Logo

सम्पादकीय

सम्पादकीय : समाजवादी चिन्तक गिरीप्रति श्रद्धाञ्जली



नेपाली राजनीतिमा विलक्षण प्रतिभाको रुपमा चिनिएका नेता हुन्, प्रदीप गिरी । उनको निधनबाट नेपाली राजनीतिमा बौद्धिकताको क्षति भएको देखिन्छ ।

नेपाली कांग्रेसको छत्रछायामा बसेर भए पनि गिरीले सबै क्षेत्र र समुदायलाई समेटेका थिए ।

वैचारिक स्पष्टता र सैद्धान्तिक दृढताको खडेरी परेको समसामयिक नेपाली राजनीतिमा प्रदीप गिरीसँग दाजिन सक्ने स्पष्ट र दृढ राजनीतिकर्मी अर्को छैन भन्नु अत्युक्ति हुँदैन । उनको अग्रज पुस्तामा पनि गिरीसँग दाँज्न मिल्नेहरू बिरलै भेटिन्छन् ।

नेपाली समाजमा गिरिले राजनीतिक संस्कृतिको बेग्लै बाटो बनाएर छाडेका छन् । उनले परम्परागत आदर्शका धेरै मापदण्ड भत्काएका छन् भने अपेक्षाकृत कठिन तर स्वतन्त्र जीवनशैलीको पदचिह्न छाडेका छन् ।

गिरिको निधनपछि व्यक्त शोक र श्रद्धाका शब्दहरूले नै उनको व्यक्तित्व विवाद र सैद्धान्तिक विभेदभन्दा माथि रहेको पुष्टि गरेको छ । देशका प्रखर बौद्धिकहरूदेखि जनसाधारणसम्म एकै नासले गिरिको निधनमा शोकसन्तप्त देखिए ।

यति व्यापक श्रद्धा र सम्मान प्रदीप गिरिको आफ्नै आर्जन हो । सम्भ्रान्त परिवारमा जन्मे हुर्केर पनि गिरि सदैव निर्धाहरूको पक्षमा रहे । ‘समाजवाद’ नाम दिइएको उनको चिन्तन र राजनीति जनसाधारणको पक्षमा समर्पित रह्यो ।

उनी नेपाली राजनीतिमा निकै अग्ला कदका नेता थिए । प्रखर बौद्धिक व्यक्तित्व थिए । प्रदीप गिरी बीपी कोइरालापछिका समाजवादी चिन्तक र बौद्धिक व्यक्तित्व थिए । उनलाई हार्दिक श्रद्धासुमन ।

प्रकाशित मिति : भाद्र ५, २०७९ आईतबार  १२ : १५ बजे