सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले संघीय व्यवस्थालाई अझै बलियो र प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् । शनिवार प्रदेश स्थापना तथा शहीद दिवस–२०७९ को शुभकामना सन्देश दिँदै उनले संघीय सरकारले प्रदेशलाई आवश्यक अधिकार नदिएर आफैसँग निहित गरेको बताएका हुन् ।
मुख्यमन्त्री शाहीले प्रदेश प्राप्तिको आन्दोलनको मर्म र शहीदको सपना पूरा गर्नका लागि पनि प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनु पर्ने बताएका छन् । प्रदेश प्राप्तिको आन्दोलनका क्रममा ज्यानको आहुति दिने शहीदको सम्झनामा कर्णाली प्रदेश सरकारले ‘शहीद स्मारक पार्क’ स्थापनासमेत गरेको मुख्यमन्त्री शाहीले बताए ।
साथै सरकारले शहीद परिवारका सन्ततिका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालन र चालु आर्थिक वर्षदेखि शहीद परिवार भत्ताको समेत व्यवस्था गरिएको बताएको छ । राज्य पुनर्संरचनाका क्रममा कर्णालीलाई छुट्टै प्रदेशको माग गर्दै आन्दोलन भएको थियो । हालको कर्णाली र सुदुरपश्चिम प्रदेशलाई एउटै बनाउने गरि भएको निर्णयको विरोधमा कर्णालीले गरेको आन्दोलनको फलस्वरुप नै अहिले कर्णाली प्रदेश प्राप्त भएको थियो ।
प्रदेश प्राप्तिको आन्दोलनका क्रममा सुर्खेतका टीकाराम गौतम, यामबहादुर विसी, गोपालसिंह रजवार र जुम्लाका हरिबहादुर कुवँरको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो ।




















प्रतिक्रिया