Logo

कर्णाली प्रदेश

यातायात व्यवस्था कार्यालयमा प्रदेश मन्त्रीको छड्के जाँच



सुर्खेत । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाले यातायात व्यवस्था कार्यालय सुर्खेतमा छड्के जाँच गरेका छन् ।

उनले आज बिहान १०ः३० बजे कार्यालय समयमा छड्के जाँच गरेका हुन् । त्यतिबेला भने सेवाग्राहीको बाक्लै उपस्थिति थियो । जाँचका क्रममा दुई कर्मचारी आफू खुसी बिदामा बसेको, केही फाँटमा कर्मचारी नभएको र कर्मचारीले सरकारी पोशाक तथा परिचय पत्र नलगाएर आएको पाइएको मन्त्री रोकायाले जानकारी दिए ।

यातायातमा पुग्नुभएका मन्त्रीले लाइनमा बसेका सेवाग्राहीसँग परिचय नदिइकनै सेवाको गुणस्तर र भोग्नु परेका समस्याबारे जानकारी लिए । सेवाग्राहीलाई सहज ढङ्गले सेवा प्रदान गर्न कानुनी रुपमा भएका झन्झट, उपलब्ध साधन स्रोतको पहुँच र सेवाग्राहीको चापको विषयमा बुझेपश्चात् उनी कार्यालय प्रमुखको कार्यकक्षमा प्रवेश गरे ।

मन्त्री रोकायाले सेवाग्रहीको समस्याबारे जनाउँदै जनभावना बुझेर सेवा दिन कार्यालय प्रमुखसहित कर्मचारीलाई निर्देशन दिए । सेवा प्रवाहमा कानुनी जटिलता भए प्रदेश सरकार त्यसलाई संशोधन गर्न पनि तयार रहेको जनाउँदै उनले सेवाग्राहीलाई सहज हुने गरी समयमै काम गर्न कर्मचारीलाई निर्देशन दिएका थिए ।

यातायात व्यवस्था कार्यालयका प्रमुख आनन्द चपाईले सेवाग्रहीको चाप अत्यधिक हुने गरेको तर आफूहरुले सकेसम्म छिटोछरितो ढङ्गको सेवा दिने प्रयास गरेको बताए । कार्यालयभित्र दलालहरुलाई प्रवेशमा रोक लगाइएको प्रमुख चपाईले मन्त्री रोकायालाई जानकारी गराएका थिए । मन्त्री रोकायाले टिकाटिप्पणीको अन्त्य हुने गरी काम गर्न कर्मचारीलाई सुझाएका थिए ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार १५:५६   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।