Logo

जनप्रतिनिधि

राजनीतिमा हार्न नजानेका चिरिबाबु महर्जन : ज्यामीदेखि मेयरसम्म



संघीय राजधानी काठमाडौं उपत्यकाभित्रका दुई महानगरमध्येको एक हो ललितपुर महानगरपालिका । यही महानगरपालिका मेयर हुन् चिरिबाबु महर्जन । उनको जन्म २०१४ मंसिर १६ गते भएको हो । बुवा न्हुच्छेलाल महर्जन र आमा हरिमाया महर्जनको कोखबाट ललितपुरको पुल्चोकमा उनको जन्म भएको हो ।

चार वर्षको हुँदै उनले बुवा गुमाए । चिरिबाबुसहित ६ सन्तानलाई आमा हरिमायाले पुल्चोक र धोबीघाट आसपासमा अर्काको जग्गा कमाउँदै हुर्काइन् । ८७ वर्षको उमेरमा आमाले पनि सदाका लागि छाडेर गइन् । चिरिबाबुको पुल्चोकमा पुख्र्यौली घर छ । उनले २०३८ सालमा मन्दिरमा मिश्री महर्जनसँग सामान्य विवाह गरे । उनका १ छोरा र २ छोरी छन् । छोरा तर्फबाट एउटी नातिनी पनि छिन् ।

शिक्षा

चिरिबाबु महर्जनको परिवारमा आर्थिक अभावका कारण पढाइ–लेखाइलाई अघि बढाउनु सहज थिएन । चिरिबाबुले ज्यामी काम गरेर अध्ययनलाई अगाडि बढाए । अरूको खेतमा उब्जाएको बालीले खान त पुग्थ्यो, तर लेखपढ लगायत खर्चको ठूलो अभाव हुन्थ्यो ।

कक्षा ६ पछि चिरिबाबुलाई पढाइ जारी राख्न बडो मुस्किल पर्न थाल्यो । उनले मासिक शुल्क २ रुपैयाँ ३९ पैसा तिर्न कै लागि ज्यामी काम गर्थे । कक्षा छ मा पढ्दै गर्दाको कलिलो उमेरमै घर बनाउने काममा खटिन थालेका चिरिबाबु एक दिन ज्ञानोदय बालबाटिकाकी संस्थापक इन्दिरा याक्थुम्बाको नजरमा परे । त्यसपछि उनको जिन्दगीले नयाँ मोड लियो । चिरिबाबुको निर्दोष बालापनले याक्थुम्बालाई यसरी तान्यो कि उनले परिवारबारे बुझेर कक्षा १० सम्म पढाउने निर्णय सुनाइन् ।

त्यसरी विद्यालयको कक्षा–कोठमा फर्कन पाएका चिरिबाबु त्रिपद्म माविमा १० कक्षासम्म सधैं प्रथम भए । २०३१ सालमा राम्रो अंकका साथ एसएलसी उत्तीर्ण गरेपछि राष्ट्रिय शिक्षा समितिमा खरिदारको जागिर खाँदै उच्च शिक्षा आर्जनमा लागे । उनले पब्लिक युथ क्याम्पसबाट आइकम, पाटन क्याम्पसबाट बिकम र त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट २०४२ सालमा एमकम सम्मको पढाइ पुरा गरे ।

राजनीतिक यात्रा

चिरिबाबु महर्जनको सामाजिक तथा राजनीतिक सक्रियता कक्षा १० को विद्यार्थी रहँदा नै सुरु भइसकेको थियो । उनी लामो समयसम्म कुनै दलमा आवद्ध नभई सामाजिक–राजनीतिक काममा लागे । २०३६ सालमा सुधारिएको पञ्चायती व्यवस्थाको पक्षमा जनमत आएपछि उनी २०३८ सालको नगर पञ्चायतको चुनावमा वडा नं ३ बाट वडा अध्यक्षमा चयन भए । २०४३ मा नगर पञ्चायत चुनावमा उनी वडा अध्यक्षको उम्मेदवार बने र पुनः विजयी भए । २०४६ सालको आन्दोलनमा वडा अध्यक्ष पदबाट राजीनामा गरेर आन्दोलनमै होमिए ।

