Logo

विचार / ब्लग

कांग्रेसको समाजवादी यात्रा र वर्तमान कर्तव्य 



नेपाली कांग्रेसका संस्थापन नेता बीपी कोइरालाले कुनै समयमा भन्‍नुभएको थियो – ‘प्रत्येक नेपालीको घरमा एक हल गोरु र दुहुने गाई होस्, खरकै छाएको भए पनि सानो छाप्रो होस् र केही जमिन होस्’ । यही कुरालाई आत्मसाथ गरेको आजको कांग्रेसले समाजवादलाई यही अनुरुप ब्याख्या गर्ने गरेको पाइन्छ । बीपीका उक्त विचारले समाजवादको व्याख्या पुग्छ कि पुग्दैन भन्‍‍ने बहस भन्दा पनि उनको लक्ष्य सुखी नेपाली थियो भन्‍नेमा कुनै शंका छैन । 

यस अर्थमा के स्वतन्त्रता बिनाको आर्थिक प्राप्तिले सुखी जीवन प्राप्त होला ? भन्ने प्रश्न उठाउनु आवश्यक हुन्छ । यस सन्दर्भमा बीपीसमेत प्रष्ट धारणा थियो – स्वतन्त्रता सहितको समाजवादले मात्र सुखी जीवनको यात्रा तय गर्न सक्छ । सुखी जीवनका लागि आधारभूत आवश्यकतासँगै स्वतन्त्रताको उपभोग स्वास्थ्यको उन्‍नत अवस्था र  भयमुक्त वातावरणको सुनिश्चिचता आवश्यक हुन्छ । 
 
बीपीले खोजेको समाजवाद पनि यही थियो र उहाँले समाजवादका दूईवटा मौलिक आधार पनि बताउनु भएको छ । जसमा :
१-  आर्थिक उन्‍नति नै सामाजिक विकासको आधार हो ।
२- उत्पादनका साधनमाथि त्यही समाजकै नियन्त्रण हुनुपर्दछ ।

त्यस्तै बीपीको समाजवादका दुईवटा हांगा छन् :
 
१- राजनितिक स्तरमा लोकतन्त्र र
२- आर्थिक क्षेत्रमा गरिब जनताले न्यायको अनुभूती गर्न सक्ने विकास 

यसरी बीपीले गुणस्तरीय जीवनसँगै स्वतन्त्रताको ग्यारेण्टी खोजे । स्वतन्त्रता बिनाको जीवन सुखी हुन सक्दैन भन्ने मान्यता राखे । त्यस्तै उत्पादन वृद्धि नगरी समान वितरणको कुनै अर्थ नहुने बीपीको प्रष्ट धारणा थियो । यसर्थ बीपीले प्रजातान्त्रिक समाजवाद भने । जहाँ राजनीतिक रुपमा स्वतन्त्रता र आर्थिक विकासका लागि पुँजीको जोहोको कुरा थियो । बीपी स्वतन्त्र आर्थिक कृयाकलापले मात्र पुँजी वृद्धि हुने तथा उत्पादन वृद्धि भएर सुखी जीवन प्राप्त हुने कुरामा विश्वस्त थिए ।

समाजवादी नेता बीपीले नेपालमा प्रजातान्त्रिक व्यवस्थासँग ग्रामिण विकासमुखी कार्यक्रमद्वारा आर्थिक विकासलाई गति दिन सकिने कुरामा जोड दिनुभएको थियो । साथै ग्रामिण विकासको मेरुदण्ड कृषि  भएकाले कृषिका समस्या समधानमा उहाँले ध्यान दिएको पाइन्छ । त्यसैको फलस्वरुप बीपीले आफ्नै प्रधानमन्त्रीत्व कालमा विर्ता उन्मुलन गरेर क्रान्तिकारी भूमी सुधार लागु गर्नुभयो । जसले ‘हलो बोकेर खेत जोत्छ, जमिन उसैको हुनुपर्ने’ बताउनुभयो । 

