Logo

अन्तर्वार्ता

पालुङटार नगरपालिकाको कुनै पनि क्षेत्रमा भ्रष्टाचार हुन दिन्न : विवस चिन्तन [अन्तर्वार्ता]



नयाँ संविधान जारी भएपछि गत ३० वैशाखमा सम्पन्न दोस्रो ऐतिहासिक स्थानीय तहको निर्वाचनपछि देशभरका पालिकामा नयाँ नेतृत्व पुगेका छन् । गोरखाको पालुङटार नगरपालिकाले नयाँ नेतृत्व पाइसकेको छ । पालुङटारमा नेकपा माओवादी केन्द्रका विवश चिन्तन निर्वाचित भएका छन् ।

स्थानीय तह निर्वाचनमा पाङटारमा त्रिपक्षीय भिडन्त थियो । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको गृहनगर भएकै कारणले पनि त्यहाँको निर्वाचन निकै रोचक बनेको थियो । पालुङटारमा सत्ता गठबधनबीच गठबन्धन हुन सकेको थिएन । जनता समाजवादी पार्टी र एमालेको भने गठबन्धन थियो ।

माओवादी केन्द्रका विवश चिन्तनले जसपाका उम्मेदवार प्रेमबहादुर गुरुङ र निवर्तमान मेयरसमेत रहेका नेपाली काँग्रेसका दीपकबाबु कँडेललाई पराजित गर्दै प्रमुखमा बाजी मार्न सफल भएका हुन् । उनै चिन्तनलाई पालुङटार समृद्ध बनाउने योजना कस्ता छन् (?) भनेर अनलाइनपानाकर्मी रामनाथ कुँवरले सोधेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

पालुङटार नगरपालिको प्रमुखमा पाँच वर्षे कार्यकालका लागि निर्वाचित हुनुभएको छ । यो सुरुवाती चरणमा नगरभित्र कस्ता योजना अघि बढाउनुभएको छ ?
हामीले सुरुमा पालुङटार नगरपालिकालाई कुन—कुन कुरामा आत्मनिरभर बनाउन सकिन्छ भनेर योजना बनाएका छौं । यसमा हामीले विशेष गरी कृषिका योजनाहरुलाई हामीले गौरवका योजनामा समावेश गरेका छौं । त्यो अन्तर्गत हामीले दूध र मासुमा पालुङटारलाई आत्मनिरभर बनाउने हाम्रो योजना छ । त्यसैगरी कृषिकै अन्य कार्यक्रमहरु मार्फत बेरोजगारी समस्यालाई निरन्तर घटाउँदै लैजाने हाम्रो योजना छ । त्यसैगरी उत्पादनलाई बढाउने सन्दर्भमा धान, मकै, लिचि, आलु र तरकारीका पकेट क्षेत्र घोषणा गरेर विकास गर्ने हाम्रो योजना छ । बेमौसममा पनि स्थानीय उत्पादन नै उपभोग गर्नका लागि हामीले कोल्ड स्टोर बनाउने योजना बनाएका छौं । यो आर्थिक वर्षमा हामी कोल्ड स्टोरको निर्माण गरिसक्छौं ।

सामुदायिक विद्यालयहरुको राम्रो व्यवस्थापन गरेर गुणस्तरीय शिक्षा प्रदान गर्ने हाम्रो योजना छ । त्यसैगरी स्वास्थ्यको क्षेत्रका योजनाको कुरा गर्दा हामीले सुत्केरीलाई पाँच हजार भत्ता दिने व्यवस्था गरेका छौं । पालुङटार नगरपालिकामा आँपपिपल अस्पतालमा मात्रै ल्याब सेवा छ । हामीले छिट्टै अन्य दुई ठाउँबाट ल्याब सञ्चालन गरेर सेवा दिने योजना बनाएका छौं । यो कार्यकालको अन्त्यसम्म हामी सबै वडामा ल्याब सञ्चालन गर्ने हाम्रो योजना छ ।

त्यसैगरी जेष्ठ नागरिक र अपाङ्गता भएकालाई घरमै गएर सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने हाम्रो योजना लागू भइसकेको छ । सबैलाई स्वास्थ्य चौकीमा गएर बच्चा जन्माउन लगाउने र बच्चा जन्मने बितिकै २ हजाको खाता खोली दिने व्यवस्था पनि सुरु भएको छ । गरिब तथा जेहेन्दार विद्यार्थीसँग मेयर भन्ने कार्यक्रम हामीले लागू गरेका छौं । त्यसमा हामीले विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गरेका छौं ।

नगरपालिकामा बाढी पहिरोको जोखिम कतिको छ ? यस्ता प्राकृतिक प्रकोपबाट नागरिकको जीवन रक्षाका लागि कस्ता योजना बनाउनुभएको छ ?
हाम्रो पालिकामा अहिले बाढीले ठूलो जनधनको क्षति गरेको छ । धेरै भौतिक संरचनाहरु ध्वस्त भएका छन् । नगरपालिकालाई अहिले क्षतविक्षेत बनाइदिएको छ । खार खोला, चुक्ती खोला, सेरा खोलाहरुमा ठूलो बाढी आएको थियो । त्यसैगरी साना खोल्साहरु पनि अविरल वर्षाको कारण ठुलो भएकोले बाटो भत्काएर खोल्डो बनाउने, खेतमा बाढी आएर बगर बनाउने जस्ता क्षति अनगिन्ती भएका छन् । यहाँ एउटा घर पहिरोले बगाएको छ । त्यसैगरी वडा नम्बर ३ को राउचेपाङ बस्ती, वडा नम्बर ४ को जौबारी गाउँ र वडा नम्बर ६ को केउरिनी गाउँ यती तीन वस्तीहरु पहिरोले बस्ती नै जोखिममा छन् ।

