Logo

टिप्पणी

न्याय नपाएका चेलीहरु 



०७५ फागुन ३ गते प्रधानमन्त्रीको शपथ ग्रहण गरिसकेपछि केपी शर्मा ओलीले भनेका थिए, “मुलुकमा सुशासन कायम गरिन्छ । जनतलाई सरकार भएको महसुस गराइन्छ । सबै तह र तप्काका नागरिकले न्याय पाउनेछन् । पैसाको अभावकै कारण कोही न्यायबाट वञ्‍चित हुनुपर्ने छैन ।” पाँच वर्षको अवधिका लागि प्रधानमन्त्री बनेका ओलीले आफ्नो वाचा अनुसार सुशासन कायम गर्न त सकेनन् नै पाँच वर्षको कार्यकाल पनि आफ्नै क्रियाकलाले छोट्याउँदै साढे तीन वर्षमा नै सत्ताबाट बाहिरिन बाध्य भए । 

सत्ताबाट ओली बाहिरिए पनि उनको कार्यकालमा सुशासनको प्रत्याभूतको कुरा छोडौं, न्युनतम् न्यायको पनि जनताले अनुभूत गर्न पाएनन् । जसको प्रतिनिधि घटनाको निर्मला बलात्कार र हत्या प्रकरण । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज तीन वर्ष पुगेको छ । 

देशका चेलीबेटीले खेपेका पीडा, वेदना, आजसम्म भएका महिला हिंसाका घटनाहरु, समाजको ‘बलात्कारी प्रवृत्ति’ र संस्कारका विषयमा चर्को नाराहरू गुञ्जायमान भए पनि पन्तको हत्यारा पत्ता लगाउने जिम्मेवारी पाएका सम्बन्धित निकाय भने कानमा तेल हालेर बसेको अवस्था छ । तीन वर्षको अवधिमा सरकार फेरियो । पन्तको हत्यारा पत्ता लगाउने जिम्मेवारी पाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नेतृत्व पनि पटक-पटक फेरियो । तर निर्मलाका परिवारले पाएको पीडा भने अझै पनि उस्तै छ ।

२०७५ साल साउन १० गते निर्मलाको बलात्कारपछि हत्या भयो । त्यसको भलिपल्ट अर्थात साउन ११ गते उखुबारीमा मृत अवस्थामा उनको शव भेटिएको थियो । गत वर्षको फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको बलात्कारपछि भएको हत्या घटनामा संलग्‍नलाई पानी मुनी गए पनि नछोड्ने प्रतिबद्धता समेत जनाए । २०७७ साल फागुन १ गते लुम्बिनी प्रदेशको बुटवलमा तत्कालीन नेकपाद्वारा आयोजित आमसभामा बोल्दै उनले अपराधी कुनै पनि हालतमा नउम्किने बताए । 

“पानी मुनी गए पनि छाडिने छैन । निर्मलाको हत्या गरेका अपराधीहरू २-४ दिन,  एक वर्ष लुकेर उम्किएलान्, तर, सजाय घट्नेवाला छैन, पूराका पूरा सजाय अपराधीलाई दिन्छौँ ।” 

यसरी देशको नेतृत्वको उच्च तहमा पुगेकाहरूले कयौँ कलिला निर्मलहरूको घटनालाई राजनीतिक मुद्दा बनाए । भाषणको शीर्षक बनाए । जनताको भावनासँग खेलेर पदमा टिकिरहने सहज मुद्दा बनाए । विडम्बना अपराधीलाई अदालतको कठघरामा उभिन बाध्य बनाउन भने सकेनन् । पछिल्लो समय देशका विभिन्‍न स्थानमा युवतीहरू हराउने र बलात्कारपछि हत्या भएको अवस्थामा फेला पर्ने घटनाहरु बढ्न थालेका छन् । 

देशका चेलीहरूले खेपिरहेका महिला हिंसा तथा यौन दुर्व्यवहार, बढ्दो क्रममा रहेका बलात्कारका घटना हरेक दिन जसो बढ्दै जानु पक्कै पनि अस्वाभाविक कदम हो । तर राज्यका जिम्मेवार निकायहरूले यसलाई स्वाभाविक रूपमा मान्‍न थालेको देखिन्छ । तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलले भनेका थिए, “निर्मलाजस्ता बलात्कारका घटनाहरु भइरहन्छन् । अन्य देशहरुमा भएका छन् ।”

