Logo

प्रमुख समाचार

दुश्मनसँगको वार्तालापः ‘जसको कविता पूजाकोठामा पुजिन्छ’



“दुश्मन” हामीले सुन्न नचाहने शब्द र हामीमाझ जरो गाडेर बसेको शब्द हो । नेपाली शब्दकोशले दुश्मनलाई जसरी व्याख्या गरे पनि यो शब्द शब्दकोशमा मात्र सीमित रहन सक्दैन । यो शब्द त हृदयमा बस्छ र मस्तिष्कलाई उचाली रहन्छ ।

मान्छे जतिसुकै सामान्य बन्न खोजे पनि मान्छे एक प्रतिस्प्रधामा रहेको हुन्छ । प्रतिस्पर्धी आफूमा नै पनि बन्न सक्छ । दुश्मनीको बीजारोपण नै प्रतिस्पर्धाको सुरुवात हो । त्यसैले मान्छेको दुश्मन आफैँ हुन पनि सक्छ । हुन त दुश्मनी जात र धर्मबीच पनि छ । दुश्मनी त सीमामा पनि छ । यी सबै कुरालाई मध्यनजर गर्ने हो भने दुश्मनीको पनि प्रकार हुने रहेछ । देशको दुश्मनी र छिमेकको दुश्मनीको प्रकार एकै होइन तर पीडा भने एकै हो ।

हामीले अनेकौँ मान्छे जीवनमा पाएका हुन्छौँ । ती मान्छे सबै हितैषी, मित्र बन्न सक्दैनन् । हृदयमा अलिकति म ठूलो वा म राम्रो भन्ने भाव त आउँछ नै । यही भावमा रुमलिएको व्यवहारलाई हामी दुश्मन भनेर हिँडिरहेका छौँ ।

कवि मनु मञ्जिलले दुश्मन कविता लेख्नु अगावै थुप्रै कविता लेखेका थिए । तर उनलाई दुश्मन कविताले नै किन उचाई दियो ? दुश्मन कवितापछि मात्र उनी नेपालीभाषीमाझ किन कवि भनेर चिनिन थाले ? के थियो दुश्मनमा र लगभग तीन करोड जनसङ्ख्या भएको देशमा उनकै दुश्मन कविता एक करोडभन्दा बढी हेरियो ? प्रस्तुत छ कवि मनु मञ्जिलको दुश्मन कविता –

दुश्मन

मेरो एउटा दुश्मन छ
जो मलाई फोहोर जत्तिकै घृणा गर्छ
तर म उसलाई
फूल जत्तिकै मन पराउँछु ।

ऊ मेरो अनुहारमा
घाम नउदाउनू भन्छ
मेरो बगैँचामा वसन्त नआउनू भन्छ
मेरो घरको झ्यालढोकाबाट
हावा नपस्नू भन्छ
मेरो आँगनमा फूलले नमग्मगाउनू भन्छ ।

मेरा बालबचेराले
उसले सुन्ने गरी नकराउनू भन्छ
उसलाई दुख्ने गरी नरमाउनू भन्छ
ऊ आफ्नो घरको बार्दलीमा बस्छ
र परबाट बाटो हिँड्ने जो कोहीलाई
मनमनै मेरो घर नपस्नू भन्छ
कोशेली वा उपहार बोकेका
कोही नपसून् भन्छ
मन्दिरबाट आशीर्वाद लिएर फर्केका
बुढाबुढीलाई
मेरो घर अगाडिको
चौतारामा नबसून् भन्छ ।

उसलाई मेरो घरमाथि
चरा बसेको मन पर्दैन
जून मेरो छानामाथि बसेको
मेरो खेतबारीमा भाग्य लहलह झुलेको
आँपका रूखमा आशाका फूलहरु फुलेको
कुलाको पानी मेरो गैह्रीखेतमा डुलेको
उसलाई केही मन पर्दैन ।

यो बर्षात
किन मेरो घरको छानो भत्काउँदैन ?
पल्लो गाउँको खोलो
किन मेरो घरको बाटो आउँदैन ?
आगो किन यसरी
अँगेनामा चुपचाप छ ?
किन झिल्को जूनकीरी जस्तो
माथी माथी उड्दैन ?
किन केही जलाउँदैन ?

