स्थानीय चुनावको माहोल छाइसकेको थियो । कोही आफ्नो पार्टीनजिक पुगेर टिकट पाउने आश बोकिरहेका थिए । कति सोर्सफोर्स लगाइरहेका थिए । कतिले आफ्नै तरिकाले स्थानीय चुनावको तयारी गरिरहेका थिए । पहिलेको माहोलभन्दा फरक माहोल बनिरहेको थियो योपटकको स्थानीय चुनावमा । किनकि स्वतन्त्रहरू यस स्थानीय चुनावमा सरिक भइरहेका थिए ।
स्वतन्त्रमध्ये निकै चर्चामा रहेका भने बालेन साह थिए । नेपाली हिपअप सङ्गीतमा एक सेलिब्रेटी नै थिए । एक युवा जमातले बालेनलाई चिनिसकेका थिए । त्यसमाथि उनले दिएको उम्मेदवारीको क्षेत्र देशकै केन्द्रमा रहेको थियो । काठमाडौँ महानगरपालिकाबाट अघिल्ला मेयर विद्यासुन्दर शाक्यबाट महानगरवासी आजिद भएको प्रस्ट नै देखिएको थियो । तर आफ्नो कार्यकालमा तत्कालीन मेयर शाक्यले विभिन्न अन्तर्वार्तामा आफूले गरेको कामबाट महानगरवासी सन्तुष्ट रहेको बताएका थिए । तर कुन अवस्थामा सन्तुष्ट थिए भन्नेबारे चाहिँ महानगरवासीलाई नै थाहा नभएको अवस्था रहेको थियो ।
बालेन साहले आफ्नो उम्मेदवारी घोषणा गरेसँगै साथ र सर्मथनको ओइरो लागेको थियो । त्यसमाथि उनका भिजनहरू आम समुदायले विश्वासको तीर नै छातीमा गाडे । विभिन्न अनलाइन टिभीमा लिने अन्तर्वार्तामा उनले आफ्नो भिजन खुलस्त पारेका थिए । त्यसपछि उनलाई साथ र सहयोगको झनै बाढी आएको थियो ।
चुनाव नजिकिँदै जाँदा झनै माहोल उत्कृष्ट बन्दै गइरहेको थियो बालेनको लागि । विभिन्न अन्तर्वार्तामा उनले प्रस्तुत गरेका भिजनमा देशका युवाले आवाज उठाए । आफू बाहिर रहेर पनि आफ्ना परिवारकालाई लौरोमा नै भोट हाल्नु भन्ने सन्देश पठाए । माहोल बन्दै गयो ।
यसैबीचमा एमालेका मेयर पदका उम्मेद्वार केशव स्थापितले बालेन साहलाई विभिन्न तवरमा काउन्टर दिन थालेका थिए । आफू टेस्टेड मेयर भइसकेको कारणले आफूले नै चुनाव जित्ने कुरामा उनी ढुक्क रहेको अभिव्यक्ति दिन्थे । त्यसरी नै उनले बालेनप्रति आरोप लगाएका थिए, जात धर्मसमेत उनीमाथि जोडिएको थियो ।
तर बालेनले आफूमाथि लगाएको आरोप र खण्डनलाई बुवाले दिएको आर्शीवाद हो शिरोपर गर्छु भनिरहे । उनको अभिव्यक्तिले उनको चुनावी यात्राले यस्ता अभिव्यक्तिले झन् सहयोग गर्दै गर्यो ।
त्यसैगरी बालेनलाई एमालेकी उप मेयरले हियाउने शैलीमा “गीत गाउनेहरु पनि आउनुभएको छ । हामीले जितेपछि मञ्च बनाएर वहाँलाई गीत गाउन बोलाउँछौँ ।” भनेकी थिइन् । तर उपमयेर अहिले बालेनकै कार्यदलमा रहेर काम गरिरहेकी छिन् ।
चुनाव आयो, मान्छेले मत खसाले चुनाव सकियो ।
बालेनले सुरुवाती समयबाट नै आफ्नो मत अग्रस्थानमा राखे । मतगणनास्थल राष्ट्रिय सभा गृहमा युवाहरू रातदिन बसे । विपक्षी पार्टीकाहरू कोर एरिया कोर एरिया भन्दै कराइरहेका थिए । मत गन्ने क्रममा कोर एरियाको पनि पालो आयो तर त्यहाँ पनि बालेनले आफ्नो मतलाई अग्रस्थानमा नै राखे र सहजै चुनाव जिते ।
महानगरको समस्याको अगाडि देखिएको पाटो फोहोर व्यवस्थापन हो । बालेनले चुनाव जितेपछि पहिला बन्चरे डाँडा गएका थिए । बिस्तारै फोहोरको व्यवस्थापन हुँदै थियो । तर फोहोर व्यवस्थापन गर्ने क्षेत्रका स्थानीयले आफ्नो माग अगि सारेर अवरोध गरे । त्यो अवरोधलाई बिस्तारै राजनीतिले पूरै गिजोलेको छ ।
वर्षौँसम्म नमिलेको फोहोर व्यवस्थापन जालोलाई मान्छेहरुले बालेन मेयर बनेपछि स्वतः जादुको छडीले हटाएझैँ हटाइदिन्छन् भन्ने भ्रममा बसे । वास्तवमा त्यो फोहोर व्यवस्थापनका लागि समय चाहिन्छ नै यो हामीले बुझ्न सकेका छैनौ । त्यसमाथि केन्द्रीय दलले गाँजेको फोहोर व्यवस्थापनलाई छिटै सुल्झाउन आवश्यक छ ।
बालेनले आफ्नो आलोचना गर्नेलाई चुनाव अगाडि गर्ने व्यवहार र मेयर भइसकेपछि आलोचना गर्नेलाई गर्ने व्यवहारमा अलिक फरक रहेको हो कि भन्ने मत रहेको छ । केही दिन अगाडि धरान उपमहानगरका मेयर हर्क राइ काठमाडौँ आएका थिए । उनले काठमाडौँमा देखेको फोहोरलाई मन्त्री बस्ने ठाउँभन्दा त हाम्रो धरान नै सफा भन्ने अभिव्यक्ति दिएका थिए । धरान फर्केपछि उनको स्टाटसमा काठमाडौँ महानगरका बालेन र धरान उपमहानगरका मेयरबिच जुहारी नै चलेको थियो ।
हर्क र बालेन दुवै स्वतन्त्रबाट चुनाव जितेका मेयर हुन् । तर हर्क साम्पाङले बालेनलाई आफ्नो प्रतिस्पर्धीको रुपमा हेरेको छन् भन्ने उनका पछिल्ला स्टाटसहरूले प्रमाणित गर्दै आइरहेको देखिन्छ ।
















प्रतिक्रिया