गर्भमा हुर्किरहेको शिशु स्वस्थ जन्मियोस् भन्ने चाहना नगर्ने आमा सायदै होलान् । जन्मिने बच्चा कस्तो होला भन्ने कौतुहलता सबै आमामा हुन्छ ।
आफ्नो बच्चामा जन्मजात कुनै किसिमको स्वास्थ्य समस्या नहोस् भन्ने चाहना हुन्छ । तर गर्भावस्थाका वेला गरिएको गल्तीले पनि बच्चा अस्वस्थ र अपांग रूपमा जन्मिन सक्छ । त्यसैले यो समयमा गर्भवती यी कुरामा सचेत हुनुपर्छ :
गराउनुस् यस्ता जाँच
गर्भाधारणको चाहना भएको तीन महिना पहिले नै थाइराइड, सिस्ट आदिको परीक्षण गराउनुपर्छ। गर्भावस्थाको तीन महिनाअघि नै फोलिक एसिड सेवन गर्नुपर्छ । यो सेवनले बच्चा र आमामा रगत कमी हुँदैन । गर्भधारण भएपछि पनि नियमित जाँच गराइरहनुपर्छ । आवश्यक परे चिकित्सकको सल्लाहमा औषिध सेवन गर्नुपर्छ ।
संक्रमणबाट बच्नुस्
गर्भावस्थामा आमा भाइरल इन्फेक्सनबाट बच्नुपर्छ । त्यसैले चिकित्सकहरू भिडभाड भएको ठाँउमा नजान सल्लाह दिन्छन् । सार्वजनिक स्थानमा रहेको विभिन्न संक्रमण गर्भमा रहेको शिशुमा पर्न सक्छ ।
मद्यपान र धूमपानबाट टाढा
गर्भाधारण गर्न चाहने महिलाले मदिरा सेवन वा धूमपान चटक्कै छाड्नुपर्छ । मदिराको लतले गर्भ तुहिन सक्छ वा शिशुको विकास रोकिन सक्छ । धूमपानले समयअगावै जन्मिने खतरा र बच्चाको कम तौल हुनेलगायत समस्या उत्पन्न हुन्छ ।
नपिउनुस् यस्ता पेय पदार्थ
गर्भावस्थामा जुस पिउनु फाइदाजनक हुन्छ तर, फलफूलको ताजा रस । प्याकेज्ड जुसमा ब्याक्टेरिया हुन सक्छन् । त्यस्तै कोल्ड ड्रिंकमा धेरै चिनीक र उच्च मात्रामा प्रिजर्भेटिभ्सकोे प्रयोग भएको हुन्छ । यो आमा बच्चा दुवैका लागि फाइदाजनक छैन ।
नखानुस् चटपटे खाना
गर्भावस्थाको क्रममा शरीरमा हुने परिवर्तनको कारणे केही चटपटे खानेकुरा खान मन लाग्छ । तर, शिशुको स्वास्थ्यको लागि आफ्नो जिब्रोलाई नियन्त्रणमा राख्नैपर्छ । चटपटे, पानीपुरी, कुरमुरे पिज्जा, बर्गर, स्ट्रिट फुड, आदि सेवन नगरेकै राम्रो ।
बस्नुस् शान्त वातावरणमा
गर्भावस्थाका वेला धेरै होहल्ला वा अशान्त वातावरणमा बस्नु हुँदैन । एक अध्ययनअनुसार ध्वनि प्रदूषणले गर्भमा हुर्किरहेको बच्चाको श्रवणशक्ति प्रभावित हुन्छ। बच्चाको बोल्ने क्षमतामा पनि असर पर्छ ।




















प्रतिक्रिया