ऊ मेरो सपनामा मरुभूमी पसोस् भन्छ
मेरो घरमा आँधी आएर बसोस् भन्छ
राति चोर आएर भकारीमा घुसोस्,
मेरो ओठबाट मुस्कान उडेर
बालुवामा गई खसोस् भन्छ
तर म उसलाई
फूल जत्तिकै मन पराउँछु ।

यत्रो दुनियाँमा ऊ बाहेक अरू
मेरो साथी सगोत्री , आफ्नो अर्को
ठूलो सानो , परिचित अपरिचित
एउटै कतै कोही छैन
जसले आफ्नै रहर र सपना भुलेर
फूल, जून र चराहरू भुलेर
घर, धरती र आकाश भुलेर
म बारे यति बिघ्न सोचोस्
मलाई यति बिघ्न सम्झोस्
दुश्मन नहुनु भनेको त
आफूतिर हरदम फर्किरहने
जीवनको एउटा रमाइलो
पाटै नहुनु रहेछ
म उसलाई फूल जत्तिकै मन पराउँछु ।

कवि मनु मञ्जिलले प्रस्तुत कविता विसं २०५६ सालमा लेखेका हुन् । कविता इटहरी आसपास नै बसेर लेखेपनि यस कविताको भ्रूण भने रौतहटमा बनेको थियो । कवि विसं २०५६ सालमा इटहरीबाट आफ्नौ जन्मथलो रौतहट पुगेका थिए । माओवादी द्वन्द्धको त्रासमा समय बाँचिरहेको थियो । ज्वाइँ आफ्नै ससुराली जाँदा होस् वा आफन्त अलि टाढाबाट पाहुना लाग्न आउँदा होस्, त्यहाँ कसैले शंकाको हेयले हेर्ने समय थियो । कवि त्यो समय घर जाँदा कतिपटक चेकिङमा परे यसै भन्न सक्दैनन् । जो पनि शंका घेरामा रहेको हुँदा कविको हृदयमा केही कुराहरू खेलेका थिए । मनु मञ्जिल त्यस समयमा रङ्गकर्मी थिए बने उत्कृष्ट नाटक बनाउँथे होला, चलचित्रकर्मी थिए भने उत्कृष्ट चलचित्र बनाउँथे होला । तर उनी त कवि थिए । देखेको र भोगेको दृश्यलाई उनले कवितामा उतारे र दुश्मन कविताको जन्म भयो ।

उनको यस दुश्मन कविता आफ्नो सङ्ग्रह ल्याम्पपोस्टबाट खसेको जूनमा पनि समावेश भएको छ ।

मैले रेडियोमा सुनेर कण्ठस्थ पारेको छु । मलाई यो कविता मन पर्छ । म यो किताब पूजाकोठामा लगेर राख्छु ल ?

उनी इटहरी फर्किए । कवि भन्छन् –“ जब मलाई कुनै कुराले हिट गर्छ तब म लामो वाकमा निस्कन्छु । त्यो वाक १०,११,१२ किलामिटरको पनि हुन सक्छ । ” उनी इटहरी फर्केपछि, एक बिहान हातमा डायरी बोकेर वाकमा निस्किए । उनको हृदयमा दुश्मनका हरफहरू उफ्रन थालेका थिए । उनीले ती हरफलाई च्याप्प समाउँदै डायरीमा टाँस्दै थिए । यसै क्रममा उनको भेट प्राध्यापक दिनेश पौडेलसँग भयो । कविलाई लाग्छ कि यदि दिनेश पौडेलसँग भेट नभएको भए । दुश्मन कविता अर्कै कुनै क्षेत्रबाट बगेर लेखिने थियो ।“ दुश्मन कविता यति चर्चित हुनुमा प्राध्यापक दिनेश पौडेलको पनि हात छ ।”– कवि हँसिलो मुहारमा भन्छन् ।

गाउँमा देखेको दुश्मनीलाई कविले कवितामा उतारे यदि उनी गाउँ नगएको भए र प्राध्यापाक दिनेश पौडेल नभेटिएका भए सायद दुश्मन कविता कतै अल्झने थियो ।

कविलाई यस कविताले एक नयाँ उचाइ दिएको भने पक्का हो । यस कुरामा कवि मनु मञ्जिल सगौरव स्वीकार्छन । दुश्मन कवितामा किस्सा पनि अनेक जोडिएका छन् त्यही किस्सा सम्झँदै उनी भन्छन् –

