बुवा शुक्रवीर लामा र आमा सीतादेवी लामाका जेठी छोरी हुन् हेटौंडाकी मेयर मीनाकुमारी लामा । उनी २०३३ साल पुष २७ गते हेटौंडा ११ नवलपुरमा जन्मेकी लामा साधारण परिवारमा हुर्केकी हुन् ।
मीनाले समाजशास्त्रमा स्नातकोत्तर र कानुनमा पनि उनले एलएलबी सम्मको पढाइ सकेकी छन् । मीनाले नवलपुरकै त्रिभुवन माविबाट एसएलसीसम्मको पढाइ पूरा गरेकी हुन् भने मकवानपुर बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गरिन् । त्यसपछि उनले हरि खेतान बहुमुखी क्याम्पस, वीरगञ्जबाट एलएलबी उत्तीर्ण गरेकी हुन् ।
वैवाहिक जीवन
२०५४ सालमामा हेटौंडा १ का सुनकुमार लामासँग विवाह गरेर लामाले दाम्पत्य जीवनको सुरुवात गरेकी हुन् । अहिले उनको एक छोरा र एक छोरी छन् । श्रीमान् तथा घरपरिवारको साथ सहयोगबाटै मीनाले अध्ययन, राजनीति र पारिवारिक जीवनलाई सफलतापूर्वक चलाउँदै आएकी छन् ।
राजनीतिक यात्रा
२०४६ सालबाट विद्यार्थी जीवनमै राजनीतिमा लागेकी मीना २०५२ सालमा अनेरास्ववियूको मकवानपुर जिल्ला कोषाध्यक्ष बनेर राजनीति यात्रालाई सशक्त रुपमा अगाडि बढाएकी हुन् । उनी २०७१ सालमा नेकपा (एमाले) मकवानपुरको उप–सचिव, अखिल नेपाल महिला संघ, मकवानपुरको सचिव र विद्यार्थी इन्चार्ज बनिन् ।
२०७२ सालमा पार्टीको आदिवासी जनजाति महासंघको केन्द्रीय सदस्य र मकवानपुर जिल्ला समन्वय समिति उपाध्यक्षको जिम्मेवारी पाइन् । २०७४ को स्थानीय तह चुनावमा एमालेबाट उनी भारी मतसहित हेटौंडा उपमहानगरपालिकाको उपप्रमुखमा निर्वाचित भएकी थिइन् ।
उनी एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी) तर्फ लागिन् । हेटौंडा उपमहानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीको भागमा परेपछि मीनालाई उम्मेदवार बनाइएको हो । उनलाई पाँचदलीय गठबन्धनको समर्थन थियो । एकीकृत समाजवादीको मकवानपुर उपाध्यक्ष रहेकी उनलाई उपमेयर हुँदाको अनुभवले मकवानपुरे जनताको भावना बुझ्न टेवा पुर्यायो, फलस्वरुप उनी यसपटकको स्थानीय तह चुनावमा मेयरमा बाजी मार्न सफल भइन् ।
मीना २३ हजार ७५ मत ल्याएर विजयी हुँदा उनकी प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार अनन्तप्रसाद पौडेलले २० हजार ९०८ र राप्रपाका दीपक बहादुर सिंहले २० हजार ५३१ मत प्राप्त गर्दै हार व्यहोरे ।
राजनीतिसँगै समाजसेवामा पनि सक्रिय
राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि त्यतिकै सक्रिय छिन् मीना लामा । बालविकासको क्षेत्रमा दश वर्षसम्म काम गरेको अनुभव बटुलेकी उनी सन् २०१८ देखि लायन्स क्लब अफ पाथिभराको सदस्य भइन् । लामाले हालसम्म चीन, भारत र कोरिया लगायतका देशको भ्रमण गरिसकेकी छन् ।
यस्ता छन् हेटौंडालाई समृद्ध बनाउने मीनाका योजनाहरु
हेटौंडा उपमहानगरकी मेयर मीना लामाले आफ्नो पाँच वर्षे कार्यकालमा हेटौंडालाई सुविधायुक्त सुन्दर शहरका रुपमा चिनाउने योजना बनाएकी छन् । अबको पाँच वर्षमा महिला सशक्तीकरण, सीप विकास, आर्थिक रूपमा आत्मनिर्भर र सशक्त बनाउने योजना रहेको उनी बताउँछिन् । यसका लागि उपमहानगरमा महिला प्रतिष्ठान बनाएर अघि बढ्ने योजना उनले सुनाइन् ।
महिला र बालिकामाथि हुने हिंसामा शून्यसहनशीलता अपनाउने भन्दै हिंसाका घटनामा कानुन अनुसार कारबाही गर्न पहल गर्ने, सामाजिक रूपमा पीडितलाई सहज वातावरण बनाउन काम गर्ने मेयर मीना बताउँछिन् । आवश्यक ऐन–कानुन निर्माण गरेर सामाजिक चेतना अभिवृद्धि गर्ने उनको लक्ष्य छ ।
अबको पाँच वर्षमा हेटौंडालाई राम्रो शहरका रूपमा विकास गर्न आफूले योजना बनाएको उनले बताइन् । हेटौंडाको चौतर्फी विकास गर्न सबै पार्टीसँग हातेमालो गरेर अघि बढ्न आफू प्रतिबद्ध रहेको उनी बताउँछिन् । ‘हेटौंडा आफैंमा सुन्दर छ । यसलाई अझ हरियाली शहर बनाउनु छ । यो बागमती प्रदेशको राजधानी पनि भएकाले राम्रो र विकसित शहरमा परिणत गर्नु छ’, उनी भन्छिन् ।
विकास निर्माणका काम गरिरहँदा महिला, बालबालिका, लैङ्गिक अल्पसङ्ख्यक, ज्येष्ठ नागरिक, युवा, कृषक तथा उत्पादनशील क्षेत्रमा योजनाबद्ध ढङ्गले काम गर्ने उनले नगरवासी सामु प्रतिबद्धता जनाएकी छन् । उपमेयर हुँदा चाहेर पनि धेरै काम गर्न नसकेको भन्दै मीनाले अहिले जारी रहेको विकास निर्माणका ठूला योजना पूरा गर्न र अन्य धेरै विकास निर्माणको काम पनि शुरू गर्ने बताएकी छन् ।
हेटौंडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग समन्वय गरेर यो क्षेत्रलाई सुधार्ने पहिलो योजना रहेको उनको भनाइ छ । सरकारी अस्पताललाई सर्वसुलभ रूपमा सेवा प्रवाह गर्न आवश्यक पर्ने वातावरण तयार पार्न पहल गर्ने उनले बनाइन् । पाँचवर्षे कार्यकालमा प्रदेश र संघसँगको सहकार्यमा हेटौंडाभित्र महिला प्रसूति अस्पताल र ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्ने उनको योजना छ ।
युवालक्षित विशेष कार्यक्रम ल्याउँदै युवालाई स्वरोजगारका माध्यमबाट आत्मनिर्भर बनाउने प्रयास गर्ने मीना बताउँछिन् । ‘जुनसुकै पार्टीबाट निर्वाचित भएर आएको भए पनि हाम्रो एउटै लक्ष्य भनेको जनताको सेवा गर्ने, हेटौंडालाई परिवर्तन गर्ने र समृद्ध बनाउने हो । हेटौंडालाई साँच्चिकै राजधानी शहर बनाउनेछौं’, उनले भनिन् ।




















प्रतिक्रिया