Logo

प्रदेश न. १

झापा–३ मा ओली र लिङ्देन मिलेमा सिटौलालाई चुनाव कठिन, यस्तो छ चुनावी अंकगणित



काठमाडौं । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभाको चुनाव नजिकिदै गर्दा प्रदेश न १ को झापा क्षेत्र नं ३ लाई बिषेश चासोका साथ हेरिन थालिसकेको छ । यो क्षेत्रबाट २०७४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र प्रसाद लिङ्देन विजयी भएका थिए । लिङ्देनको यही जीतले उनलाई राप्रपाको अध्यक्षसम्म बनायो ।

लिङ्देनले नेपाली कांग्रेसका प्रभावशाली नेतासमेत रहेका पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलालाई १३ हजार मतान्तरले पराजित गरेका थिए । लिङ्देनलाई त्यतिबेला नेकपा एमालेको पनि साथ रहेको थियो । उनले पनि केपी शर्मा ओलीलाई झापा ५ बाट चुनाव जित्न सघाएका थिए ।

२०७९ को मंसिर ४ मा हुने चुनावमा फेरि लिङ्देन र सिटौला आमनेसामने हुने सम्भावना बढेको छ । लिङ्देनले ओलीसँग चुनावी तालमेल गर्ने संकेत गरिसकेका छन् । सिटौला चुनावमा उम्मेदवार बनेमा सत्ता गठबन्धनमा रहेका दलहरुको बलियो साथ हुने देखिएको छ । २०७४ को चुनावी परिणामलाई मध्ये नजर गर्दा सिटौलालाई लिङ्देनमाथि जीत हासिल गर्न कठिन देखिन्छ ।

स्थानीय तहको चुनावलाई आधार मान्दा झापा ३ मा पर्ने मेचीनगरको मेयरमा एमाले विजयी भएको छ । त्यहाँ एमाले र राप्रपाको मत जोड्दा गठबन्धन दलको मत ९ हजारले बढी हुन्छ । झापा ३ मा पर्ने भद्रपुर ९ र १० को वडाध्यक्षमा एमाले र राप्रपाको मत जोड्दा कांग्रेससहितको गठबन्धनको भन्दा बढी हुन्छ ।

बुद्धशान्ति गाउँपालिकाको ४ देखि ७ वडासम्म वडाध्यक्षले पाएको मत जोड्दा पनि कांग्रेससहितको गठबन्धनको मत एमाले र राप्रपाको मिलाउँदा भन्दा कम हुन्छ ।

२०७४ को प्रतिनिधि सभा चुनाव र स्थानीय चुनावमा दलहरुले पाएको मतलाई आधार मान्दा गठबन्धनबाट सिटौला उम्मेदवार बनेमा सजिलो नहुने देखिएको छ । लिङ्देनलाई पनि एक्लै चुनाव लडेर जित्न मुश्किल छ । उनलाई पनि ओलीको साथ चाहिन्छ । ओली र लिङ्देन मिलेमा सिटौलालाई चुनाव कठिन हुने देखिएको छ ।

प्रकाशित मिति : भाद्र ३, २०७९ शुक्रबार  ७ : ०६ बजे