जनआन्दोलनपछि उनी किसान नेताबाट कांग्रेस नेता बन्न पुगे । उनलाई पार्टी राजनीतितर्फ आकर्षित गर्ने व्यक्ति नर्सिङ व्यञ्जनकार थिए । २०४७ सालमा ओमकार श्रेष्ठले उनलाई कांग्रेसको केन्द्रीय सदस्यता दिएपछि उनी विधिवत कांग्रेस भएका हुन् । २०४९ सालको चुनावमा उनले कांग्रेसका तर्फबाट ३ नम्बर वडाको अध्यक्षमा जित हात पारे । महर्जन २०५९ सालमा स्थापित ज्यापु समाजका संस्थापक अध्यक्ष भए । त्यो पहलकदमीले पनि उनलाई २०७४ को स्थानीय निर्वाचनमा ललितपुरको मेयरमा विजयी बन्न महत्त्वपूर्ण सघाउ पु¥यायो ।

भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा पनि चिरिबाबुले ४२ हजार ७२२ मत प्राप्त गरेर दोस्रो पटक ललितपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई पराजित गरेका हुन् । पहिलो कार्यकालमा नगरवासीको चाहाना अनुसार काम गरेकोले आफूलाई राम्रो मत दिएर जिताएको उनी बताउँछन् । चिरिबाबुले राजनीतिक यात्रामा कुनै पनि चुनाव हारेका छैनन् । कक्षा १ देखि १० सम्म प्रथम मात्र भएका उनलाई जित्ने र प्रथम हुने सौभाग्य सधैँ जुरेको छ ।

महानगर समृद्ध बनाउने चिरिबाबुका योजना

थापाथलीदेखि पुल्चोकसम्म फ्लाइओभर निर्माण गर्ने मेयर चिरिबाबुको निर्णयसँगै ललितपुर महानगरपालिका चर्चामा छ । जाइकासँगको प्रारम्भिक कुराकानीपछि महानगर आफै सम्भाव्यता अध्ययनमा जुटेको उनले बताए । ट्राफिक जामको समस्या समाधान गर्न सांस्कृतिक पहिचान बोकेको मच्छिन्द्रनाथको जात्राको रुट बाहेक अन्य स्थानमा फ्लाइओभर बनाउने उनको योजनामा छ ।

उनले महानगरवासीलाई स्वच्छ खानेपानीको प्रबन्ध गर्ने बताएका छन् । मेलम्चीको पानी दशैँसम्ममा काठमाडौंमा आउने भएकाले चक्रपथभित्रका वासीन्दालाई उक्त पानीको पबन्ध गर्ने योजना रहेको उनी सुनाउँछन् । चक्रपथ बाहिरका नागरिकलाई डिप ट्युबवेलको व्यवस्थापन गरी पानीको समस्या हल गर्ने उनको योजना छ ।

त्यसैगरी चिरिबाबुका योजनामा बागमती नदी वरपर वृक्षरोपण गर्ने, सांस्कृतिक कार्यक्रम तथा पर्व मेलाका लागि बजेट व्यवस्थापन गर्ने रहेको छ । मेलम्चीको पानी आएपछि कुपन्डोलदेखि हरिसिद्धि, ग्वार्को, बुङमती ज्वागल शान्तभवन पुल्चोकसम्म फोहरा लगाएर हप्तामा दुई पटक सडक सफा गर्ने उनको योजना छ । भूकम्प पीडितलाई सरकारले दिएको राहत न्यून भएकाले पीडितलाई नगद सहायता थप गर्ने पनि आफ्नो योजना रहेको उनले बताए ।

महङ्गो शिक्षालाई नियन्त्रण गर्न प्रिस्कूललाई परीक्षणका रुपमा महानगरले निःशुल्क सञ्चालन गर्ने योजना चिरिबाबुको छ । स्थानीय तहले १२ कक्षासम्म विद्यालय सञ्चालन गर्न पाउने अधिकार भएकाले त्यसको सम्भाव्यता अध्ययन गरी कार्यान्वयनमा लैजाने महानगरवासीसँग उनले प्रतिबद्धता जाहेर गरेका छन् ।

अव्यवस्थित टेलिफोन, इन्टरनेट र बिजुलीका तार हटाइ अन्डरग्राउन्ड गर्ने, पर्यटकीय क्षेत्रमा शौचालय निर्माण पनि उनका योजनामा छन् । महर्जनले सबैलाई योजनामा सहयोग गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : असार २९, २०७९ बुधबार  ३ : २५ बजे