नेपाली कांग्रेसको क्रियाशील सदस्यता बाडफाँट गर्दा केन्द्रकै नेताहरुको आडमा कार्यविधि विपरीत वडा सभापतिको हस्ताक्षर नभएका फारम भरेर पठाएको पाइएको छ । बैतडी जिल्लाको दशरथ चन्द नगरपालिका वडा नम्बर १ गुरुखोलामा क्रियाशील सदस्याता छानबिन समितिका संयोजक रमेश लेखकका भतिजा पर्ने वडाध्यक्ष भुवनराज भट्टले वडा सभापति भिमदत्त भट्टको हस्ताक्षर बिना १५ जनाको फारम भरेर जिल्लामा पठाएको र ती सबै नामहरु केन्द्रीय कार्यालयको वेबसाइटमा राखिएका छन् ।
गुरुखोलामा ४९ जनाको क्रियाशील सदस्यता नविकरण गरिएको छ भने ६४ जनाको नाम नयाँ थप गरिएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयको वेबसाइटमा अध्यावधिक गरिएको छ । नविकरण क्रियाशील सदस्यता ठिक भए पनि नयाँ क्रियाशील सदस्यता वितरणमा जालझेल, षडयन्त्र, गुटगत स्वार्थ हावी भइ संगठनलाई नै छिन्नभिन्न हुने गरि क्रियाशील वितरण गरेको भन्दै स्थानीयस्तरमा आक्रोश बढेको छ ।
स्थानीय चुनावमा रातदिन नभनी खटिएका युवाहरुलाई सदस्यता नदिएर वडाध्यक्षले आफ्नो भाउजु, काकाको छोरा र आफ्नै श्रीमतीलाई क्रियाशील सदस्यता दिएका पाइएको छ । नेकपा एमालेबाट गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेस प्रवेश गरेका वडाध्यक्ष निकट भएर काम गरिरहेका अमरबहादुर टेरले आफ्नोसहित आफ्नै बुवा र आमाको नाममा क्रियाशील सदस्यता वितरण गरेका छन् ।
यसरी कार्यविधि विपरीत एउटै घरका तीन-चार जनालाई सदस्यता वितरण गरिएको पाइएको हो । नयाँ क्रियाशील सदस्यता दिने बेला पहिलो २५ जनामा सबैको सहमति भएपनि वडा सभापतिले २४ जनालाई एकलौटी वितरण गरेको आरोप वडाध्यक्ष भूवन भट्ट पक्षले लगाएको छ भने वडा सभापतिको हस्ताक्षरबिना १५ जनालाई क्रियाशील दिइएको भन्दै सभापति भीम भट्टले केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिलाई उजुरी दिएका हुन् । उनले अवैधरुपमा उक्त नामहरु पठाएको आरोप लगाएका छन् ।
विधान विपरीत पदको दुरुपयोग गर्दै क्रियाशील नथप्न रमेश लेखकलाई कञ्चनपुर कांग्रेसको चेतावनी
उनले दिएको उजुरीमा भनिएको छ, “नयाँ क्रियाशील सदस्यता ४९ को ठाउँमा क्रम संख्या ५० देखि ६४ सम्मका थप व्यक्तिहरुको नाम देखियो । उक्त नामहरु वार्ड समितिको निर्णय बिना, पुराना क्रियाशीलको सरसल्लाहबिना पार्टी सभापतिकोको बिना हस्ताक्षर, प्रदेश सभा क्षेत्रीय कार्यसमिति र नगर कार्यसमितिबाट सिफारिस नभइकन यस वार्डको लिस्टमा प्रकाशित तीन नामहरु के-कति र कसरी केन्द्रबाट समावेश गरियो ?”
यसरी पार्टीको विधान विपरीत नीति नियम र निर्देशन विपरीत गएका १५ जनाकाको फारमका बारेमा जिल्ला कार्य समिति सभापति एवम् पदाधिकारीलाई इन्ट्री गर्नुभन्दा पूर्व नै मौखिक जानकारी गराइएको भए पनि नामहरु समावेश गरिएको उक्त उजुरीमा उल्लेख छ ।
वडा कार्यसमितिले उक्त अवैधानिक काम गराउनेलाई आवश्यक छानबिन गरि क्रम संख्या ५० देखि ६४ सम्मका नामहरु खारेज गर्नसमेत माग गरिएको छ । वडाध्यक्षले उक्त क्रियाशीललाई एकलौटी रुपमा बाँडेको आरोप लगाइएको छ । जिल्ला अधिवेशनमा भोट नपाइने हो की भन्ने आ-आफनो गुटगत स्वार्थका कारण नयाँ युवा पीँढिलाई क्रियाशील सदस्य पाउनबाट वञ्चित गराइएकोसमेत पाइएको छ ।
यसरी युवा पीँढिलाई सदस्यताबाट वञ्चित गराइनु पार्टीका लागि घातक र आउँदै गरेको जिल्ला अधिवेशनलाई समेत गम्भीर असर पर्ने देखिएको स्थानीय एक नेताले बताएका छन् । उनले नाम नखुलाउने शर्तमा भने, “वडाध्यक्ष र रमेश लेखकको मिलेमतोमा यो काम गरिएको हो । अब पार्टीका लागि लागेका युवा साथीहरुलाई सदस्यता दिइएको छैन । केन्द्रमा उनलाई नै संयोजक बनाएको छ अनि यताबाट ज-जसको नाम पठायो, तिनै सदर गर्ने गरिएको पाइयो । शक्तिको चरम दुरुपयोग गर्नेहरुले लोकतन्त्रलाई कसरी बलियो बनाउँछन् ?”
वडा कार्यसमितिले दिएको उजुरीको पूर्णपाठ




















प्रतिक्रिया