Logo

सम्पादकीय

सम्पादकीयः प्लास्टिकले घेरेको देश, ‘के व्यवस्थापन हुनसक्ला ?’



प्लास्टिकको प्रयोग अहिले सहरिया संस्कृति भइसकेको छ । हाम्रो परिवर्तित खानपानको शैलीले पनि प्लास्टिक प्रयोग बढीरहेको छ । यही प्रयोगको प्रवृत्तिले प्लास्टिक र प्लास्टिकजन्य वस्तु सहरी जीवनको अभिन्न अङ्ग बनिएको हो । खनिज तेल र प्राकृतिक ग्यासको मिश्रणबाट उत्पादन हुने प्लास्टिक तयार गर्न कूल उत्खननको आठ प्रतिशतसम्म प्रयोग गरिने तथ्यांकले देखाएको छ । प्लास्टिक हाम्रो जीवनशैली बन्नुका पछि जस्तोसुकै आकार दिन सकिने, विद्युतको कुचालक हुने, तरल पदार्थ पनि राख्न मिल्ने, सस्तो, जहाँसुकै पाइने र हलुंगो हुने गुण कारण रहेका छन् । तर, प्रयोगको यही सबल पक्ष व्यवस्थापन गर्नुपर्दा दुर्बल र कठिन हुन्छ । नसड्ने, जलाउँदा हानिकारक वायु उत्सर्जन हुने र असाध्य रोगको कारण बनिने प्लास्टिक हाम्रा लागि व्यवस्थापनका हिसाबले समस्या बन्दैछ ।

सहजताका लागि प्रयोग गरिने र व्यवस्थापनका लागि जतासुकै फ्याक्ने प्रवृत्तिले वातावरण प्रदूषित हुँदै जाँदैछ । यसले जैविक विविधतामा समेत असर पार्छ र कुनै ठाउँको सौन्दर्यलाई कुरुप बनाउँछ । यसको हानीलाई अनुभूत गरेर हाम्रै कतिपय पालिकाले प्लास्टिकका झोला प्रतिस्थापन गर्ने नीति बनाए, कार्यान्वयनमा पनि ल्याए, तर पूर्णतः सफल भएनन् । शहरी क्षेत्र त्यसमा समस्या बनिएको छ । अहिले पनि दिनहुँ एक हजार एक सय चालीस मेट्रिक टन फोहर काठमाडौंले मात्रै उत्सर्जन गर्ने गरेको फोहोरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्रले जनाएको छ । त्यही फोहोर व्यवस्थापन गर्ने नाममा बर्षेनि करोडौं रुपैयाँ खर्च भइरहेको छ । तर, स्थायी समाधान अझैँ फेला परेको छैन ।

यसैबीच नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले प्लास्टिकजन्य फोहोरबाट दैनिक तीन लाख बयालीस हजार लिटर इन्धन उत्पादन हुने जनाएको छ । प्रतिष्ठानका वरिष्ठ वैज्ञानिक डा. रवीन्द्र ढकालले प्लास्टिकबाटै पेट्रोल, डिजेल लगायतका इन्धन उत्पादन हुने भन्दै अहिलेको घट्दो विदेशी सञ्चितिलाई पनि कम गर्न सकिने बताएका छन् । जल, जमिन र वायुमण्डल प्रदूषित बनाइरहेको प्लास्टिकजन्य फोहोरलाई इन्धन उत्पादन गर्ने प्रविधितर्फ सरकारको ध्यान गयो भने फोहोरजन्य समस्या तत्काल न्यूनीकरणको क्रममा पुग्छ । एकातिर फोहोरको व्यवस्थापन हुने अर्कातिर इन्धन उत्पादन भई संकटमा परेको अर्थतन्त्रलाई ठीक बाटोमा ल्याउन यसले मद्दत गर्छ । त्यसका लागि सरकारले ठाउँ–ठाउँमा प्रशोधन केन्द्रहरु खोलेर प्लास्टिकबाट इन्धन उत्पादन गर्ने उद्योग खोल्न प्रोत्साहन दिनु पर्दछ । त्यसो भयो भने जथाभावी फ्याल्ने, नदीनाला, समुद्र र खाली खोल्सामा थुप्रिने फोहोरको समेत व्यवस्थापन हुन गई राष्ट्रिय अर्थतन्त्रमा पनि सकारात्मक सुधार ल्याउन सकिन्छ ।

प्रकाशित मिति : असार २७, २०७९ सोमबार  ११ : ४५ बजे