Logo

लोकसेवा

श्रीमतीकै कर्म पछ्याउँदै लोकसेवा लडेका रानाभाट



तनहुँका चिन बहादुर रानाभाट हाल आरुघाट गाउँपालिकाको प्रशासकीय अधिकृतको रुपमा कार्यरत रहेका छन् । सुरुका दिनमा लोकसेवाप्रति खासै चासो नदेखाएका उनले अहिले लोकसेवाकै माध्यमबाट देशको सेवा गरिरहेका छन् ।

विसं २०७० तिर मास्टर्स गर्दा ताका उनी स्थायी शिक्षक भइसकेको थिए । त्यो बेला पनि उनका साथीहरू निजामतीतिर जाने कुरा गर्थे तर उनलाई निजामतीले खै खासै तानेन ।

शिक्षण पेसामा नै उनको मन बस्यो । तर समय सधैँ उस्तै भएन । चिनबहादुरकी श्रीमती निजामतीमा थिइन् । चिनबहादुरलाई पनि निजामतीले नै तान्यो । २०७३ सालमा परीक्षा दिए तर सोचेजस्तो नतिजा आएन । प्रयासमा हार मान्नु हुँदैन भन्ने बुझेका रानाभाटले निरन्तर आफूलाई मजबुद बनाउँदै गए । उनले २०७६ मा लोकसेवा पास गरे । तर परीक्षाफल भने कुर्न झण्डै ६ महिना लाग्यो ।

रसायनका विद्यार्थी भएका कारण उनलाई परीक्षामा त्यति गाह्रो भने भएन । सामाजिक काममा पनि अग्रसर रहने, समाचार सुनिरहने रानाभाटलाई पहिलो परीक्षाले ठगे पनि दोस्रोपटक प्रयासलाई भने ठग्न सकेन । आफू शिक्षक भएका कारण विद्यार्थीले कस्तो लेखे नम्बर दिन मन लाग्थ्यो त्यो उनले अनुभव गरेका थिए । त्यसैले उनले लोकसेवामा विद्यार्थीबाट चाहेको जसरी आफ्नो परीक्षा लेखे ।

चिनबहादुरले प्रायजसो सुरेश अधिकारीको पुस्तक पढेका हुन् । उनका अनुसार उनले आफू परीक्षाको लागि तयार भएकै कारण आफू सफल भएको बताउँछन् ।

केही सुझाबहरू
१. निजामतीको लागि लोकसेवाले लिने परीक्षा उतीर्ण गर्न सोचेजस्तो चाहिँ सहज छैन । विद्यालय वा विश्वविद्यालय पास गर्न गरिने मिहेनत लोकसेवाको लागि अपुग छ । त्यसैले मिहेनतको लागि मानसिक रुपमा तयार रहनु आवश्यक छ ।

२.विविध विधाबाट अनेकौँ प्रश्न सोधिने भएकाले आफ्नो अध्ययनको पाटो निकै फराकिलो बनाउन आवश्यक छ ।

३. आफूले परीक्षा दिन खोजेको क्षेत्रको अध्ययन सामाग्री तयार गर्न आवश्यक छ ।

४. आफूलाई पूर्णरुपमा तयार राख्नुपर्छ । परीक्षामा यो आउँछ यो आउँदैन भन्ने तवरबाट पढियो भने असफल हुने सम्भावना ज्यादै हुन्छ ।

५. पढेको विषयमा निश्चिन्त हुनुपर्छ । वस्तुगत प्रश्नहरूमा उस्तै उस्तै उत्तर रहने गरीका प्रश्न रहन्छन् , त्यसैले आफू पढ्दा सुरुवातबाट नै दोधार नभई अध्ययन गर्नुपर्दछ ।

६. सृजनात्मक तथा मौलिक जवाफमा केन्द्रीत रहनुपर्छ । प्रश्नले मागेजति मात्र जवाफ दिनुपर्दछ ।

७. देखिसक्दा माछा सबैले मार्छन् तर माछा मार्ने विधि जाने माछा खोजेर भए पनि मार्न सकिन्छ । यसको मतलब घोक्नु नै सबै थाहा हुनु होइन यदि घोकेको प्रश्न आए जवाफ दिन सकिएला तर अन्य प्रश्न आए के गर्ने ? त्यसैले आफूले विधि सिक्न आवश्यक रहेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलवार ०६:३०   :  बजे

7.7K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।