किस्सा नं १.
“ एकदिन म आफ्नै घरमा बसिरहेको थिएँ । पाँचथरबाट एक शिक्षक आउनु भयो । उहाँ आएपछि उहाँले भन्नुभयो कि – तपाईँको पाँचवटा सङ्ग्रह चाहिएको छ पाइन्छ ? त्यसबेला कविले भनेका थिए – पाइन्छ किन नपाइनु तर पसलमा पाइन्छ ।
शिक्षकले अनेक प्रयास गरेर खोजे पनि उक्त पुस्त नपाएपछि कविको घर गएका थिए ।
उनले फेरि सोधे – तपाईँसँग कतिवटा छ ?
कविले भनेँ – मसँग पाँचवटा छ ।
शिक्षकले भने – खै दिनुस् ! म फेटोकपी गरेर ल्याउँछु ।
शिक्षक एकैछिनमा आए । त्यसपछि कविलाई उनको किताब दिए । योबेला कविलाई अचम्म लागेको थियो ।
कविले भने – किन यति दुःख गर्नुभयो ?
शिक्षकले भने – मेरो गाउँमा मेरा पाँचजना दुश्मन छन् । म लगेर यो कविता दिन्छु । ”

किस्सा नं २
“ कविले साल बिर्सिए , झापाको धरमपुरमा राष्ट्रकवि माधवप्रसाद घिमिरे आउने कार्यक्रम थियो । इटहरीबाट कवि मनु मञ्जिल पनि आफ्नो कविता सुनाउन भनेर झापा पुगेका थिए । प्रमुख अथितिलाई पर्खनु पर्ने भएकाले उनीहरू बाहिर चौरमा बसिरहेका थिए । एक जना महिला उनीहरू बसको ठाउँमा आइन् र भनिन् –मनु मञ्जिल भनेको को हो ? साथीहरूले कविलाई देखाए । त्यो बेला कविको हातमा ल्याम्पपोस्टबाट खसेको जुन कविता सङ्ग्रह कविकै हातमा थियो । ती महिलाले कवि मनु मञ्जिलको हातबाट किताब खोसेर सोधिन् – दुश्मन कविता यहाँ छ ? कविले छ भने । महिलाले भनिन् – मैले रेडियोमा सुनेर कण्ठस्थ पारेको छु । मलाई यो कविता मन पर्छ । म यो किताब पूजाकोठामा लगेर राख्छु ल ?

किस्सा नं ३
“ विंस २०६२ तिर कवि मनु मञ्जिललाई सिक्किम सरकारले कार्यक्रमको लागि निम्तो दियो । उनी त्यहाँ पुगे । जब उनी हलमा प्रवेश गरे तब त्यहाँ आएका मान्छेले दुश्मन भनेर धेरैपल्ट भनेँ । त्योबेला न सञ्जाल न युटुब कविलाई कविता मन पराइएको देखेर अचम्म नै लाग्यो । ”

त्यतिमात्र होइन कवि मनु मञ्जिलको दुश्मन कविता स्वामी विवेकानन्दले आफ्नो कार्यक्रममा समेत प्रयोग गर्दछन् । स्वामी विवेकानन्दले आफ्नो कार्यक्रममा प्रयोग गर्दा कविले उनलाई निःशुल्क अनुमति दिएका थिए । धेरै युटुब च्यानलबाट करोडौ पटक हेरेका छन्, युटुबबाट आएको आम्दानी कविले अहिलेसम्म लिएका छैनन् ।

कवि मनु मञ्जिललाई जुनै क्रायर्कममा पनि दुश्मन सुन्ने भेर अफर आइरहन्छ । जब उनी दुश्मन भन्ने कविता सुनाउँछन तब उनलाई “ म कुनै नयाँ कविता सुनाउँदैछु ।” भन्ने उर्जा प्राप्त हुन्छ ।

कवि भीष्म उप्रतीलाई लाग्छ कि “ दुश्मन कविता एक पुस्तालाई नै प्रतिनिधित्व गर्ने कविता हो । आम मानिसको जीवनलाई कवितामा उतारेपछि दुश्मन कविताको उचाइ बढेको हो, उनलाई लाग्छ । हरेकको दुश्मन छ सायद मेरो पनि होला यो हाम्रो समाजको घट्ना हो त्यसैले म पनि कवि भएकाले मेरो दिमागमा यो प्लट किन आएन भन्ने कुरा सोच्दछु ।”
दुश्मन कविता लेखेका कविको चाँडै निबन्ध सङ्ग्रह बजारमा आउँदैछ । उनलाई शुभकामना ।

प्रकाशित मिति : असार २१, २०७९ मंगलबार  ११ : १५ बजे