अहिले विदेशमा भएका युवाहरु नेपाल फर्किने वातावरण बन्छ कि नेपालमै भएका हामी युवा या हाम्रो अब आउने पुस्ता पनि विदेश नै जानुपर्ने अवस्था आउँछ ? केहि समय अघिदेखि यो प्रश्न मेरो मानसपटलमा घुमिरहेको छ ।
तीन वर्षअघि जब राजनीति सही दिशामा गएजस्तो लाग्दथ्यो ,त्यतिबेला म सहजै उल्लेखित प्रश्नको उत्तर दिन्थें र साथीहरूलाई भन्थें – अहिले विदेशमा भएका तपाईं युवा साथीहरू नेपाल फर्किने वातावरण बन्दैछ तयारी गर्दै गर्नुहोस्, नेपाल फर्किएर केही गर्ने योजना बनाउनुहोस् !
त्यतिबेला मलाई ‘हुन्छ, तिमीले एकदम राम्रो गरेका छौँ, चीनजान बढाएका छौँ, भोलि फर्किएर केही व्यवसाय गर्ने योजना बन्यो भने पनि साथ दिन्छौ भन्नेमा विश्वस्त छु” भनी ढाडस दिने साथीप्रति म क्षमा माग्न चाहन्छु । नेपालको अवस्था तपाईं हामीले सोचे जस्तो भइदिएन । विकृत राजनीतिले गर्दा नेपालमै भएका अधिकांश युवा साथीहरू बेलैमा विदेश नगएकोमा फ्रस्ट्रेटेड (पश्चाताप मानेर बसिरहेका) छन् । केही साथीहरू भने त्यही विकृत राजनीतिलाई कमाउने र राजनीतिक करिअर बनाउने अवसरको रूपमा उपभोग गरिरहेका छन् ।
आज सचेत, जिम्मेवार र इमानदार युवाहरुमा एउटा चिन्ता छ त्यो के हो भने ‘व्यक्तिगत स्वार्थमा लिप्त अवसरवादी युवाहरूको कारण राजनीति कहिल्यै नसुध्रिने, तिनीहरुकै झुण्डले निकट भविष्यमा सत्ताको बागडोर सम्हाल्न पुग्ने र तिनिहरुबाटै आफ्नो र आफ्ना सन्ततिको पुस्ता शासित हुनुपर्ने स्थिति आउने हो कि’ भन्ने छ ।
जस्तोसुकै परिस्थितिमा पनि स्वदेशमै संघर्ष गरि अघि बढ्नुपर्छ, विदेशी भूमीमा गएर चुहाउने पसिना स्वदेशमै चुहायो भने जीवन सहज हुन्छ र मुलुक पनि समृद्धिको दिशातर्फ अघि बढ्छ भन्ने मान्यता अनुरुप स्वदेशमै जागीर या व्यवसाय गरि बसेका युवाहरूले अहिले सोचेजस्तो सन्तुष्टि पाउन सकेका छैनन् । किनकि नेपालमा बसेर न त उनीहरुको जीवन सहज भएको छ न त मुलुक नै समृद्धिको दिशातर्फ अघि बढेको छ ।
बरु राजनीतिमा लागेका केही सीमित युवा साथीहरूले भने राम्रै प्रगति गरेका छन् । दुई तीन वर्षको यो अवधिमै राम्रो कमाइ गर्न सकेका छन् । नेपालको परिप्रेक्ष्यमा राजनीतिक करिअर पनि राम्रै बनाएका छन्, ठुलाबढा नेतासँग चीनजान बढाएका छन् । नेपाली समाजले पनि नामदाम कमाउन नसक्ने योग्य र इमानदार युवालाई भन्दा ती युवालाई बढी प्रोत्साहन दिएको छ । अहिलेकै अवस्था केही समयसम्म रहिरहे उनीहरूको बाँकी जीवन पनि हाइसन्चो र ऐसआरामका साथ कट्ने निश्चित छ ।
सचेत, जिम्मेवार र इमानदार युवाहरुको भने अवस्था झन्झन् गार्हो बन्दै गइरहेको छ । नेपालमा न त जागीर गरेर सन्तुष्टि लिन सकिने अवस्था छ, न त सहज तरिकाले व्यवसाय गरेर बस्ने वातावरण नै छ । जागीरले आफू र परिवारका आधारभूत आवश्यकता पूर्ती गर्न पनि हम्मेहम्मे छ भने व्यवसाय गर्नका लागि लगानी छैन र लगानी जुटाएर गरिहाले पनि व्यवसायबाट उचित प्रतिफल पाइएला भन्ने केही ग्यारेन्टी छैन ।
झन् अहिले त कोभिडका कारणले व्यवसायीहरु धारासायी हुने र लाखौंको रोजीरोटी गुम्ने अवस्था आइरहेको छ ।