गृहमन्त्रीको उक्त अभिव्यक्ति निकै आलोचित भयो, तर, जिम्मेवार पदमा बसेका व्यक्तिले यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिँदा पनि माफीसमेत मागनेन् । सरकारको प्रतिनिधिहरुको उक्त अभिव्यक्तिले पीडित अभिभावको मन कति पोलियो होला ? ती शासकले यसको हेक्का राखेनन् । दाइजो नल्याएको आरोपमा महिलाहरूलाई कुटपिट तथा यातना दिने मात्र कार्य भएका छैनन्, यहाँ निर्दोष चेलीहरूलाई मृत्युको मुखसम्म पुग्न बाध्य समेत गरिएको छ । 

पीडितहरूले त गैरजिम्मेवारपूर्ण राज्य, राजनीतिक शक्ति र सत्ताले नै अपराधी तथा बलात्कारीको सुरक्षा गरेको आक्रोशपूर्ण आरोप समेत लगाउँदै आएका छन् । देशमा भएका असंख्य घटनाहरु मध्य देशका केही प्रतिनिधि घटनाहरु यस अंकमा समेट्ने प्रयास गरिएको छ ।

घटना १ : बिना सापकोटा 
 
गत असार १४ बाट सम्पर्कविहीन भएकी पूर्वी नवलपरासीकी बिना सपकोटा अझै सम्पर्कमा आएकी छैनन् । सोही दिन राति ८ बजेतिर एक्लै नारायणी नदी किनारतर्फ गइरहेको सीसीटीभी फुटेज फेला पारेको छ । त्यसपछि प्रहरीलाई कुनै पनि सबुत हात लागेको छैन ।

सापकोटा असार १४ मा घरबाट साथी प्रवेश कँडेलसँग नारायणघाट हिँडेकी थिइन् । त्यही दिनदेखि उनी सम्पर्कमा आएकी छैनन् । जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरी थापाले घटनाको विषयमा थप अपडेट नआएको अनलाइनपानालाई जानकारी दिए । 

अनुसन्धानका क्रममा प्रहरीले सापकोटाको मोबाइल कँडेलको साथमा फुटेको अवस्थामा फेला पारेको थियो । नारायणघाटमा सापकोटा र कँडेलले अर्की एक युवतीसँग पनि भेट गरेका थिए । अनुसन्धानका क्रममा तीन जनाबीच झगडा भएको पाइएको प्रहरीले बताएको छ । तर बिना सपकोटा बेपत्ता भएको आज २७ औँ दिन हुँदा समेत उनको अत्तो पत्तो छैन । प्रहरीले खोजी कार्य जारी राखेको बताइरहेको छ भने अभिभावकहरु छोरीको पर्खाइमा छन् । 

घटना २  : सविता भण्डारी
 
सविता भण्डारीको मृत्यु गत वैशाख ४ मा भयो । २८ वर्षीया सविताको विवाह २०७१ वैशाख ३ मा भरतपुर–१९ शारदानगरका योगेन्द्र धितालसँग भएको थियो । उनीको पाँच वर्षका छोरा छ । बिहे गरेको एक महिनापछि उनका श्रीमान् योगेन्द्र वैदेशिक रोजगारीका लागि दुबई गए । दुबई पुगेको २ महिनापछि उनले सवितालाई पनि उतै बोलाए । 

सबिताकी बहिनी सजनी भण्डारीका अनुसार गर्भवती भएपछि सात महिनामा सबिता नेपाल फर्किएकी थिइन् । उनका छोरा नेपालमै जन्मिएका हुन् । लकडाउन भएपछि गत वर्ष मृतक सबिताका श्रीमान योगेन्द्र पनि घर फर्किए । योगेन्द्रका अनुसार गत वैशाख ४ को दिउँसो उनले कोठाको ढोका खोल्न खोज्दा नखुलेपछि घर पछाडिको भ्यालबाट हेर्दा सवितालाई घरको कोठाभित्र झ्यालमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा देखेका हुन् ।

