नयाँ शैक्षिक सत्र सुरु भएको पाँच महिना पुगनपुग भयो । नेपाल सरकारको जिम्मेवार निकाय भने कुन जिल्लाका कुन विद्यालयमा कति पाठ्यपुस्तक अपुग भएको भन्ने सूचना मागिरहेको छ । विद्यालय तहका पाठ्यपुस्तक निःशुल्क उपलब्ध हुने व्यवस्थाबमोजिम कक्षा १ देखि ३ सम्म निजी क्षेत्रका मुद्रण व्यावसायी र कक्षा ४ देखि १० सम्म सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले उत्पादन र वितरणको जिम्मेवारी पाएका छन् ।
निजी क्षेत्रले माथिल्लो तहका पाठ्यपुस्तक पनि छपाइ गरिरहेका छन् । विद्यार्थीले समयमा पाठ्यपुस्तक नपाएको विषय सङ्घीय संसद् र सञ्चारमाध्यममा दैनिकजसो उठिरहेका बेला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्र भने आफूले छाप्न बाँकी रहेकाबाहेक छापिइसकेका पुुस्तक पनि सम्बन्धित विद्यालयमा नपुगेको जनाइरहेका छन् ।
त्यसो त कयौँ वर्ष हाम्रा नाङ्गा आँखाले पुस्तकबिना नै विद्यार्थीले आफ्नो अध्ययन पूरा गरेको देखेका छौँ ।
जनक शिक्षाले वर्षेनि एक करोड ९८ लाख थान पाठ्यपुस्तक छाप्छ । हालसम्म करिब ८५ प्रतिशत पाठ्यपुस्तक छापेर वितरण गरिसकेको छ । अब १५, २० लाख थान पाठ्यपुस्तक छाप्न बाँकी छ । केन्द्रले असारको दोस्रो सातासम्ममा छापेर वितरण गरिसक्ने जनाएको छ । विगतका वर्षमा केन्द्रको खस्किँदो आर्थिक अवस्थाले समयमै कागज खरिद गर्न सक्दैनथ्यो । यसपालि कोभिड १९ को विश्वव्यापी प्रकोप, युक्रेनमाथि रुसी हमला लगायतका कारण विश्वभर कागजको अभाव हुन गयो । कागजको कच्चा पदार्थ पल्प उत्पादन अधिकांश रुस र युरोपियन मुलुकमा हुने गर्छ । युक्रेन युद्धका कारण यूरोपबाट कागजको आपूर्ति विश्वभर अवरुद्ध हुन पुग्यो । त्यसको असर नेपालमा पनि पर्न गयो । कागजको भाउ डेढीले बढेको छ । ठेक्का लिएका आपूर्तिकर्ताले समयमै आपूर्ति गर्न सकेनन्, जरिवाना तिरेर बसेका छन् ।
जनक शिक्षाले एक वर्षको पाठ्यपुस्तक छपाई गर्ने कागज मात्र टेण्डर गर्दै आएको छ ।
दशैँ आएपछि बालबालिका फुर्केझैँ चुनाव आउँदा जनक शिक्षा सामाग्री किन फुर्किन्छ थाहा छैन । धान असारमै रोप्ने हो भन्ने थाहा भएझैँ जनक शिक्षाले नयाँ शैक्षिक सत्रमा पुस्तक आवश्यक पर्छ समयमै पुस्तक छाप्नुपर्छ भन्ने किन थाहा पाउँदैन ?
तर जब जब चुनाब आउँछ तब जनक शिक्षाले मतपत्र छापेर दुर्गम भनिएका कर्णालीमा मतपत्र पुर्याउन कुनै आइतबार पर्खदैन । तर पुस्तकको कुरा आउँदा जनक शिक्षालाई कसले पुस्तक पुर्याउन बाटोमै रोक्छ ?
गएको स्थानीय चुनाव र नयाँ शैक्षिक सत्र सँगसँगै सुरु भयो । तर मतपत्र पुग्यो पुस्तक पुगेन । अब मंसिरमा चुनाव आउँदैछ उसले पुर्याउने टाउँमा फेरि समयमै मतपत्र पुग्छ तर पुस्तक पूर्ण रुपमा पुगेको हुँदैन । यो सत्य हो ।
विद्यार्थीको भविष्य पुस्तक र नेताको भविष्य मतपत्रमा जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले किन लापरवाही गर्छ ? यसको जड पत्ता लगाउन अत्यन्तै आवश्यक रहेको देखिन्छ ।
प्रतिक्रिया