र हामीले यस्ता जोखिममा रहेका घरहरुलाई सुरक्षित स्थानमा सार्ने, राहतको व्यवस्था गरेका छौं । अरु ठूला कामहरुको लागि हामीले केन्द्र सरकारसँग पहल गरिरहेका छौं । सिचाइँ विभाग, ऊर्जा, जलस्रोत मन्त्रालय र भूमि सुधार मन्त्रीसँग पनि हामी यी समस्या सुल्झाउनमा सघाउन अनुरोध गरेका छौं । उदारका लागि हामीले विपद् व्यवस्थापन समिति परिचालन गरेका छौं ।

योजना बनाउँदा जनताको सहभागीता भयो की भएन ? अब कार्यन्वयन गर्दा जनसहभागीता कसरी हुन्छ ?
समयको अभावकैबीच पनि हामीले नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुलाई टोल—टोलमा पठाएर जनतासँग छलफल गरेर, ती योजनाहरुलाई वडामा ल्याएर वडा स्तरीय र नगरपालिका स्तरीय योजना बनाएका छौं । ती योजनाहरुलाई विषयगत समितिको निर्णय र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसँग पनि छलफल गरेर सोही आधारमा बजेट ल्याएका छौं । अब कार्यन्वयन गर्दा पनि धेरै योजनाहरु जनसहभागीतामै सम्पन्न हुन्छन् । यसरी हामी यो कार्यकालमा हरेक काम जनताको साथ, सहयोग र सुझावमा गर्ने छौं ।

स्थानीय तहहरुमा भ्रष्टचार मौलायो भन्ने जनगुनासो छ । नगरपालिकामा जसले भ्रष्टचार गरे पनि जवाफदेही तपाईँ नै हुनपर्छ । भ्रष्टाचार रोक्न कस्ता नीति अवलम्बन गर्नुभएको छ ?
भ्रष्टचारमा शून्यसहनसिलताका लागि हामीले आगामी वर्षको नीति तथा कार्यक्रममा पनि नीति बनाएर पारित गरिसकेका छौं । अब योजना कार्यन्वयन गर्ने बेलामा पनि हामी त्यसमा विशेष ध्यान दिएर अगाडि बढ्ने छौं । मैले उम्मेदवारी दिने बेला देखि नै म आफू पनि भ्रष्टचार गर्दिन र अरुलाई पनि भ्रष्टचार गर्न दिन्न भन्दै आएको छु । त्यसो हुनाले यो कार्यकालमा म पालुङटार नगरपालिकाको कुनै पनि क्षेत्रमा अनियमितता हुन दिन्न । त्यसैगरी जुन यो पालिकाहरुमा भ्रष्टचार भयो भन्ने कुरा छ । त्यसमा ७ सय ५३ वटै पालिकामध्ये पाँच प्रतिशतले त्यस्तो गरेका छन् । त्यसको छानबिन हुनुपर्छ र कारबाही गर्न पर्छ भन्ने पक्षमा छु । यसमा सम्बन्धीत निकायले ध्यान दिओस्, मेरो आग्रह छ ।

पालुङटारमा जनता र जनप्रतिनिधिबीचको सम्बन्धलाई कसरी मजबुत बनाउनुुहुन्छ ?
मैले पालुङटारवासीलाई नजिकबाट चिनेको छु । सबैको घर—घरमा पुगेको छु । नचिनेका मान्छे एक जना पनि छैनन् । त्यसकारणले जनताले मलाई र नगरपालिकालाई आफ्ना माग र समस्याहरु सजिलै भन्न सक्छन् । त्यसैगरी पालुङटारको कुन वडामा, कुन टोलमा कस्ता योजना आवश्यक छ भन्नेमा म जानकार छु । आगामी आर्थिक वर्षको योजनामा पनि नगरसभामा यो योजना ठिक भएन भनेर कुनै पनि टिपणी आएन । हामीले सर्वसहमतिमा बजेट पारित गरेका छौं । यसले के संकेत गर्छ भन्दा जनताको चाहना हाम्रो योजनामा समेटिएको छ ।

संघ र प्रदेश सरकारसँग कसरी समन्वय गरेर अगाडि बढ्नुहुन्छ ?
हामीले आवश्यक्ता अनुसार समन्वय, भेटघाट र छलफल गरिरहेकै छौं । सकेसम्म पालुङटार नगरपालिकामा धेरै योजनाहरु ल्याउने प्रयत्नमा हामी लागि परेका छौं । त्यसमा संघ र प्रदेशबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छौं ।

प्रकाशित मिति : असार ३०, २०७९ बिहीबार  ५ : ४० बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।