Logo

अन्तर्वार्ता

‘ठेकेदारको लापरबाहीले दिक्तेलमा जनप्रतिनिधिलाई सराप्दै हिँड्नु पर्ने अवस्था छ’ : नगर प्रमुख भट्टराई [अन्तर्वार्ता]



स्थानीय तहमा नयाँ बनेटसँगै नयाँ जनप्रतिनिधिहरुले कार्यकालको प्रारम्भ गरेका छन् । अहिले बर्खाको समय भएकोले पालिकाहरु आपद्तविपद्कै समस्याहरुलाईसमाधान गर्न बढी केन्द्रित देखिन्छन् । त्यस्ता विपत्तिमा परेका जनताको पीडामा पल्हमपट्टी गर्ने पहिलो दायित्व पनि पालिका सरकारकै हो । वर्षा याममा सिर्जित समस्याकै कारण विकासका कामले गति लिन नपाएको कतिपय पालिकाहरुको भनाइ छ ।

देशैभरका पालिकाहरुका आ–आफ्नै समस्या छन् । पूर्वी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा भने बाढीपहिरोको समस्या सामान्य भएपनि अघिल्लो कार्यकालदेखि नै ठेकेदार कम्पनीले समयमा काम नगरिदिएर तनाव दिएको छ । दिक्तेलमा विकास निर्माणका बाधक नै ठेकेदार तथा ठेकेदार कम्पनी रहेको नगर प्रमुख तीर्थराज भट्टराई बताउँछन् । उनै नगर प्रमुख भट्टराईसँग नगरपालिकाका समग्र विषयलाई समेटेर अनलाइनपानाकर्मी रामनाथ कुँवरले गरेका कुराकानीको सम्पादित अंश :

कार्यकालको प्रारम्भिक चरणमा हुनुहुन्छ । पालिकाभित्र विकासका मुख्य बाधक के—के देख्नुभयो ?

हाम्रो दिक्तेलमा भन्दा साकेलामा पनि बाटो राम्रो छ । त्यसैगरी केपिलास जाँदा पनि राम्रो छ । रावावेसी र हलेसी जाँदा पनि बाटो सहज नै छ । तर जब हाम्रो देक्तेल रुपाकोट मझुवागढी भित्र प्रवेश गर्दा यहाँ बाटो एकदमै बिग्रिएको छ । प्रत्येक नागरिकले बसमा हिँड्दा पनि पैदल हिँड्दा पनि जनप्रतिनिधिलाई गाली गर्ने अवस्था छ । यो अवस्था किन सिर्जना भयो ? यहाँको बाटोलाई सहज बनाउन अघिल्लो कार्यकालका जनप्रतिनिधिहरुले पनि प्रयास गरे होला । हामीले पनि प्रयास गरिरहेका छौं ।

तर खास कारण के भने यहाँका निर्माण व्यवसायीहरुले लिएको ठेक्का लामो समयदेखि पूरा नगर्ने र गरेका पनि गुणस्तरहीन हुने भएकाले हामी सबैले यहाँ यो बेथिति भोगीरहेका छौं । हामीले छिटो काम सक्नुस् भनेर भनिसकेका छौं । होइन भने हामीले दिक्तेललाई निर्माण व्यवासायी पीडित नगरपालिका घोषणा गर्न पर्ने स्थिति आएको छ । यसरी ठेक्का पार्ने अधिकांश बाहिरी जिल्लाका छन् । उनीहरुबाट हामी अत्यन्तै पीडित छौं । अब यसको समाधानको लागि हामी संविधानसम्मत विधिमा रहेर त्यो कार्यक्रम कार्यान्वयन गराउने प्रक्रियामा हामी छौं । निर्वाचित भएदेखि नै यो समस्याको निराकरण गर्न हामी पहल गरिरहेका छौं । तपाईँको लोकप्रिय सञ्चार माध्यम मार्फत ती ठेक्का लिने व्यक्तिहरुलाई छिटो भन्दा छिटो आएर काम पूरा गर्न म आग्रह गर्दछु । यदि गर्न नसक्ने हो भने छोडेर मार्गप्रशस्त गरिदिन म अनुरोध पनि गर्न चाहान्छु ।

अहिले मध्य बर्खाको समय । नगरपालिकामा कस्ता—कस्ता विपत्तित आइपरेका छन् ?

