Logo

विचार / ब्लग

हर्क साम्पाङ : आशलाग्दो केटो ‘जेठाजु’ परेको हो ?



राजनीतिक दलहरूले आँखा चिम्लिएका नागरिकका समस्या र स्थानीय बेथितिलाई नै मुख्य मुद्दा बनाएर अभियान चलाउँदै आएका हर्क साम्पाङले धरान उपमहानगरका स्वतन्त्र उम्मेदवारका रूपमा धेरैले नसोचेको जनमत पाएर जितेका थिए । धरान उपमहानगरपालिकाको मतगणना सुरू भएयता गणना स्थल पब्लिक हाइस्कूलको मैदानमा दैनिक पाँच सय हाराहारी मानिस जम्मा हुन्थे । मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ पनि त्यही भीडमा यताउता टहलिइरहेका भेटिन्थे ।

अनन्तः उनले नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई चार हजार ७६२ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । निर्वाचित राईले २० हजार ८२१ मत पाउँदा किशोरले १६ हजार ५९ मत पाएर धरान उप–महानगरको प्रमुख पद सम्हालेका हुन ।

उनको यो जितको यात्रा सहज भने थिएन । चुनावअघि सामान्य अभियानकर्ताको छवि बनाएका राई नगरप्रमुख बन्लान् भन्ने धेरै धरानवासीले सोचेका पनि थिएनन् ।

टेम्पु चलाएर माइकिङ गर्दै उनी एक्लै घरदैलोमा हिँडेको देखिने र मूलधारका पार्टीहरूले काम नगरेकाले आफूलाई मौका दिन अनुरोध गर्दै मत मागेका भिडिओहरू सामाजिक सञ्जालमा अहिले पनि भेट्न सकिन्छ ।

चुनाव चिह्न लौरो लिएर प्रतिस्पर्धामा होमिएका साम्पाङ्ले आफूलाई धरानवासी जनताका लागि न्यायको आवाज उठाउँदै हिँड्ने मान्छेका रूपमा प्रस्तुत गर्दै आएका छन् । खोटाङबाट एसएलसी सकेर धरान झरेका साम्पाङ्ले धरानबाट स्नातक तहको अध्ययन पूरा गरेका थिए ।

कुनै बेला वैदेशिक रोजगारीका लागि इराक समेत पुगेका उनले पछिल्लो एक दशक आफूलाई सामाजिक मुद्दाहरूमा केन्द्रित गरेका थिए । वि.सं. २०७४ सालको उपनिर्वचानमा स्वतन्त्र उम्मेदवार बन्दा उनले जम्मा ५४० मत ल्याएका थिए । ’हर्क साम्पाङ् अ रिभोलुशन’ नामक फेसबुक पेजमा राखिएको यस पटकको उनको घोषणापत्रमा खानेपानीको तत्काल सुधारसहित सुशासन र भ्रष्टाचारमुक्त धरान निर्माणका लागि २७ बुँदे प्रतिबद्धता व्यक्त गरिएको थियो ।

त्यसो त कुनै टोलमा खानेपानी आएन भने तुरुन्तै हर्क साम्पाङलाई फोन आउँथ्यो। उनी समस्या बुझेर धरान खानेपानी व्यवस्थापन बोर्डका प्रमुखलाई फोन गरी उनीसँग भएको कुरा फेसबूक मार्फत लाइभ गर्थे । सरकारी कार्यालयका सेवा–सुविधामा समस्या हुँदा पनि मान्छेहरू उनलाई नै गुहार्थे । उनी पनि समस्या भएका ठाउँमा गएर सम्बद्ध कर्मचारीसँग कडा कुरा गर्थे र समस्या समाधान गराउँथे। समाधान नभए आन्दोलन सुरू हुन्थ्यो ।

पछिल्लो समय उनी खानेपानीको समस्यामा बढी केन्द्रित थिए । यस पटकको निर्वाचनमा उनले चुनावचिह्न धारा मागेका थिए । तर, धारा अर्कै उम्मेदवारले लगेपछि उनले चुनावचिह्न लौरो पाएका थिए । यस स्थानीय चुनावमा लौरो प्रभाव बढी नै देखिएकाले साम्पाङलाई चुनाव प्रचारमा पनि अलिक सहज भएको देख्न सकिन्छ ।

