Logo

जनप्रतिनिधि

विराटनगर हाँक्ने जिम्मा पाएका कोइराला परिवारका तेस्रो व्यक्ति नागेश



कोइराला परिवारमा जन्मिएका नागेश ऋषिकेश कोइरालाका नाति, उमेश कोइराला र जया कोइरालाका छोरा हुन् । उनको जन्म वि सं २०३० साल जेठ ३१ गते विराटनगरमा भएको हो । उनको हजुरबाबा ऋषिकेश सिन्धुलीको दुम्जाबाट विराटनगर बसाइँ सरेर पुगेका थिए । नागेशको परिवार जिजुहजुरबा दधिराम कोइरालाहरुदेखि नै आर्थिक रुपमा सम्पन्न थिए । नागेश कोइराला जिजुहजुरबा दधिरामलाई बीपी कोइरालाका बुबा कृष्णप्रसाद कोइरालाले तराईमा बसाइँ सारेर मधेश झारेका थिए । नागेशका धर्मपत्नी अनुजा अर्ज्यालसँग विवाह गरेका छन् । उनीहरुका एक छोरी र एक छोरा छन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र नागेशबीच काका–भतिजको सम्बन्ध छ । भने शेखर र नागेशकी श्रीमती बिचमा पनि फुपाजु र भदैनीको सम्बन्ध छ । गंगा अर्ज्यालको दाजुको छोरी पुनम अर्ज्याल डा शेखरले विवाह गरेका हुन् भने, गंगा अर्ज्यालको नातिनी अनुजा अर्ज्याल कोइराला नागेश कोइरालाले विवाह गरेको हुन् । राजनीतिकसँगै पारिवारिक सम्बन्ध भएका नागेशलाई डा. शेखरको बलमा विराटनगर महानगरको उम्मेदवार बनाइएको थियो । कोइरालाकी श्रीमती अनुजा अहिले विराटनगर महानगरपालिका वडा नम्बर ९ को कांग्रेस बुथ सभापति छिन् ।

शिक्षा

नागेश कोइरालाले युनिभर्सिटी अफ बावियो फिलिपिन्सबाट जनप्रशासनमा स्नातकोत्तर अध्ययन गरेका छन् ।

राजनीतिक यात्रा
बुवा हजुरबुवा सबै नेपाली कांग्रेसमा नै लागेका नागेशको राजनीतिक यात्रा नेपाली कांग्रेस तरुण दलबाट सुरु भएको हो । २०५४ सालमा नेपाल तरुण दल मोरङको कोषाध्यक्ष हुँदै २०५६ सालमा सभापति भएका थिए । त्यस्तै २०६६ सालमा कांग्रेस मोरङको कोषाध्यक्ष र २०७२ सालमा सचिवमा अत्याधिक मतका साथ निर्वाचित भएका थिए । नागेश अहिले पाार्टीको मोरङ उपसभापति छन् । राजनीति परिवेशमा हुर्किएका उनी कांग्रेस भित्र राम्रो प्रभाव राख्ने व्यक्ति मानिन्छन् ।

राजनीतिसँगै सामाजिक क्षेत्रमा सक्रिय

कोइराला सामाजिक क्षेत्रमा समेत सक्रिय छन् । उनी रोटरी क्लब अफ विराटनगर मिट टाउनको अध्यक्ष र राउण्ड टेवल–५ विराटनगरको अध्यक्षको जिम्मेवारीसमेत पूरा गरिसकेका छन् । विराटनगरस्थित महेन्द्र माध्यमिक विद्यालय व्यवस्थापन समितिको दुई कार्यकाल अध्यक्ष भएका कोइराला लायन्स क्लब अफ ग्रिनसिटीको सदस्य भइसकेका छन् । कोइरालाले कोराना महामारीमा विभिन्न स्थानमा पुगेर राहत सामग्रीसमेत वितरण गरेका थिए । त्यस्तै बाढीपीडितका लागि राहत वितरण गरेका कोइरालाले विराटनगर पाञ्चालीस्थित लक्ष्मीनारायण मन्दिरमा गुरुकुल विद्यालय सञ्चालनका लागि २ करोड मूल्य बराबरको जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।