श्रीमती झुन्डीएको देखेपछि ढोका फोरेर भित्र छिर्दा सबिता चल्मलाएको देखेपछि पासो काटेको प्रहरी समक्ष योगेन्द्रले दिएको बयानमा उल्लेख गरिएको छ । त्यसलगत्तै सबितालाई चितवन मेडिकल कलेज लगिएको थियो भने अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

सविताको शव बुझ्नका लागि उनका श्रीमानले वैशाख ५ मा प्रहरीमा जाहेरी दिए  । जसमा सबिताको झुन्डिएर मृत्यु भएको उल्लेख छ । तर सविताका बुबा रामचन्द्र भण्डारीले सोही दिन ‘फुटकर ज्यान’ मुद्दामा प्रहरी समक्ष अर्को जाहेरी दिए । जसमा भने दुबईमा बस्दा झैंझगडा हुने गरेको, शारीरिक–मानसिक यातना पनि दिने गरेको हुँदा अहिले मृत्यु के कति कारणले भएको हो भन्ने बारे अनुसन्धान गर्न माग गरिएको छ  । 

मृतकका बुवाले वैशाख १२ गते आत्महत्या दुरुत्साहनले घटना भएको उल्लेख गर्दै फेरि अर्को जाहेरी दिए । जसमा लोग्‍ने ले मादक पदार्थ खाएर मोटी भएको, दाइजो नल्याएको भनेर दुःख दिने गरेको, दुबईमा कमाएको पैसा अमाजुले नदिएको र ससुराले यौनहिंसासमेत गरेको विवरण उल्लेख छ । तत्पश्चात् प्रहरीले अनुसन्धान अगाडि बढायो र वैशाख १७ मा योगेन्द्र र जेठ १० मा उनका बुबा रमेश कुमार धिताल पक्राउ परे ।

वैशाख २७ मा प्रहरीलाई भरतपुर अस्पतालले पोस्टमार्टम रिपोर्ट पठाएको छ । जसमा सविताको मृत्यु ‘ह्यांगिङ’ अर्थात् झुन्डिएर भन्ने उल्लेख छ । ‘पोस्टमार्टम रिपोर्टले प्रस्टसँग बोलेको छ- घटना आत्महत्या हो । अनुसन्धानले आत्महत्या दुरुत्साहन भएको देखेपछि मुद्दा चलेको छ,’ चितवन प्रहरी प्रवक्ता सूर्य थापाले भने । अनुसन्धान सकेपछि प्रहरीले मृतक सविताका श्रीमान्, ससुरा र अमाजु भावना ढकालविरुद्ध जिल्ला अदालतमा जेठ ११ मा आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएर थुनछेक बहस भएपछि अदालतले श्रीमान् र ससुरालाई एक–एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दियो । अमाजु भावना पक्राउ परेकी थिइनन् । मुद्दा दायर भएपछि अदालतमा उपस्थित भएकी उनलाई २५ हजार रुपैयाँ धरौटी लिएर तारेखमा राख्‍ने आदेश भयो । यी सबै प्रक्रियाप्रति सविताको माइती पक्षको असहमति रहँदै आएको छ । सविताकी बहिनी सजनी भण्डारी कर्तव्य ज्यानमा उजुरी दिन सुरुदेखि नै प्रयास गरे पनि प्रहरीले टार्दै मुख्य विषयलाई नै मुद्दामा नसमेटेको आरोप लगाउँछिन् ।

घटनाको ‘मुख्य कारण’ भिडियो भएको मृतककी बहिनी सजनी भण्डारीको दाबी छ । सविता र उनका ७३ वर्षीय ससुरा रमेशकुमार धितालको एउटा छोटो भिडियो करिब एक महिना अघि सामाजिक सञ्जालमा भाइरल बनेको थियो । जसमा सविताको काखमा ससुरा सुतेको झैं देखिन्छ । केही संवादहरू पनि छन् । सविताको छोरा पनि आडैमा आफ्नै धुनमा खेलेको देखिन्छ । ससुराले यौन दुर्व्यवहार गर्न खोजेको कुरा दिदीले गुनासो गरेपछि आफूले प्रमाणका लागि भए पनि एउटा भिडियो खिच्‍न भनेको सजनीको तर्क रहेको छ । उक्त यो भिडियो खिचेलगत्तै आफूले दिदीलाई माइत काठमाडौं बोलाएको उनि बताउँछिन् । मृतक सबिता माइत पुगेपछि उक्त भिडियो घर तर्फका मन्छेलाई पठाएको सजनी बताउँछिन् । त्यसपछि घरको कुरा घरमै मिलाउने भन्दै माइतबाट सबितालाई शारदानगर नै लगियो । बहिनी सजनीले भनिन्, “यो भिडियो आएपछि सुरुमा भिनाजुले दिदीकै पक्ष लिएका थिए । तर पछि सबै मिलेर गाली गर्न थाले । घरमा झैंझगडा बढ्यो ।”