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा अन्यत्र जस्तै बाढी पहिरोको प्राकृतिक विपत्ति आइरहेको छ । पछिल्लो समय गाउँ—गाउँमा भौगोलिक अवस्था नहेरिकन, सम्भाव्यता अध्यायन नगरिकन डोजर चलाउने गरिएकोले देशैभरी धेरै क्षति भएका÷हुने गरेकोे छ । हाम्रो पालिकाको वडा नम्बर १२ ढाल्टामा पहिरोको कारणले चार घर विस्थाति भए । त्यसैगरी पहिरो र बाढीले सडक अवरुद्ध भएकोले यात्रुहरुलाई पनि सास्ती भइरहेको छ । यी समस्याहरुको समाधान गर्न विपद् व्यवस्थापन समिति बनेको हुन्छ ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पालिकाको प्रमुख र अध्यक्ष पनि सदस्य हुन्छन् । त्यसले काम गरिरहेको छ । नगरपालिकाले पनि तत्काल पुर्‍याउनुपर्ने राहत, गर्नुपर्ने सहयोग लगायतका कामहरु गरिरहेको छ । नगरपालिकाको पहलमा बाटोहरु खुलाउने काम भइरहेको छ । दाल्टाको ७ घर स्थानन्तरण गर्नुपर्ने देखिएको छ । अरु ठाउँमा अहिले खासै त्यस्तो समस्या देखिएको छैन । विपत्तिमा परेकाहरुलाई तत्काल न्यूनतम ५ हजार राहत दिने हामीले निर्णय गरेका छौं । यसरी पालिकावासीलाई जस्तो समस्या आए पनि नगरपालिका सधैँ समाधान गर्न पहल गर्ने छ ।

चालु बजेट नगरपालिकाले पारित गरेको छ । यो आर्थिक वर्षमा के—के काम गर्ने योजना छ ?

हामीले पालिकामा ४ करोड ६२ लाखको बजेट ल्याएका छौं । बजेटमा पहिलो प्रथामिकता पालिकावासीको तत्कालको समस्या समाधान गर्ने हो । त्यसैगरी यो बर्खाले क्षेती गरेको बाटो लगायतको पुनःनिर्माण गर्ने हो । त्यसपछि सबै भन्दा बढी नगरवासीले बाटो बनाउन पर्ने बताएका छन् । बाटो स्तरोन्नती गर्ने, दीर्घकालीन बनाउनेतर्फ हामी लाग्ने छौं । हामीले तीन महिनामा सक्ने काम, ६ महिनामा सक्ने काम र त्यसभन्दा धेरै समय लाग्ने कामको वर्गिकरण गरेर वैशाख मसान्तसम्म सबै काम सक्ने गरी कार्ययोजना बनाएका छौं ।

त्यसैगरी हामीले कृषि क्षेत्रलाई व्यवसायिक बनाएर आधुनिकिकरण गर्ने भनेर हामीले नितिगत निर्णयहरु गर्दै जाने छौं । सामुहिक कृषि उत्पादनलाई हामी बढी महत्व दिएर आगाडि बढ्ने योजना बनाएका छौं । दिक्तेलबाट पाटेका खार्मी र दिक्तेल खानी डाँडा हुँदै रेग्मिटार जाने बाटोलाई हामीले गौरवको योजनामा राखेका छौं । यो योजना पूरा गर्नका लागि हामीले केन्द्र र प्रदेश सरकारसँग पनि बजेटको माग गरेका छौं । त्यसैगरी शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका क्षेत्रलाई पनि हामीले प्रथामिकतमा राखेर योजना बनाएका छौं ।

सामाजिक विकासका योजनाहरु कस्ता छन् ?

