धनराज आचार्य पोखरा महानगरपालिका–३३ भरतपोखरीको गैरागाउँमा जन्मिएका हुन् । बुवा ऋतुनाथ आचार्य र आमा जमुनादेवी आचार्यको कोखबाट २०२६ चैत १७ गते उनको जन्म भएको हो । मध्यम वर्गीय परिवारमा हुर्किएका उनी सानैदेखि पढ्नमा अब्बल थिए । धनराजले भरतपोखरीको शान्ति उदय माविबाट एस.एल.सी सम्मको पढाइ गरे । शान्ति उदय माविबाट शैक्षिक यात्रा सुरु गरेका उनले पृथ्वीनारायण क्याम्पसबाट एमबीए र एमएडसम्मको औपचारिक अध्ययन गरेका छन् ।
आचार्यको राजनीतिक यात्रा ?
आचार्य सानै उमेरदेखि नै राजनीतिमा चासो राख्थे । विद्यार्थी जीवनबाटै कास्की जिल्लाबाट राजनीतिमा सक्रिय हँुदै आएका उनी अहिले नेकपा एकीकृत समाजवादीको कास्की जिल्ला अध्यक्ष हुन । आचार्यको कम्युनिष्ट यात्राले चार दशक पूरा गरेको छ । उनले नेकपा एमाले विभाजन हुँदा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई साथ दिएका हुन् ।
२०३९ सालमा विद्यालयमै अनेरास्ववियु प्रारम्भिक कमिटीबाट विद्यार्थी राजनीति सुरु गरेका आचार्य क्याम्पस पढ्न पृथ्वीनारायण क्याम्पस छिरेपछि उनको राजनीतिक यात्रा थप सक्रिय रुपमा अगाडि बढेको हो । आचार्य २०४५ सालमा अनेरास्ववियूको कास्की जिल्ला कमिटी सदस्य, २०४६ सालमा सचिव र २०४७ सालमा अध्यक्ष बनेका थिए ।
२०४८ सालमा धनराज अनेरास्ववियू गण्डकी अञ्चल अध्यक्ष भए । २०४९ सालमा अनेरास्ववियूको केन्द्रीय कमिटी सदस्य बने । त्यही वर्ष उनी स्वतन्त्र विद्यार्थी युनियनको पृथ्वीनारायण क्याम्पस कोषध्यक्ष बने । तीन वर्ष कोषाध्यक्ष बनेका उनी २०५१ सालमा स्ववियू पृथ्वीनारायण क्याम्पस सभापति चुनिएका थिए । स्ववियूको जिम्मेवारी लिइरहँदा २०५० देखि २०५४ सालसम्म संगठनकै पश्चिमाञ्चल प्रमुख, २०५४ देखि २०५८ सालसम्म केन्द्रीय सचिवालय सदस्य भएका थिए ।
२०४५ सालमा राष्ट्रिय पञ्चायतविरुद्धको आन्दोलनबाट गिरफ्तार भएका उनी २ वर्षसम्म जेलका राजबन्दी र पार्टीबीचको सम्पर्क सूत्रको जिम्मेवारीमा रहेर समेत काम गरेका थिए । आचार्य पोखराका कुशल प्रभावशाली नेता मानिन्छन् ।
२०७७ सालको अन्तिममा एमालेभित्रको विवादले देशभर समानान्तर गतिविधि भए । सुरुमा कतै नखुलेका आचार्य पछि माधव नेपालले थालेको समानान्तर गतिविधिमा संलग्न भए । २०७७ चैतमा समानान्तर कमिटीको अध्यक्ष बनेका उनी नेकपा एकीकृत समाजवादी पार्टी स्थापनादेखि एमालेबाट अलग भएका छन् ।
स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार रहेका आचार्यले आफूले राजनीति सुरु गरेर यहाँसम्म आइपुगेको पार्टीलाई नै पराजित गरेर पोखरा महागरपालिकाका मेयरमा निर्वाचित भए । ५८ हजार ८९३ मत प्राप्त गरेका उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापालाई ६ हजार ४५ मतान्तरले पराजित गरेर प्रमुखमा निर्वाचित भएका हुन् ।
राजनीतिसँगै व्यावसायिक संगठनमा पनि सक्रिय
धनराज आचार्य राजनीतिसँगै व्यावसायिक संगठनमा पनि सक्रिय रहँदै आएका छन् । उनी २०६० सालमा नेकपा एमाले कास्की उद्योग व्यवसाय विभाग प्रमुख भएका थिए । २०६४ देखि २०६९ सम्म नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको फ्रयाक्सन सचिव बनेका आचार्य २०६९ देखि २०७४सम्म एमाले सम्बद्ध नेपाल राष्ट्रिय वाणिज्य संघ केन्द्रीय कमिटी अध्यक्ष भए ।
त्यहीबीच २०७१ देखि २०७६ सम्म नेपाल उद्योग तथा व्यवसायी महासंघ स्थायी कमिटी सदस्य, २०७१ देखि २०७५ सम्म नेकपा एमाले केन्द्रीय उद्योग तथा श्रम व्यवसाय विभाग सदस्य र २०७५ देखि २०७८ सालसम्म नेकपा उद्योग तथा व्यवसाय विभाग सदस्य थिए । उनी राजनीतिज्ञसँगै सफल व्यवसायीसमेत हुन् । पुस्तक पसलबाट व्यवसाय सुरु गरेका आचार्य अहिले प्रकाशन गृह नै चलाइरहेका छन् । २०५१ सालमा स्ववियू सभापति हुँदा ‘हेल्लो स्टेसनरी’ सञ्चालन गरेका थिए ।
आचार्यको योजनाहरु
पोखरा महानगरपालिकाको मेयरमा निर्वाचित भएलगतै मेयर आचार्यले पोखरा भन्ने व्यत्तिकै सम्झने चित्र कोर्न प्रतियोगिता आवह्वान गर्ने बताएका छन् । ‘पोखरा भनेपछि फेवाताल, माछापुच्छ्रे, सम्पदा भन्न सकिन्छ होला,’ उनले भने, ‘पोखरा के हो एउटा चित्र बनाउन प्रस्ताव आह्वान गर्छु, उहाँहरुका सिर्जना पार्क, कार्यालय लगायतका ठाउँमा सजाउँछौ ।’
पोखरा संसारकै पर्यटकका गन्तव्य शहर भएको भन्दै उनले पर्यटनको राजधानी घोषणा गर्न औपचारिक निर्णय गरेर अघि बढ्ने बताएका छन् । पोखरालाई बगैंचाको शहर बनाउने भन्दै सुरुवातमा जिरोकिलोमिटरदेखि लेकसाइडको हलनचोकसम्म फूलरोपण थाल्ने बताए ।
पोखराका ट्राफिक व्यवस्थापन गर्ने भन्दै उनले पार्किङका समस्या पनि समाधान गर्ने बताएका छन् । सडक, खानेपानी जस्ता विकासको कामहरुलाई पनि तीव्रता दिने उनको योजना छ ।




















प्रतिक्रिया