सबितासँग हुने कुराकानी, म्यासेजले आत्महत्या गरेको विश्वास नलागेको हुँदा प्रहरीले कर्तव्य ज्यान मुद्दामा उजुरी लिएर अनुसन्धान गरेको भए सत्य कुरा बाहिर आउने बहिनिको तर्क छ । उनि भन्छिन्, “भिडियो बनाएकै भनेर दिदीमाथि अत्याचार हुन थाल्यो र ज्यानै गयो ।”

घटना ३ : सम्झना विक 
 
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार २०७७ असोज ७ गते बुधबार दिउँसो करिब १२ बजे हजुरआमासहित परिवारसँगै बसेर सम्झना विकले खाना खाएकी थिइन् । खाना खाएपछि सम्झना घरभन्दा करिब आधा घण्टाको पैदल दूरीमा रहेको गोठमा वस्तुभाउलाई घाँसपानी गर्ने भन्दै गएकी थिइन् । उनी गोठ नपुग्दै बीच बाटोमै अपहरणमा परिन् ।

नजिकैको मन्दिरमा लगेर बलात्कारपछि सम्झनाको हत्या भयो । धारिलो हतियारले टाउको र शरीरमा काटेर हत्या गरेको अवस्थामा मन्दिरभित्र शव फेला परेको थियो । प्रहरीले सम्झनाले घरबाट लगेको डोको-नाम्लो र हँसिया सिमदेवताको मन्दिर नजिकै फेला परेको थियो ।

सम्झनाले कानमा लगाएको पाँच आना सुनको गहना लगाएकी थिइन् । उनको शव फेला पर्दा कान रित्तै थियो । घटनामा संलग्‍न रहेको आरोपमा प्रहरीले सोही ठाउँका १७ वर्षीय युवकलाई पक्राउ गरेको थियो । पक्राउ परेका युवक नाबालक भएकाले डोटीस्थित सुधार गृहमा राखिएको जिल्ला प्रहरी कार्यलय बझाङका डीएसपी तथा सूचना अधिकारी कमल प्रसाद चौधारीले आनलाइनपानालाई जानकारी दिए । 

पक्राउ परेका उनलाई केन्द्रमा राखेर अनुसन्धान गर्ने क्रममा भेटिएका तथ्य र प्रमाणहरू हेर्दा उसैले बलात्कारपछि हत्या गरेको पाइएको हो । तर, ती व्यक्तिले हत्या गरेको हो भन्‍ने ठहर भने भइसकेको छैन ।

घटना ४ : सुजिता भण्डारी

सुजिता भण्डारी गत असार ११ गते बिहानै घरबाट निस्केकी थिइन् । मध्याह्न उनको दिदी कवितासँग फोन सम्पर्क भएको थियो । फोनमा बहिनीले आफू अपहरणमा परेको जानकारी दिएको दिदी कविताले जिकिर गरेकी छिन् । प्रहरी ट्रयाकिङमा देखिए अनुसार उनको मोबाइल फोन लोकेसन घरदेखि दक्षिण लागेको छ । तर सुजिताको शव भने घरदेखि उत्तरको जंगलमा भेटिएको थियो । 

