सर्लाही । सर्लाहीको बागमती नगरपालिका १२ स्थित बनाइएको बागमती माछा पोखरी भरत तालका कारण स्थानीय सुकुम्बासी बाढीपीडित बनेका छन् । बर्सेनि बर्खा लागेसँगै तालको पानी बस्तीमा पस्ने र खेतिपाति नष्ट हुने गरेको सुकुम्बासीहरूको गुनासो छ ।
स्थानीय काजिराम टोलका सेते बोट तालका कारण आफ्नो घरजग्गा डुबानमा परेको बताउँछन् उनी भन्छन्, ‘ हाम्रो जग्गा डुबानमा परेको छ। तालको कारण पानी निकास हुन नसक्दा खेत डुब्यो । रेलवे र भरत तालको ड्यामले गर्दा पानी निकास हुन सकेन हाम्रो गरिखाने खेत नै डुब्यो ।’
उनको मात्र होइन उक्त तालका कारण राममाया माझीको पनि वर्षभरीलाई पुग्ने धानखेत डुबानमा परेको छ । सिँचाइका लागि बनाइएको नहरको पानी भरत तालमा हाल्ने गर्नाले पानी फर्केर आफ्नो बस्ती र खेतमा पस्ने उनकोे गुनासो छ । ‘त्यो तालले गर्दा हाम्रो घर खेत सबै डुबानमा परेको छ । पानीले निकास नपाउँदा घरभित्रै पस्छ । खानेकुरा पनि सबै बगाउँछ । कति दिन त हामी भोकै बस्नु पर्ने स्थिति रह्यो । हामीले रोपेको बाली खान पाएका छैनौं । किनेर खाइरहेका छौं,’ उनले भनिन् ।
तालले गर्दा बस्तुको चरणमा समेत समस्या परेको उनको भनाइ छ । ताल नहुँदा उक्त क्षेत्रमा स्थानीयले बस्तुभाउ चराउँदै आएका थिए । तर, पछि त्यहाँको ढुंगा गिट्टी बालुवा निकालेर पानी भरेपछि भने चरण क्षेत्र नै मासिएको उनी बताउँछिन् । ‘हामीलाई धेरै नै समस्या परेको छ । बस्तु चराउने ठाउँमा ताल बनाइदिएको छ । तालको विषयमा मेयरसँग कुरागर्दा हामीलाई के सुनाइरहेको त भन्छन्,’ अनलाइनपानासँग उनले भनिन्, ‘तालको पानी आएर पोहोर पनि सबैको घर डुब्यो । मेयरलाई हाम्रो घर डुब्यो एक पटक हेर्न हिड्नुस भन्दा सुन्दै सुनेनन् । हामीलाई के मतलव भन्छन् । तिमीहरूले हामीलाई भोट नै दिएका थियौ र भन्छन् । यसपाली त्यस्तो पानी परेन नत्र अहिले पनि उठीबास लाग्थ्यो ।’
त्यस्तै सोही बस्तीकी गीतामाया माझी पनि तालका कारण आफूहरू समस्यामा परेको बताउँछिन् । ‘नहरको पानी तालका लागि छोडिदिन्छन् । बर्खायाममा त्यो पानीले हाम्रो घर खेत सबै डुबाउँछ । तालको पानीको निकास राम्रो नबनाउँदा सबै फर्केर हाम्रो बस्तीमा आउँछ । अनि नहरको पानी पनि कहिलेकाही तालमा पठाइन्छ त्यसपछि त सबै हाम्रो घरतिर फर्किन्छ । बर्खामा त हाम्रो उठीबास नै लाग्छ,’ उनले भनिन् ।
उनीजस्तै अर्की पीडित हुन हेमकुमारी रानामगर उनको पनि तालको कारण वर्षदिनलाई पुग्ने धान नष्ट भयो । उनी भन्छिन् ‘ताल त बन्यो तर त्यसको कारणले गर्दा हाम्रो सबै खेत डुबानमा परिरहेको छ । धानखेत डुब्दा वर्षभरीको लागि पुग्ने खाद्यान्न सबै नष्ट भयो ।
तर, नगरपालिकाका प्रमुख भरत थापा भने यो सबै विरोधका लागि रचिएको षडयन्त्र भएको बताउँछन् । आफूले नै बसाएको बस्तीलाई के गर्नुपर्छ कस्तो गर्नुपर्छ भन्ने बारे आफूलाई हेक्का भएको उनको दाबी छ । ‘खेर गएको जमिनलाई सदुपयोग गरौं भनेर ताल बनाएका हौं । हामीले असुरक्षित हुन्छ कि भनेर सबै सुरक्षा मापदण्ड अपनाएर ताल बनाएका छौं । म मेयर भएपछि वास्तविक सुकुम्वासीको पहिचान गरेर उक्त क्षेत्र वरपर लगभग ७३ सय घरसहितको बस्ती बनाएका छौं । ताल बनेको नजिकै बाग्मती नदी छ भन्ने पनि हामीलाई थाहा छ,’ उनले भने, ‘बस्तीलाई कसरी सुरक्षित बनाउने भन्ने कुरामा पनि हामीले ध्यान दिएका छौं । ताल अझै निर्माणाीधीन भएकाले सबै काम सम्पन्न भएको छैन् । त्यसैले कहिलेकाँही पानी निकासमा समस्या देखिएको छ । तर, निर्माण सम्पन्न भइसक्दा यो सबै समस्या पनि हटेर जान्छ । के गर्नु पर्छ कसो गर्नुपर्छ भनेर हामीलाई राम्रोसँग थाहा छ ।’
उक्त क्षेत्रमा ताल बनेदेखि नै विभिन्न विवाद उत्पन्न हुँदै आएको छ । १ सय २१ बिगाहा क्षेत्रफलमा रहेको उक्त ताल निर्माणका क्रममा उत्खनन् गरिएको ढुंगा, गिट्टी तथा बालुवा मेयर थापाले व्यक्तिगत प्रयोजनको लागि विक्री वितरण गरेको र राजस्व हिनामिना गरेको भन्दै उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंमा उजुरी समेत परेको छ ।





















प्रतिक्रिया