सामाजिक विकासका सबै क्षेत्रमा हामीले बजेट विनियोजन गरेका छौं । महिलासँग उपप्रमुख भन्ने कार्यक्रम छ । ज्यष्ट नागरिक, अपाङ्गता भएकाहरु र बालबालिकासँग नगरप्रमुख भन्ने कार्यक्रम पनि छ । सम्बन्धित क्षेत्रमा काम गर्ने संघ संस्थाहरु र नगरवासीसँगकै सहकार्यमा हामी ती कामहरु गर्ने छौं ।

कस्ता किसिमका कार्यक्रमहरु अगाडि बढाउने भन्नेमा हामी सरोकारवाला, विषय विज्ञहरुसँग बसेर छलफल गरेर अगाडि बढ्ने छौं । हामीले कार्यक्रमहरु कनिका छरेझैँ छरेर उपलब्धि नआउने किसिमका कार्यक्रम नगर्ने नीति लिएका छौं । विकृति विसंगति र अन्धविश्वास जस्ताको अनुगमन, छानबिन गर्नका लागि हामी उपप्रमुखको नेतृत्वमा एउटा समिति बनाउने तयारी गरेका छौं । त्यसले गर्दा पालिकावासीमा चेतनाको वृद्धि हुने हामीले विश्वास लिएका छौं ।

केन्द्र र प्रदेश सरकारसँग कसरी समन्वय गरेर अगाडि जानुहुन्छ ?

केन्द्र र प्रदेश सरकारसँग हामीले यहाँको अवस्था र आवश्यक्ताको बारेमा जानकारी गराइरहेका छौं । मैले निर्वाचित भएसँगै केन्द्र र प्रदेश सरकारका प्रतिनिधिहरुसँग भेटेर यहाँको विकास अगाडि बढाउन आग्रह गरेको छु । यहाँका सांसदहरु मार्फत पनि हामीले पहल गरिरहेका छौं ।

नगरपालिकामा भ्रष्टचार हुन नदिन कस्ता नीति अवलम्बन गर्नुहुन्छ ?

तपाईँको सञ्चार माध्यम मार्फत म यो प्रतिबद्धता गर्न चाहान्छु कि यो कार्यकालमा कुनै किसिमका अनियमितता हुन दिन्न । मैले निर्वाचित भएको १५ दिन मै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेको छु । अब कार्यकाल सकिएपछि पनि सम्पत्ति सार्वजनिक गर्छु । त्यसबाट स्पष्ट हुन्छ कि पहिले कति सम्पत्ति थियो र पछि कति भयो । यसो सबै जनप्रतिनिधिहरुले गर्न जरुरी छ । म नगरपालिकामा भ्रष्टचार हुन दिन्न ।

पालिकामा बजेट बनाउँदा टाठाबाठाहरुको मागलाई मात्र समबोधन गरिन्छ, योजना बनाउँदा र कार्यान्वयन गर्दा जनसहभागीता हुँदैन भनिन्छ नी ?

मैले नढाँटी भन्नु पर्छ, तपाईँको लोकप्रिय सञ्चारमाध्यम मार्फत । किनभने हामी जनताका जनप्रतिनिधि हौं । यो वर्ष हामीले बजेट बनाउँदा टोल—टोलमा पुगेर जनतासँग छलफल गर्न भ्याएनौं । निर्वाचनको समय र बजेट निर्माण गर्ने समय निकै थोरै थियो । यहाँको भूगोल, अवस्था र समयको अभावले गर्दा हामीले जनतासँग वृहत् छलफल गर्न नभ्याएको हो ।

हामीले नगरपालिकाका संघ संस्थाहरु, राजनीतिक दलहरु, सांसदहरु सबैसँग बसेर छलफल भने गर्‍याैं । तर तपाईँले भनेको जस्तो वास्तविक नगरवासीसँग हामीले बहस गर्न सकेनौं । अब आगामी वर्षबाट हामी यस विषयलाई महत्व दिन्छौं । जनतासँग धेरै छलफल गरेर योजना बनाउछौं । म यो प्रतिबद्धता जाहेर गर्छु ।

प्रकाशित मिति : श्रावण १२, २०७९ बिहीबार  ६ : १० बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।