वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयामा जन्मिएका राजेशमान सिंह अहिले वीरगञ्ज महानगरकै मेयर छन् । बुवा भुपेन्द्रमान सिंह र आमा रुकमिनी देवी श्रेष्ठको दुई छोरा र एक छोरीमध्ये उनी कान्छो सन्तान हुन् । उनको जन्म २०२७ सालमा भएको हो ।
शैक्षिक योग्यता
राजेशमानले त्रिजुद्ध महावीरप्रसाद रघुवीरराम माद्यामिक विद्यालयबाट २०४२ सालमा एसएलसी पास गरे । त्यसपछि वीरगञ्जकै ठाकुरराम बहुमुखी क्यामपसमा २०४३ सालमा मानविकी संकायमा भर्ना भए । क्यामपसको राजनीतिका वातावरणले सिंहलाई विद्यार्थी राजनीतिमा आकर्षित ग¥यो ।
उच्च शिक्षालाई सोही क्यामपसबाट निरन्तरता दिने उनको योजना २०४६ को आन्दोलनले बिथोलियो । उच्च शिक्षाको चाहना अधुरै रहेपनि उनले प्रविणता प्रमाणपत्र तह (आई.ए) उतीर्ण गरेका छन् ।
राजनीतिक यात्रा
ठाकुरराम बहुमुखी क्यामपसबाट विद्यर्थी राजनीति सुरु गरेका उनले राजनीतिमै साढे ३ दशक बिताएका छन् । प्रजातान्त्रिक शक्तिहरु तत्कालीन पञ्चायत शास व्यवस्थाविरुद्ध गोलबद्ध हुन खोजिरहेको बेला नेपाली कांग्रेसको शुभेच्छुक संगठन नेपाल विद्यार्थी संघबाट उनले राजनीति सुरु गरेका हुन् । नेपाल विद्यार्थी संघको सदस्यता लिएर विद्यार्थी राजनीतिमा प्रवेश गरेका सिंह चाँडै संघको पर्सा जिल्ला सदस्य भए ।
सिंह २०५४ सालमा स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वीरगञ्व ३ छपकैयाको वडा सदस्यमा निर्वाचित भए । उनी तत्कालीन नगरपालिकाको प्रवक्तासमेत नियुक्त भए । उनी वीरगञ्जको तत्कालीन मेयर र प्रभावशाली नेता बिमलप्रसाद श्रीवास्तवको बिश्वासपात्र भएर लामो समय राजनीतिक रुपमा सँगै रहे ।
ज्ञानेन्द्र साह नियन्त्रित तत्कालीन शासन कालमा २०६० सालमा भएको निर्वाचनमा उनी साविक वीरगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा निर्वाचित भएका थिए । ‘मधेसी समाजको उत्थानको मुख्य बाटो राज्यको सबै अंगमा मधेसीको मुल प्रवाहीकरण हो’ भन्ने विचारले उनलाई मधेशवादी नेता बनायो ।
पछिल्लो एक दशकदेखि मधेश र मधेशी समुदायको हक अधिकारका लागि उनले आवाज उठाउँदै आएको पाइन्छ । पछिल्लो मधेश आन्दोलनका बेला वीरगञ्जमा सिंहले नेतृत्वदायी भूमिका खेले । उनी त्यसैताका नेपाली कांग्रेस परित्याग गरेर तत्कालीन राष्ट्रिय मधेश समाजवादी पार्टीको केन्द्रीय महासचिव भए । उक्त पार्टी बाट सिंहले २०७० सालको संविधान सभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ बाट उम्मेदवार बने । तर निर्वाचन हारे । पछि एकीकरणबाट बनेको राष्ट्रिय जनता पाटी (राजपा)को पनि उनी महासचिव भए ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा उनी राजपाबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका प्रत्यासी भएर तेस्रो लोकप्रिय मत हासिल गरेका थिए । उक्त चुनावमा आफ्नो पुरानो राजनीतिक नेता बिमलप्रसाद श्रीवास्तवले दाबी गरेको टिकट आफू लिन सफल भएर चुनाव लडेका थिए ।
राजपासमेत तत्कालीन संघीय समाजवादी फोरमसंग मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) को एकीकरण नहुँदै पछिल्लो पटक उक्त पार्टी फुट्यो । उनी पार्टी विभाजनपछि बनेको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालतिर लागे । तर सो पार्टी थोरै समयको लागि सरकारमा गएपछि सत्तामोहमा मुद्दालाई बिर्सेको भनी सिंहले सार्वजनिक अभिव्यक्ति दिँदै त्यसको प्रतिवाद गरे । पार्टीले चाहेजस्तो राजनीतिक हैसियत पनि बनाउन नसकेपछि उनी सुरक्षित राजनीतिक भविष्यको खोजीमा केही समय कुनै पार्टीमा नरहेको भनी आफूुलाई स्वतन्त्र समेत घोषणा गरेर बसेका थिए ।
एमाले वीरगञ्ज महानगर प्रमुखका लागि बलियो उम्मेदवारको खोजीमा थियो । एमालेको रोजाइँ बन्ने भित्री खेलमा निवर्तमान मेयर विजयकुमार सरावगी अब्बल ठहरिएपछि राजेशमान सिंह जसपामा गए । जसपाले पाँच दलीय गठबन्धनबीको भागबण्डाबाट वीरगञ्ज महानगरपालिका पाएपछि उनको जितको बाटो तय भयो । उनी ४६ हजार २ सय १५ मत ल्याएर वीरगञ्जको मेयर बनेका हुन् ।
राजनीतिसँगै समाज सेवा
पछिल्लो समयमा साहिब दरवार सेवा संस्थान मार्फत सिंह समाजिक कार्य तथा परोपकारका गतिविधि गर्दै आएका छन् । गरिबलाई निशुल्क आँखा अप्रेशनजस्ता कार्य गरेको सो संस्थाले कोरोना कालमा हजारौंलाई निशुल्क भोजन पनि गराएको थियो ।
सिंहका योजनाहरु
सिंहले वीरगञ्ज महानगरवासीको दैनिक जीवनसँग जोडिएका समस्या सम्बोधन गर्ने बताएका छन् । सहरलाई व्यवस्थित बनाउने, सरसफाइ, फोहोरमैला व्यवस्थापन, लामखुट्टे नियन्त्रण, शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गरेर देखाउने प्रतिबद्धता उनको छ । व्यवसायीलाई कर छुट दिने, सर्वसाधारणलाई बिजुली र पानी निशुल्क गर्ने ‘दिल्ली मोडल’मा काम गर्ने उनको योजना छ । सिंहले समृद्ध वीरगञ्ज आफ्नो लक्ष्य रहेको भन्दै वीरगञ्जवासीले सुलभ तरिकाले सबै सेवा सुविधा पाउनुपपर्नेमा आफू लागिरहेको बताएका छन् । महानगरमा व्यक्तिगत र संस्थागत भ्रष्टाचार निर्मुल पार्ने उनको प्रतिबद्धता छ ।




















प्रतिक्रिया