स्थानीय तहमा नयाँ जनप्रतिनिधिहरुले कामर्यभार सम्हालेको करिब डेढ महिना भएको छ । असार १० गतेसम्ममा नीति तथा कार्यक्रम ल्याएर असार मसान्तसम्ममा बजेट पारित गर्ने संवैधानिक बाध्यता अनुसार कतिपय पालिकाहरुले नीति तथा कार्यक्रम ल्याएर बजेट पनि कार्यपालिका बैठकबाट पारित गरिसकेका छन् । केही पालिकाहरुले भने आन्तरिक उल्झनमा फसेर नीति तथा कार्यक्रम नै ल्याउन सकेका छैनन् । मध्य बर्खा भएकोले केही पालिकाहरुले विकासका कामहरु अगाडि बढाउन सकिरहेका छैनन् । पालिकाहरुलाई बाढी, पहिरो र डुवानको समस्याले च्यापेको छ ।
यस्तो अवस्थामा सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढी के गरिरहेको छ ? दलहरुलाई पाखा लगाउँदै स्वतन्त्र उम्मेदवारले उपमहानगरमा बाजी मारेपछि चुलिएको धनगढीको चर्चा सधैं सकारात्मक तवरबाट चुलिरहला ? प्रस्तुत छ, यी नै समग्र विषयवस्तुमा केन्द्रित रहेर मेयर गोपाल हमालसँग अनलाइनपानाका लागि रामनाथ कुँवरले गरेको कुराकानी :-
स्वतन्त्रबाट यहाँले मेयरमा निर्वाचन जित्नुभएको छ । अन्य सबै जनप्रतिनिधि राजनीतिक दलका र आफू स्वतन्त्र हुँदा काम गर्न कतिको सहज भएको छ ?
सामान्य विवादहरु जहाँ पनि हुन्छ । एउटै दलबाट जितेको ठाउँमा पनि त्यस्तो भएको छ । त्यसो हुनाले हामीले यस्तो असहजतालाई चिर्दै, मिल्दै र अनुभव बटुल्दै निरन्तर आफ्नो काममा लाग्ने हो । त्यसो हुनाले मैले निर्वाचन लड्दा स्वतन्त्रमा लडेर अहिले दलकाले सहयोग गरेन भनेर कराएर हिड्ने होइन । कामको प्रतिफल देखाउने हो । जस्तै असहज परिस्थिति सृजना भए पनि म आफ्नो जिम्मेवारीबाट पन्छिने वाला छैन ।
कार्यकालको सुरुवाती चरणमा हुनुहुन्छ । संघ र प्रदेश सरकारसँग कसरी समन्वय गरेर अगाडि बढ्ने योजना छ ?
अहिले सुरुवाती चरणमा नै राम्रोसँग समन्वय भइरहेको छ । म स्वतन्त्र व्यक्ति भएको हिसाबले दुबै सरकारसँग समन्वय गर्न आपत्ति छैन । हामी जनप्रतिनिधिहरु पनि दलको आधारमा विभाजन हुँदैनौं । म सबैसँग मिल्छु । तपाईँलाई थाहा होला, यहाँ एउटा कार्यक्रममा प्रधानमन्त्री आउँदा एयर्पोटमा स्वागत गर्न मुख्यमन्त्री जानुभएन । तर मलाई जान कुनै आपत्ति छैन । कुनै पनि नेतासँग धनगढीको विषयमा कुरा राख्न कुनै असजिलो छ्रैन ।
आफ्नो दलकोले जितेमात्रै केन्द्रको योजनाहरु आउँछन् भन्ने गलत बुझाइ हो । हाम्रोमा प्रशस्तै योजनाहरु आइरहेका छन् । त्यसो हुनाले निर्वाच जित्न कसैले त्यस्तो भने होला त्यो फरक कुरा हो । तर फरक पार्टीले जित्यो भन्दैमा राज्यको दायित्वबाट बिमुख हुन मिल्दैन । स्थानीय तहको जनसंख्या, भूगोल र आर्थिक स्रोतहरुको मापन गरेर नै योजनाहरु आउँछन् । केही प्रतिशत तलमाथि हुन अलग कुरा हो । फरक पार्टीले चुनाव जित्यो भन्दैमा नागरिकको संवैधानिक अधिकार कटौती गर्न कसैले पनि सक्दैन । र पाउँदैन ।
धनगढीमा आगामी आर्थिक वर्षको बजेट पनि पारित भइसकेको छ । बजेटमा कस्ता योजनाहरुलाई बढी प्रथामिकता दिनुभएको छ ?
यो वर्षको बजेटमा दायित्व र क्रमागत योजनाको भार धेरै भयो । त्यसो हुनाले हामीले खासै नायँ योजनाहरु लान सकेनौं । केन्द्र र प्रदेशबाट आएको विशेष अनुदानमा पनि हामीले आधा बजेट हाल्नु पर्छ । त्यसो हुनाले यो वर्ष हामीले आफूले चाहेका योजनाहरु खासै हाल्न पाएनौं । त्यसो हसुनाले पुरानो क्रमागत योजनालाई बजेट छुट्टाएर यो वर्ष भित्र काम सक्ने र त्यसपछि यहाँको आवश्यक्ता अनुसार योजना बनाउने हाम्रो लक्ष्य छ । छाडा छोडिएका चौपायको व्यवस्थापन र खोलानालाको अतिक्रमण नियन्त्रणमा भने हामीले यही वर्षबाट बजेट छुटाएका छौं । अरु भौतिक पुर्वाधार निर्माण, साडक र खानेपानी जस्ता योजनाहरु धेरै क्रमागत योजनामा छन् ।
भ्रष्टाचार न्यूनीकरण तथा नियन्त्रणका लागि कस्ता निति अबलम्बन गर्दै हुनुहुन्छ ?