उनको शवको छेउमा हरियो सानो बोतलमा सेतो पदार्थ भेटिएको थियो । उक्त पदार्थ झोल धानमा लाग्‍ने पतेरोको विषादी भएको मृतकका बुबाको दाबी रहेको चितवनका प्रहरीको भनाइ छ । २३ वर्षिय सुजाता घरबाट निस्केको ९ दिनपछि असार २० गते आइतबार साँझ सुजिताको शव जंगलमा भेटिएको थियो । उनको असार २२ गते काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम भएको थियो । घटनामा संलग्न दोषी भने अझै पत्ता लागेको छैन । प्रहरीले शुक्रबार चितवनमा पत्रकार सम्मेलन गर्दै नाताले दाइ पर्नेसँगको आत्महत्या भएको हुनसक्ने बताइएको छ । तर, अझै यकिन भने भइसकेको छैन । 

घटना ५ : भागिरथी भट्ट 
 
बैतडीको दोगडाकेदार गाउँपालिका–७ (कतोला) चडेपानीमा घट्यो ,१७ वर्षीया भागरथी भट्ट सिर्कोटस्थित सनातल धर्म माध्यमिक विद्यालयमा वाणिज्य संकायमा कक्षा १२ मा पढ्थिन् । घरबाट स्कुल पुग्न झण्डै एकघण्टा जंगलको बाटो हिँड्नुपर्छ । यद्यपि स्कुल जाँदा–आउँदा साथीहरु हुन्थे ।                                                 

घटना भएको दिन २ बजे पढाइ सकेर उनी स्कुलबाट हिँडिन् । तर, अरु दिनजस्तो उनी घर पुगिनन् । स्कुलबाट छुटेका साथीहरुले हामी कपाल काटेर आउँछौं, तिमी हिँड्दै गर भनेका थिए । हुन्छ भनेर हिँडेकी उनी घर नआएपछि आमा द्रोपदीले हारगुहार गरिन्, खोजीमा जुटिन् । तर, भागरथीको अत्तोपत्तो भएन ।

भोलिपल्ट बिहीबार स्कुलबाट फर्किएकाहरुले लबलेक सामुदायिक वनमा बनमारा झाडी माडिएको देखे । भागरथी हराएको थाहा पाएका उनीहरुले गाउँलेलाई खबर गरे । त्या पुगेर हेर्दा भागरथीको विभत्स किसिमले हत्या गरिएको थियो । 

उक्त घटनामा संलग्न रहेको पुष्टि भएपछि स्थानीय एक बालकलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लियो र हाल उनलाई बाल सुधार गृहमा राखिएको छ । तर, अझै पनि दोषी ठहर नभएकोले अनुसन्धान जारी छ । 

१० महिनामा दुई हजार ३ सय २१ बलात्कार

देशभर आर्थिक वर्ष २०७७-०७८ को पहिलो १० महिनामा जबरजस्ती करणीका दुई हजार ३ सय २१ वटा घटना भएको प्रहरीको तथ्यांक छ । नेपाल प्रहरीका प्रवक्ता वसन्त बहादुर कुँवरका अनुसार उक्त १० महिनाको अवधिमा सबैभन्दा बढी जबरजस्ती करणीका घटना प्रदेश १ मा पुष्टि भएको छ । 

०७७ को साउनदेखि ०७८ को जेठ महिना भरिमा प्रदेश १ मा ५५७ वटा जबरजस्ती करणीका घटना पुष्टि भएका छन् । त्यस्तै प्रदेश २ मा ३३९ वटा, बागमती प्रदेशमा २७१ वटा, गण्डकी प्रदेशमा १९०, कर्णाली प्रदेशमा ३९९ वटा र लुम्बिनी प्रदेशमा २१३ र सुदूरपश्चिम प्रदेशमा २१३ वटा गरी जम्मा दुई हजार ३ सय २१ वटा घटना घटना पुष्टि भएको प्रवक्ता कुँवरले बताए । 

कुँवरले उपलब्ध गराएको तथ्यांक अनुसार उक्त अवधिमा काठमाडौं उपत्यकामा मात्र २०९ वटा जबरजस्ती करणीका घटना पुष्टि भएको देखिन्छ । सोही अवधिमा महिला तथा बालबालिका विरुद्ध भएका अपराधहरू १६ हजार एक सय ९८ वटा रहेका छन् । जसमा ११ हजार ८ सय ६३ वटा घटना घरेलु हिंसाका रहेका छन् ।

 

 

 

 

प्रकाशित मिति : १० श्रावण २०७८, आईतवार १२:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।