Logo

कर्णाली प्रदेश

एमालेले नेतृत्व गर्न पाएकाे भए कर्णालीको रूपरंग फेरिन्थ्यो : शंकर पोखरेल



सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले नेतृत्व गर्न नपाउँदा कर्णाली प्रदेश सरकार कमजोर भएको टिप्पणी गरेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा शनिबार एमालेले आयोजना गरेको कार्यक्रममा उनले कर्णाली पछि पर्नुमा एमाले दोषी नरहेको बताए ।

‘एमालेले कर्णाली सरकारको नेतृत्व गरेको भए यहाँको रूपरंग फेरिन्थ्यो । जनताले संघीयताको फाइदा लिन सक्थे । अब एमालेले नेतृत्व लिएर समृद्ध कर्णाली निर्माणमा लाग्नुपर्छ’, उनले भने । महासचिव पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनमा गद्दारी गरेको आरोप लगाए ।

बलियो कम्युनिष्ट आन्दोलन निर्माण गर्न आवश्यक रहेको बताउँदै उनले माओवादी र एकीकृत समाजवादीका नेताहरुलाई एमालेमा फर्किन आग्रह गरे । नेपालको राजनीति दुईवटा ध्रुवमा विभाजित भएको समेत पोखरेलले बताए । एउटा केपी ओलीले अघि सारेको बाटो र अर्को शेरबहादुर देउवाले अघि सारेको बाटौ नै नेपाली राजनीतिको बाटो भएको उनको तर्क छ । प्रचण्ड र माधव नेपालले देउवाको बाटोमा हिँडेर एमालेको नेतृत्वमाथि आक्रमण गरिरहेको पोखरेलको आरोप छ ।

प्रकाशित मिति : श्रावण ७, २०७९ शनिबार  ६ : १४ बजे