हामीले उजुरीका लागि ह्वाटस्याप नम्बर दिएका छौं । त्यहाँ उजुरी पर्ने छ । त्यसरी उजुरी परेपछि हामी कारबाही अगाडि बढाउँछौं । अख्तियारमा जाने केस छ भने अख्तियारमा जान्छ । यसरी हामीले भ्रष्टचार हुन नदिनका लागि यो तरिका अपनाएका छौं । त्यसो हुनाले मैले सुरुमा नै सबैलाई काममा ढिलासुस्ति गर्ने भ्रष्टचार गर्ने कसैलाई पनि नछोड्ने भनेको छु । जनप्रतिनिधि र कर्मचारी सबैलाई त्यो कुरा भनेको अवस्था हो ।
जनप्रतिनिधि भएर धनगढीमा काम गर्दैगर्दा जनसहभागीता कसरी गराउनुहुन्छ ?
हामीले बजेट ल्याउँदा टोल—टोलमा छलफल गरेर फेरि वडामा छलफल गरेर ल्याउनु पर्ने थियो । तर यसपटक निर्वाचन ढिलो भएकोले त्यसरी छलफल गर्न सकिएन । त्यसो हुनाले हामीले यो वर्ष वडाले गर्ने र नगरले गर्ने गरी योजनाहरु ल्याएका छौं । हामीले पञ्चवर्षीय योजनाको लागि तयारी गर्दै छौं । आगामी साउनमा टेन्डर खोल्ने छौं । त्यसपछि हामी धनगढीलाई आवश्यक प्रथामिकताका कामहरु अगाडि बढ्ने छन् । त्यसमा हाम्रो स्रोतसाधनले भ्याउने जति गर्ने छौं । हाम्रो स्रोतसाधनले नभ्याएको जति केन्द्र सरकार, प्रदेश सरकार र अन्य संघ संस्थाहरुसँग सहकार्य गरेर गर्ने छौं । त्यसो हुनाले हामी यी सबै कामहरु जनताको सहभागीतामा नै गर्ने छौं । पालिकामा जनताको सहभागिताविना काम गर्न सम्भव छैन ।
सामाजिक विकासका योजनाहरु कस्ता छन् ?
हामीले उपमहानगरको सबैखाले विकास गर्ने हो । सामाजिक विकासका योजनाहरुका लागि विषयगत समितिहरु हुन्छन् । विषयगत समिति र विषयगत शाखाहरुले सबैखाले योजनाहरु ल्याएका छन् । वडाहरुले पनि सामाजिक विकासका योजनाहरु ल्याएका छन् । त्यसो हुनाले पुर्वाधार र सामाजीक विकास दुबै क्षेत्रमा बजेट विनियोजन गर्न संविधानले नै व्यवस्था गरेको छ ।
यो मध्येबर्खाको समय हो । धनगढी उपमहानगरपालिकामा बाढी, पहिरो र डुबानका समस्या कस्ता छन् ? पालिकाले समाधान र
पूर्व तयारीका कामहरु कसरी गरिरहेको छ ?
धनगढी उपमहानगरपालिकामा डुबान हुने समस्या पुरानै हो । उपमहानगरपालिकाको उत्तरतर्फबाट दक्षिणतर्फ बग्ने खोला, खहरेहरु अतिक्रमणको चपेटामा परेको छ । यो समस्या ८/१० वर्ष अगाडिदेखि नै यहाँ हिउँदमा सुख्खा हुने बर्खामा डुब्ने क्रम चलिरहेको छ । यहाँ बाढी आएर डबान हुने भन्दा पनि मानिसहरुले पानी जाने ठाउँमा थुनेर भएको समस्या हो । विगतमा पनि यो समस्याको जड थाहा नभएको भने होइन । तर समाधानतर्फ गएको थिएन । जस्तो यो भन्दा अगाडिको धनगढीका जनप्रतिनिहरुले पनि कार्यपालिकाको पहिलो निर्णय यहाँका खोलाहरुमा भइरहेको अतिक्रमण हटाउने भन्ने गरेका थिए । तर त्यो निर्णयको कार्यन्वयन भएन । त्यसलाई हामीले आउने बितिकै कार्यन्वयनमा लगेका छौं ।
हामीले अबको पाँच वर्षमा धनगढीमा अतिक्रमणमा परेका खोला, सार्वजनिक जग्गाहरुलाई निकाल्ने योजना छ । किनभने यहाँ पार्कीङ स्थल छैन, सार्वजनिक शौचालय बनाउने ठाउँ छैन । बालबालिका खेल्ने खेल मैदान छैन, जेष्ट नागरिकलाई घाम ताप्ने सितल ताप्ने खुला चौर छैन । यस्तो समस्या छन् । यसलाई हामी पञ्चवर्षे योजना बनाएर काम गर्ने छौं ।
अहिले हामीले सबै वडाहरुलाई डुबान हुन नदिनको लागि पानीका निकासहरु खोल्ने र भइपरिआएका समस्याहरु समाधान गर्न १ लाख ३३ हजारको दरले १९ वटा वडालाई नै पैसा छुट्याएर पठाएका छौं । दीर्घकालीन रुपमा धनगढीको डुबानको समस्या समाधान गर्न हामी यहाँको खोलानालामा भइरहेका अतिक्रमण हटाउन लागेका छौं । केही ठाउँमा कटानको समस्या छ । हामीले त्यस्ता ठाउँमा तटबन्धन गर्ने, विस्थापित गर्ने कामहरु भइरहेका छन् । केन्द्र र प्रदेश सरकारसँग पनि हामीले समस्याको समाधान गर्न भनिरहेका छौं ।




















प्रतिक्रिया