Logo

अन्तर्वार्ता

जनताको मुख्य आवश्यक्तालाई मध्यनजर गरेर योजना छनोट गरेका छौं : तेजन खनाल (तेजेन्द्र)



अहिले बर्खाको समय भएकोले देशैभरका मानिसको जनजीवन कुनै न कुनै हसाबले कष्टकर बनेको छ । विपद्मा परेका जनतालाई राहत दिने, स्थाननतरण गर्ने लगायतका तत्कालको समस्या समाधान गर्ने पहिलो दायित्व पालिका सरकारको हुन्छ । यस्तो अवस्थामा ओखलढुंगाकाे सिद्धिचरण नगरपालिकाले कसरी आफ्नो दायित्व बहन गरिरहेको छ त ! वर्खाको सयमा बाढी पहिरोले निम्त्याउने विपत्ति, चालु आर्थिक वर्ष बजेट र नगरको भावी कार्ययोजनाबारे सिद्धिचरणका मेयर तेजन खनाल (तेजेन्द्र)सँग अनलाइनपानाका लागि रामनाथ कुँवरले कुराकानी गरेको छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

बर्खाको समय छ । सिद्धिचरण नगरपालिकामा के-कस्ता समस्याहरु आइपरेका छन् ? र समाधान कस्ता उपाय अबलम्बन गर्नुभएको छ ?

बर्खाको समय भएको कारणले गर्दा सिद्धिचरण नगरपालिकामा केही समस्याहरु अवश्य छन् । अहिले ३÷४ दिनदेखि भने पानी परेको छैन । त्यसभन्दा अगाडि धेरै पानी परेकोले हाम्रोमा मुख्यगरी बाटोहरु धेरै अवरुद्ध हुने समस्या थियो । नगरपालिकाको एउटा डोजर छ, त्यसले पन्छाउने र नसकेमा अरुको पनि साहायता लिने गरिरहेका छौं । अहिलेसम्म पालिकामा पहिरोले, बाढीले गाउँ नै सार्न पर्ने, घर नै पहिरोमा पर्ने जस्ता भयावह समस्या भने छैन । तर धेरै पानी परेमा हाम्रो पालिकामा पहाडी बस्ती भएकोले सतर्क भने हुन पर्ने छ । केही ठाउँहरुमा पहिरोको जोखिम छ । त्यस्ता ठाउँहरुको हामीले निगरानी गरिरहेका छौं । जनु कुनै बेला विपद् आईपर्ने हुनाले हामीले नगरवासीलाई सतर्क रहन आग्रह गरिरहेका छौं ।

भर्खरै निर्वाचित भएर आउनुभएको छ, तर हुने बिरुवाको चिल्लो पात भन्छन् । तपाईं आएयता सिद्धिचरणमा के कस्ता कामको प्रारम्भ भए ?

हाम्रो नगरपालिकामा किसानहरु धेरै छन् । नगरपालिकाका साना किसानहरुलाई कर लिने व्यवस्था थियो । ती कर हामीले हटाएका छौं । यो हाम्रो पहिलो काम हो । हामीले वृद्धा भत्ताको लागि सदरमुकाम जान नपर्ने गरि वडाबाटै वितरण गर्ने भनेर निरन्त छलफल गरिरहेका छौं । त्यसबाहेक निरन्तर चलिरहने कामहरु भइरहेकै छन् ।

नयाँ आर्थिक वर्ष भर्खरै मात्र सुरु भएको छ । यो वर्ष नगरपालिकामा कस्ता कामहरु पुरा गर्ने लक्ष्य राख्नुभएको छ ?

हामीले यो वर्षमा सबै वडाहरुमा सडक स्तरोन्नती गरेर बाह्रै महिना सञ्चालन हुने बनाउने हाम्रो मुख्य लक्ष्य छ । त्यसैगरी नगरपालिकामा बिजुली र खानेपानीको व्यवस्था गर्ने योजना बनाएका छौं भने व्यवस्थित तरिकाले गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक बजेट विनियोजन गरेका छौं ।

हामीले बजेटमा सडक, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन जस्ता क्षेत्रलाई प्रथामिकतामा राखेका छौं । तर बजेटमा कुनै पनि क्षेत्र छुटेका पनि छैनन् । हामीले जनताको चाहाना अनुसारको बजेट ल्याएका छौं । जेष्ठ नागरिक, महिला, बालबालिका, अपाङ्गलगायत सामाजिक विकासका सबै क्षेत्रलाई हामीले बजेटमा समेटेका छौं ।

योजना बनाउँदा पालिकाले जनतासँग छलफल नगरी आफू खुसी बनाउने गरेको गुनासो पनि सुनिन्छ । सिद्धिचरण नगरपालिकाले कसरी नीति कार्यक्रम र बजेट बनायो ?

जनताबाट निर्वाचित जनप्रतिनिधिहरुले जनतासँग छलफल गर्दैनन् भन्ने कुरा सिद्धिचरण नगरपालिकाको हकमा सरासर गलत हो । किनभने हामीले बजेट बनाउँदा सबै वडामा टोल—टोलमै छलफल गर्यौं । सबैले भनेका सबै योजनाहरुलाई बजेटको कमीको कारणले समेट्न नसकेपनि जनताको मुख्य आवश्यक्ताहरुलाई मध्यनजर गरेर योजना छनोट गरेका छौं । समेटेका छौं । हामीले यहाँका जनताको मागलाई पूरा गर्ने प्रयत्न हमेसा गरिरहेका छौं ।

सिद्धिचरण नगरपालिकामा भ्रष्टचारलाई रोक्न कस्ता नीति अबलम्बन गर्नुभएको छ ?

नगरपालिकामा एकदम पारदर्शी ढंगले काम हुनुपर्छ भन्ने मेरो मान्यता हो । कसैले पनि भ्रष्टचार गरेमा कानुन बमोजिमको सजाय हुन्छ । मैले सुरुमा नै जनप्रतिनिधि र जनता दुबै पक्षलाई भ्रष्टचार गर्न हुँदैन भनेर सचेत गराएको छु । म आफू पनि यस मामिलामा सचेत छु । कसैले गरेमा उ अवश्य कारबाहीको भागीदार बन्छ ।

संघ र प्रदेश सरकारसँग कसरी समन्वय गरेर अगाडि बढ्नुहुन्छ ?

हामीले केन्द्र र प्रदेश सरकारसँग समन्वय गर्नै पर्ने हुन्छ । किनभने यहाँको स्रोतसाधनले मात्रै सबै क्षेत्रको विकास गर्न सकिँदैन । बजेट पुग्दैन । त्यसो हुनाले हामीले केन्द्र र प्रदेश सरकारलाई भनेर राम्रा र ठूला योजना तथा कार्यक्रमहरु ल्याउन पर्ने छ । त्यसरी काम गर्दा सिद्धिचरण नगरपालिका भित्रका विभिन्न समस्याहरुलाई समाधान गर्नु पर्ने छ । त्यसो हुनाले हामी निरन्तर पहलमा छौं । यहाँको परिवतर्न र विकासको लागि केन्द्र सरकार, प्रदेश सरकार, संघसंस्थाहरु, राजनीतिक दलहरु, निजी क्षेत्र सबैसँग सहकार्य गरेर अगाडि बढ्ने हाम्रो चाहाना छ । त्यसै अनुसार निरन्तर पहल गरिरहेका छौं ।

प्रकाशित मिति : श्रावण ७, २०७९ शनिबार  १ : ४६ बजे