Logo

अनलाइनपाना खोज

खोटाङमा ढलान गुणस्तरहीन भएको भन्दै भुक्तानी राेकियाे  



खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा चिउरीडाँडास्थित मध्यपहाडी लोकमार्ग–वडा कार्यालय सडकको पीसीसी ढलानको काम गुणस्तहीन भएको भन्दै भुक्तानी रोकिएको छ । नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को पूर्वाधार विकास कार्यक्रम शीर्षकको ७८ लाख (कन्टेन्जेन्सी कट्टा गरी)मा सुरु गरिएको पीसीसी ढलानको काम गुणस्तरहीन भएको दाबीसहित भुक्तानी रोकिएको हो ।

मध्यपहाडीबाट वडा कार्यालय हुँदै स्वास्थ्यचौकी पुग्ने ५५० मिटर सडकको पीसीसी ढलानका क्रममा स्टिमेटअनुसार काम नभएकाले भुक्तानी रोकिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राईले बताए । काम सम्पन्न गरेको र बाँकी भुक्तानीसहित फरफराकका लागि उपभोक्ता समिति २४ असारमा नगरपालिका पुगेको थियो । 

उपभोक्ता समितिले १८ असोज २०७८ देखि २० चैत २०७८ सम्ममा काम सक्नेगरी नगरपालिकाबाट करिब १९ लाख पेश्की लिएर सडकको पीसीसी ढलान सुरु गरेको थियो । तर, पीसीसी ढलानका क्रममा स्टिमेट अनुसार सव–वेस नलगाएको, ढलानमा रडको प्रयोग नगरिएको, ड्रेन र पर्खाल नबनाई गुणस्तरहीन काम गरेको नगरपालिकाको दाबी छ । पीसीसी ढलानका क्रममा उपभोक्ता समितिले ८ लाख ८२ हजार २७५ रुपैयाँ बेहोर्नुपर्ने सम्झौता छ । ‘गुणस्तरहिन काम भएकाले भुक्तानी रोकिएको हो,’ उपमेयर राईले भने, ‘भुक्तानीका लागि उपभोक्ता समिति आएको छैन । वडाध्यक्ष रिक्वेष्ट गर्न आउनु भएको थियो ।” 

त्यसो त वडाध्यक्ष लिलाकुमार चौहानमाथि भेला नगरी आफुखुसी सडक ढलान उपभोक्ता समिति गठन गरेको, बदनियतपूर्वक कीर्ते कागजात खडा गरी अनूकुल उपभोक्ता समिति गठन गरेको, उपभोक्ता समितिका सदस्य नै समितिको अध्यक्ष एवं पदाधिकारीकाबारेमा बेखबर रहेको, योजनाको लागत रकम, स्टिमेट र कामको प्रकृतिबारे थाहा नपाएको, कतिपयलाई झुक्याएर समितिमा राखेको आरोप छ । 

हिलो माटोमाथि ढलान गरिरहेको गुनासो आएपछि २३ असारमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थराज भट्टराईले बिहान र दिउँसो उपमेयर राई, प्रदेश १ योजना आयोगको उपाध्यक्ष डा. पुर्णकुमार लोप्सन लगायतको टोलीले अनुगमन गरेका थिए । एउटै योजनालाई एकै दिन दुई पटक छड्ने अनुगमन गरिएको सम्भवतः जिल्लामै पहिलो हो । २५ असारमा प्रशासनले प्राविधिकको टोली पठाएको थियो ।

गत १९ पुसमा अनुगमनमा पुगेको नगरपालिकाका प्राविधिकले गुणस्तरहीन काम भएको भन्दै काम रोक्का गरेको, निर्माणकै चरणमा सडकको कतिपय भागमा ढलान पड्किएको र सव–वेस नलगाइएकाले मुनिबाट ओढार परेको गठबन्धन दलसम्वद्ध स्थानीय नेताको दाबी छ । वडाध्यक्ष चौहानले भने स्टिमेटअनुसार सडक ढलान काम भएको तर राजनैतिक पूर्वाग्रह राखेर भुक्तानी रोकेको बताउँछन् । 

आयोजनाको भुक्तानी रोकिएपछि उपभोक्ता समिति समस्यमा परेको छ । उधारोमा निर्माण सामग्री जुटाएर सडक ढलानको काम गरिएको उपभोक्ता समितिले जनाएकोे छ । ‘स्टिमेट अनुसार काम भएको छ । ल्याब रिपोर्ट पास छ,’ चौहानले भने, ‘उपभोक्ता समितिलाई ऋणमा डुबाउने काम भएको छ ।’

प्रकाशित मिति : असार ३०, २०७९ बिहीबार  ३ : १८ बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।