जनता समाजवादी पार्टी (जसपा) बाट महन्थ ठाकुरको समूहमा लाग्दै लुम्बिनी प्रदेश सरकारमा सहभागी तीन मन्त्रीहरु सांसदबाट पदमुक्त भएका छन् । शुक्रबार प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचना अनुसार उनीहरुको संसद पद गुमेको हो ।
एमाले नेता शंकर खोरेल नेतृत्वको सरकारमा रहेका मन्त्रीहरु सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको पुनद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
लुम्बिनी प्रदेशमा जसपाका ६ जना सांसद रहेका छन् । जसमा एमालेको सरकारलाई समर्थन गर्दै तीन जना मन्त्री बनेका थिए भने ३ जना विपक्षी गठबन्धन दलतिर लागेका थिए ।
जसपाको केन्द्रको विवादको टुंगो नलाग्दै उपेन्द्र यादव पक्षले यी तीन जनालाई कारवाही गरेको थियो । त्यसपछि उनीहरु सर्वोच्च अदालतमा गएर पुनर्बहाली भएका थिए । तर अहिले यादवले पार्टीको आधिकारिकता प्राप्त गरेपछि फेरि पार्टीको निर्देशन नमानेको भन्दै कारवाही गरेको प्रदेश सभामा पत्र पठाएको छ ।





















प्रतिक्रिया