कोइरालाका योजनाहरु

राजनीतिलाई सेवाका रुपमा आत्मसाथ गरेर अगाडि बढिरहेका कोइरालाले पाँच वर्षभित्र विराटनगरवासीले गर्व गर्न लायक विराटनगर बनाउने प्रतिबद्धता जनाएका छन् । महानगरले उठाउने करलाई प्राविधिकरण गरेर दायरा बढाउने, तर कर भने घटाउने कोइरालाको मुख्य योजना हो । सोही अनुसार आर्थिक वर्ष २०७९÷८० का योजना ल्याइएको बताइएको छ ।

त्यसैगरी महानगरमा सस्तो र सुलभ सेवा प्रदान गर्न नगर अस्पताल बनाउने योजना छ । शिक्षालाई प्रविधिसँग जोड्दै पढन चाहने विद्यार्थीलाई पढने वातावरण बनाउने हिसाबले शिक्षा निति बनाएर अगाडि जाने उनले प्रतिबद्धता जनाएका छन् । खानेपानीको क्षेत्र व्यवस्थित गरेर स्वच्छ पानी वितरण गर्ने पनि उनले बताएका छन् । विराटनगरमा वर्षेनी डुबानको समस्या पनि देखिने भएकाल सिंघीया र केसलिया खोलामा तटबन्धन निर्माण गरी बस्ती संरक्षण गर्ने योजना आफ्नो प्राथमिकतामा रहेको उनी बताउँछन् ।

फोहोर व्यवस्थापन गरेर सफा विराटनगर बनाउने र वायु प्रदूषण, वातावरण पदूषणलाई पनि ध्यान दिएर विकास गर्ने उनले योजना बनाएका छन् । योजना, नीति नियमहरु र भौतिक संरचना निर्माण गर्दा पनि महिला, बालबालीका, वृद्धा र अपांगमैत्री बनाउने नागेश बताउँछन् । कृषिमा पर्याप्त बजेट विनियोजन गरेर आधुनिक तरिकाले व्यवसायिक खेती तर्फ अग्रसर गराउने र सडक, भौतिक निर्माणहरु सबै योजनावद्ध तरिकाले जनताको माग र आवश्यक्तालाई आधार बनाएर विकास गर्ने उनले बताएका छन् ।

कोइराला परिवारबाट तेस्रो मेयर

नागेश कोइराला विराटनगरमा कोइराला परिवारबाट महानगरको प्रमुख हुने तेस्रो नेता बनेका छन् । कोइराला परिवारबाटै लोकतन्त्रको विगुल फुकिएको विराटनगरमा २००७ सालको जनक्रान्तिले केशवप्रसाद कोइरालालाई विराटनगरमा नेपाल प्रजातन्त्र सामयिक सरकारको प्रमुखमा नियुक्त गरेको थियो । उनै केशवप्रसाद २०१४ सालमा गरिएको स्थानीय निर्वाचनमा विराटनगरका प्रमुख चुनिए । उनी बीपी कोइरालाका साहिँला भाइ तथा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइरालाका बुवा हुन् ।

पञ्चायत कालमा कोइराला परिवारबाट विराटनगरको प्रमुख कोही भएनन् । प्रजातन्त्रको पुनःस्थापनापछि २०४९ सालको निर्वाचनमा यस परिवारबाट अशोक कोइराला विराटनगरको प्रमुख पदमा निर्वाचित भए । यस पटकको निर्वाचनमा नागेश उदाएका छन् । तीन जना कोइरालाका पूर्खा नै सिन्धुलीको दुम्जाबाट विराटनगर पुगेका हुन् ।

प्रकाशित मिति : श्रावण २, २०७९ सोमबार  ४ : ०६ बजे

177
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।