बीपी प्राकृतिक साधनमा निजी अधिकार हुनु हुन्‍न भन्ने मान्यता राख्नु हुन्थ्यो । जमिनको स्वामित्व कागजमा लेखिएका आधारमा नभएर जोत भोगको आधारमा हुनुपर्ने बताउनु हुन्थ्यो । बीपी कृषिमा मौलिक प्रविधीको प्रयोगमा जोड दिनु हुन्थ्यो । एक विश्वविद्यालयका छात्रछात्रालाई सम्बोधन गर्दै अमेरिकाका कृषकले प्रयोग गरेको प्रविधिभन्दा भारतको हरियाणाका कृषकले प्रयोग गरेको प्रविधि उत्कृष्ट रहेको बताउँदै आफूले अभ्यस्त भएको मौलिक प्रविधिबाट नै कृषि उत्पादन बढाउन सकिने कुरामा जोड दिने बीपी अरुको प्रविधि आयात नगर‍ि मौलिक प्रबिधीमा नै केही परिस्कृत गरी प्रयोग गर्नुपर्ने कुरामा जोड दिनु हुन्थ्यो ।

यसरी हेर्दा आर्थिक उन्‍नती बिना मुलुक समाजवादी बाटो हिँड्ने कुनै सम्भावना देखिँदैन  । यही कुरालाई आत्मसाथ गर्दै प्रजातन्त्र पुनर्स्थापना पश्चातको नेपाली कांग्रेसका सरकारले आर्थिक उदारिकरण तथा ग्रामिण स्वावलम्बन कार्यक्रममार्फत आर्थिक ढाँचामा ब्यापक परिवर्तनको सुरुवात गरेको थियो ।  ग्रामिण स्वावलम्बन कार्यक्रमले आर्थिक विकासका पूर्वाधारको रुपमा रहेका शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली र सडकका योजनाहरु ब्यापक रुपमा सुरुवात गरेको थियो । त्यसका सकारात्मक परिणाम आउदै गर्दा जनयुद्धका नाममा नेकपा माओवादीले सुरु गरेको द्वन्द्वको चपेटामा मुलुक परेको थियो ।

बीपीले उत्पादनका साधनमाथिको नियन्त्रण, ग्रामिण विकास तथा उत्पादन प्रविधीका बिषयमा जस्तो धारणा राख्नुहुन्थ्यो त्यस्को कार्यान्वनमा पनि त्यत्तिकै दत्तचित्त भएर लाग्नुहुन्थ्यो । छोटो समय सरकार सञ्‍चालनको मौका पाएका उनले मुलुकलाई प्रजातान्त्रिक समाजवादको बाटोमा हिँडाउनमात्र खोज्‍नुभएन आजीवन त्यसका लागि संघर्ष  गर्नुभयो ।

ग्रामीण क्षेत्रको विकाश र गरिब ग्रामिण जनताले परिवर्तनको अनुभूती गर्न नसकेको विकासले समाजवादको बाटो पहिल्यान नसक्ने कुरामा बीपीले जोड दिँदै राष्ट्रिय योजना आयोगमा गरिब जनताको फोटो झुण्डयाउन र तिनको मुख हेरेर योजना बनाउन भन्‍नुभयो । उहाँकाेयस विचारले आर्थिक क्षेत्रमा गरिब जनतालाई न्याय दिने खालको विकासमा बीपीको जोड थियो भन्‍ने प्रस्ट हुन्छ । ठूला-ठूला सडक, पार्क बनाउँदैमा विकास भएको भन्‍न नहुने बताउँदै जबसम्म विकासले ग्रामिण गरिबको जीवनस्तरमा ब्यापक सुधार ल्याउन सक्दैन र उनीहरुलाई विकास भएको अनुभूती हुँदैन तबसम्म विकासको कुनै अर्थ छैन । यसरी आजीवन प्रजातान्त्रिक समाजवादको वकालत र त्यसको कार्यान्वनमा बिताएका बीपीका बिचार आजको अवस्थामा पनि उत्तिकै सान्दर्भिक छन् । साथै यसै बाटोबाट मुलुकको कल्याण हुने कुरामा दुई मत छैन । 

आज विकासका पूर्वाधारका रुपमा सडक, बिजुलीको विकास त गरिरहेका छौँ, तर त्यसमा ति गरिब जनताको पहुँच कति छ भन्‍ने प्रश्‍न उठेको छ । घरको आगानीमा बिजुलीको पोल गाडीए पनि बिजुली घरमा बाल्न नसक्ने अवस्थाका मानिसहरु पनि छन् । आँगनीको पोलबाट तार तानी बिजुली बाल्न नसक्ने अवस्थामा के त्यो विकासले जीवनस्तर परिवर्तन भयो होला त । सडक खनेर रेलका पटरी तान्‍न त तानुला तर त्यसमा निमुखा गरिब सफर गर्नसक्ने अवस्थामा छ कि छैन ? ग्रामिण क्षेत्रमा मोबाइल नेटवर्क त पुर्‍याइएला तर त्यलाई प्रयोग गर्ने सामार्थ्य भएको जनसंख्या कति छ ? यस्ता प्रश्नको उत्तरमा हाम्रो समाजवादी यात्राको मूल्यांकन हुनेछ । तसर्थ पूर्वाधारको विकाससँगै गाउँमा रोजगारी र आम्दानीको सिर्जना कसरी गर्ने भन्ने कुरामा ध्यान केन्द्रित गर्न जरुरी छ । 