कुनै न कुनै नेताको पछि लाउने, उसैको चाकडी गर्ने र उसैको गुणगान गाउने युवालाई भने अहिले कमाई गर्ने राम्रो अवसर छ । त्यसैले नेता र ठेकेदारसँग नजिक भएर करोडौंका योजनामा कमिसनको चाँजोपाँजो मिलाउने र आफ्नो दुनु सोझ्याउने युवाहरूले असल, इमानदार र जिम्मेवार युवाहरुलाई देखि सहँदैनन्, उनीहरुलाई शत्रुवत व्यवहार गर्दछन्, निरीह ठान्दछन् ।
सचेत, जिम्मेवार र इमानदार युवाले योग्यता र सिप हुँदाहुँदै पनि स्वदेशमा एकातर्फ राम्रो अवसर पाउनै गार्हो छ, अर्कोतर्फ अवसर पाइहाले पनि आफ्नो पारिवारिक आर्थिक अवस्थामा खासै सुधार ल्याउन सक्दैनन् र विदेश पलायन हुनुलाई उसले एउटा निर्मम विकल्पको रूपमा राख्नु स्वभाविक हो ।
फेरि अर्को कुरा आफू त जेनतेन स्वदेशमै सुखदुःख गरेर बसिएला तर आफ्ना सन्ततिलाई विदेश नपठाइ नहुने स्थिति आउने हो कि भन्ने चिन्ता पनि अहिलेको युवापुस्तामा छ । आफूले दु:ख पाए पनि आफ्ना सन्तानले सुख पाउन, उनीहरूको भविष्य राम्रो होस् भन्ने चाहाना हरेकको हुन्छ नै । तसर्थ सचेत भएर पनि, अवसर पाएर पनि नगर्नु भनेको भावी पुस्ताबाट अपहेलित हुने बाटो बनाउनु हो भन्ने बुझाइ उसको पनि रहन्छ ।
बाबु-बाजेका पालामा अहिले जस्तो विदेशमा जाने पनि प्रचलन थिएन, अहिले त छ नि, संसारको जुन कुनामा गएर आफ्नो श्रमको उचित मूल्य पाइन्छ, त्यहीँ जानुपर्छ । सुखी र समृद्ध जीवन हुन्छ भने एउटै देशको सिमाना भित्र आफूलाई खुम्च्याउनु हुँदैन भन्ने उसको तर्क पनि यसबखत स्वाभाविक लाग्दछ ।
यी सबै स्वाभाविक तर्कहरुले आजकल एउटा सचेत, जिम्मेवार र इमानदार युवालाई बढो पिरोल्न थालेको छ । उसलाई परिवार र देशको माया अति नै लाग्छ । समाज र देशको लागि केही गरौं भन्ने हुटहुटी उसमा सानैदेखि हुन्छ । योग्यता छ, सीप छ, जाँगर छ । जहाँ गए पनि राम्रै गर्न सक्छु, सफल हुन्छु भन्ने आत्मविश्वास हुन्छ । विभिन्न विकल्पहरुको छनोट गर्ने अवसर पनि उसमा निहित छ । तर पनि किन हो किन उ आजकल चिन्तित छ !
उ चाहन्छ आफूजस्ता युवाहरू मिलेर देशमा केही गर्नुपर्छ, सिस्टम बसाल्नुपर्छ, सुधार गर्नुपर्छ । तर स्वदेशमा हुने उसका साथीहरूले उसलाई उसले सोचे जस्तो साथ दिँदैनन् । उसलाई साथ दिने र उसँग विचार मिल्ने उसका साथीहरू त प्रायः विदेश पुगिसकेका रहेछन् । उ एक्लो भएको छ र पनि संघर्ष गर्दै अघि बढी रहेको छ ।
उसले अझैपनि आशा मारेको छैन, केही वर्ष उसले स्वदेशमै संघर्ष गर्ने निधो गरेको छ । उ चाहन्छ उसलाई उसका अरु धेरै साथीहरूले साथ दिउन्, समाज र देश बदल्ने रचनात्मक कार्यहरु गरुन्, राजनीति लगायतका क्षेत्रमा शुद्धीकरणको पक्षमा लागुन्, आवाज बुलन्द पारुन् । एकपटक पुनःजागृत होउन् ।
अवसर पाउनु, चाहना राख्नु र गर्न सक्नु यी फरक-फरक कुरा हुन्, चाहे त्यो राम्रो कार्यका लागि होस् या नराम्रो । के गर्ने र कस्तो परिणाम ल्याउने भन्ने हाम्रै हातमा छ !
तसर्थ हामी युवाहरूले जो जहाँ जस्तो अवस्थामा छौं, त्यहीँबाट सुधारको प्रयत्न गर्नुपर्छ, अहिले विदेशमा भएका युवाहरु पनि छिट्टै नेपाल फर्किने वातावरण बनाउनुपर्छ र नेपालमै भएका हामी युवा र हाम्रो अब आउने पुस्ता पनि विदेश नै जानुपर्ने अवस्था आउन दिनु हुँदैन भन्ने सन्देश उसले दिन चाहन्छ ।





















प्रतिक्रिया