टराई अहिलेसम्म जनता समाजवादी पार्टी छन् । अब जसपाबाट पनि २ जना सांसद लिएर बिदा हुने भएका छन् । उपेन्द्र यादवसँग सहमति गरेरै पार्टी फुटाउँने तयारी गरिसकेका छन् ।

सहमतिमै पार्टी फुटेको कुरा मात्रै सुन्न बाँकी थियो त्यो पनि भट्टराई र यादवले पूरा गरिदिने भएका छन् । भट्टराई र यादवले केमन्ट्रीनै नमिलेको भन्दै आ आफ्नो बाटो तताउँने निष्कर्षमा पुगेका छन् । यादवले कारबाही गरेर हटाएको भन्नुभन्दा सहमतिमा छुटौँ भन्ने कुरामा भट्टराई सहमत भएका छन् ।

तत्कालिन नयाँ शक्ति पार्टीको देब्रे आँखो चिन्हबाट नेपाली कांग्रेसको सहयोगमा गोरखबाट एक सिट जितेका भट्टराई घुम्दैफिर्दै जसपामा पुगेका थिए अब उनी त्यहाँबाट पनि बाटो लाग्ने भएका छन् । अब उनले के गर्छन् पत्तो छैन तर एक सिटे भट्टराईले तीन जना सांसद लिएर जसपाबाट निस्कने बताइएको छ ।

भट्टराईले बुधबार साँझ यादवलाई बोलाएर पार्टी फुटाउने प्रस्ताव राखेका भट्टराई निकट एक नेताले बतए । उक्त प्रस्ताव यादवले स्वीकार गरेको र अब सहमतिमा छुट्न दुवै पक्ष तयार भएको ती नेताले बताए ।

सिंहदबारमा भएको छलफलमा भट्टराईले वैकल्पिक शक्ति बनाउने उद्देश्यका साथ पार्टी एकता गरेको र त्यसलाई संगठनात्मक स्वरुप दिन नसकेकाले अब सहमतिमा छुट्नुपर्ने भन्दै प्रस्ताव गरेपछि यादवले छुट्न सहमत भएको एक नेताले जानकारी दिए ।

तत्कालीन संघीय समाजवादी फोरममा एक्लै छिरेका डा भट्टराई चार वर्षपछि बोनससहित बाहिरिने निश्चित भएको छ । अध्यक्ष यादवसँगको पछिल्लो वार्तामा सहमतिका आधारमा छुट्टिने र भट्टराई पक्षमा लागेका सांसदलाई कारबाही नगर्ने समझदारी भएपछि उनले बोनस पाउने भएका हुन् ।

तत्कालीन नयाँ शक्ति पार्टीबाट उनी एक्ला संघीय सांसद थिए । प्रदेशतर्फ गण्डकीमा २ र बागमतीमा एक सांसद थिए । बागमतीका सांसद प्रेम तामाङ कांग्रेसतिर लागिसकेका छन् । यसबीचमा भट्टराई संघीय समाजवादी फोरममा पुगिसकेपछि तत्कालीन राजपासँग एकीकरण गरेर जसपा बनेको थियो । जसपा पनि फुटेर राजपाको अधिकांश हिस्सा महन्थ ठाकुरसँगै लोसपा बनिसकेको छ ।

महन्थ ठाकुर निस्किएको ९ महिनापछि भट्टराई पनि जसपाबाट बहिर्गमन हुने निश्चित भएको छ । तर, यो बहिर्गमन विभाजन नभएर सहमतिका आधारमा हुन लागेको उपेन्द्र पक्षधर केन्द्रीय कार्यकारिणी सदस्य युवराज कार्कीले बताए ।

भट्टराईसँगै हालका कृषिमन्त्री महिन्द्रराय यादव जसपाबाट बाहिरिने लगभग निश्चित भएको छ । उपेन्द्र पक्षले तत्कालीन राजपाका राजकिशोर यादव, अमृता अग्रहरी पनि भट्टराईसँगै जाने दाबी गरेको छ । तर, राजकिशोरले भने सो दाबी अश्वीकार गरेका छन् ।

केही दिनअघिसम्म बाबुराम पक्षमा कार्यकारिणी समिति र संसदीय दल दुवैतिर बहुमत पुग्ने अनुमान थियो । तर, एकाएक उपेन्द्र बलियो बनेका छन् । भट्टराई र यादवबीच सहमतिमै अलग हुने तर भविष्यमा सहकार्य हुनसक्ने सहमति भएको छ ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार १८:४५   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।