कृषिको विकासले सम्भव छ समाजवादी यात्रा 

आज पनि जमिनमा सामन्तकै कब्जा रहेको छ । हलो बोक्ने र जोत्‍ने किसान जमिनका वास्तविक मालिक हुन सकेका छैन । व्यवस्थित बसोबास नीतिको अभावमा जमिनको सहि उपयोग हुन सकेको छैन । तराईका धनहर फाँटहरु कंक्रिट जंगलमा परिवर्तन हुँदैछन् । हजारौँ उद्योग खोल्न मिल्ने पैसा अनुउत्पादक घर जग्गामा खर्च भइरहेको छ । कृषिमा व्यापक सुधार हुन नसक्दा रोजगारी सिर्जना हुन सकेको छैन । 

बिना रोजगारी ग्रामिण जनताको आयस्रोत कसरी बड्न सक्छ । र उनीहरुलाई परिवर्तनको अनुभूती कसरी हुन सक्छ ? यसर्थ कृषिको विकासमा जोडसँगै किसानका समस्याको हल खोज्‍न जरुरी छ  । कृषि बजारको उचित व्यवस्था, विचौलियाको अन्त्य किसानले आफ्नो उत्पादनको सहि मूल्य पाउने ग्यारेन्टी नपाउँदासम्म न त कृषिको विकास हुन्छ न त किसानले विकाशको अनुभूती गर्न नै पाउँछन् । 

हाम्रा प्राथमिकताका क्षेत्र के हुनु पर्दछ ?

ठूला-ठूला सीमित विकासका योजनाभन्दा व्यापकरुपमा ग्रामिण गरिबलाई दृष्टिगत गरी योजना बनाउने र त्यसको सफल कार्यान्वयनले मात्र हाम्रो भलो गर्नेछ । त्यसले एकातिर ग्रामिण बेरोजगारीको समस्या समाधान हुनेछ भने अर्कोतिर रोजगारीका लागि लस्करका लस्कर मुगलान भाँसिनुनै पर्ने दारुणिक अवस्थाको अन्त्य पनि । तसर्थ ग्रामिण विकासलाई दृष्टिगत गरी योजना बनाउन आवश्यक छ । 

गाउँमा रोजगारी र आम्दानीको सिर्जना कसरी गर्ने भन्‍ने कुरामा ध्यान केन्द्रित गर्नुपर्दछ । अर्थात आफूसँ भएका साधनहरुको श्रेष्ठतम् प्रयोग हुने योजना बनाउनमा हाम्रो जोड रहनु पर्छ । त्यस्तै बीपीको अर्को जोड Small Is Beautiful भन्‍ने थियो । विश्वमा ठूला-ठूला विकासे परियोजना सुरु भएका बेला के अब चर्का उद्योग वा साना विकासे योजनाले बाँकी विश्वसँगको प्रतिस्पर्धा गर्नु सकौँला त ? भन्ने प्रश्न उठ्ला तर यसको तात्पर्य दीगो विकास र स्थानिय श्रोत साधनको अवधारणा अन्तर्गत लियौँ भने सहि अर्थ ठहरिने छ ।

संविधानसभामार्फत संविधान जारी गरी त्यस्को सफल कार्यान्वयन समेत भइ राजनीतिक स्थायीत्व प्राप्त गरिसकेको वर्तमान अवस्थामा गरिब जनतालाई न्याय दिने खालको विकासले नै हामीलाई समाजवादको बाटोमा लैजाने छ भने जनताले परिवर्तनको अनुभूती गर्ने छन् । तसर्थ राज्यको प्रजातान्त्रिक चरित्र, सेवक चरित्र, न्यायिक चरित्रको विकासमा जोड दिएर ग्रामिण क्षेत्रलाई केन्द्रमा राखी विकासका कार्यक्रम सञ्‍चालन गरौँ।  यसो गर्न सकिएमा नेपाली राजनीतिका शिखर पुरुष विशेश्वरप्रसाद कोईरालाप्रतिको सच्चा श्रद्धाञ्जली समेत हुनेछ ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलवार १४:४२   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।