मेयर बालेनले ‘मैले चुनाव चिन्ह पनि तपाईँकै भएर जितेको हो नि’ भन्ने तर्क दिए

तर समय उस्तै बगेन कि भन्ने भान अहिले हर्क साम्पाङलाई देख्दा कताकता लाग्ने गरेको छ ।

त्यसो त मेयर हर्क साम्पाङ सामाजिक सञ्जालमा पहिल्यैबाट निकै सक्रिय व्यक्ति हुन् । उनले स्थानीयको चुनाव जितेपछि झनै सक्रिय भएर लागेको देख्न सकिन्छ ।

आफ्नो अबिर पनि राम्रोसँग नपुछ्दै उनी धरानवासीको खानेपानीको लागि सर्दु खोलामा पुगेका थिए । उनको त्यो निर्णयको लागि संसारभर रहेका नेपालीले उनको गुणगान गए ।

त्यसो त उनी मिडियामा प्रस्ट बोल्ने वक्ताको रुपमा लिइन्छ । उनको अभिव्यक्तिको प्रसंसा गर्ने निकै नै रहेका छन् तर तिनै प्रशंसकले आजकाल किन मेयर हर्क साम्पाङको आलोचना गरिरहेका छन् भन्ने कुरा बुझ्न आवश्यक रहेको छ ।
कथा यस्तो छ –

सामान्यता मेयर हर्क साम्पाङले फेसबुकमा स्टाटस राख्नु कुनै नौलो कुरा थिएन । जब उनको यात्रा मेयर बनेपछि काठमाडौँसम्मको भयो तब उनको प्रत्येक शब्दको मापन हुन सुरु भयो ।

जब साम्पाङ काठमाडौँ झरे तब उनको पहिलो स्टाटस फोहोरलक्षित थियो । त्यसपछि सुरु भएको थियो हर्क साम्पाङको शब्दको मापन ।

किनकि काठमाडौँमा फोहोर नउठेको महिनौँ भइसकेको थियो । आमा जनताले देख्ने गरी फोहोरमाथि राजनीति भइरहेको थियो । मेयर बालेनले सक्ने कोसिस गरिरहेका थिए । तर सम्भव भने भएको थिएन ।

त्यसैबिचमा स्वतन्त्र मेयर हर्क साम्पाङको काठमाडौँ आगमन भयो । यता काठमाडौँ महानगरका मेयर बालेन पनि स्वतन्त्र नै छन् । सरसर्ती हेर्दा साम्पाङका स्टाटस प्रतिस्पर्धाको रुपमा लेखिएका देखिन्छन् ।

फोहोर व्यवस्थापनमा महानगर जुटिरहेको थियो । केही समयबाट फोहोर उठ्न सुरु भयो । साम्पाङ आफ्नो क्षेत्र पुगिसकेका थिए । उनले उतैबाट ‘म गएपछि काठमाडौँको फोहोर उठ्यो’ भन्ने तर्क राखे त्यही तर्कको कमेन्टमा महानगरका मेयर बालेनले ‘मैले चुनाव चिन्ह पनि तपाईँकै भएर जितेको हो नि’ भन्ने तर्क दिए । एक खालको जुहारी नै चल्यो । त्यसपछि मेयर बालेन मौन भए । तर ठीक विपरीत हर्क साम्पाङ भने झनै उग्र रुपमा प्रस्तुत भए ।

उनको स्टाटसको खोला नै बगिरहेको अवस्था छ । दैनिक २५/३० वटा स्टाटस मेयर हर्क साम्पाङबाट आउने गरेको छ । ती प्राय काठमाडौँ लक्षित नै रहेको देखिन्छ ।

स्वतन्त्र मेयर हर्क साम्पाङलाई अहिले सञ्जालबाट नै सही सारा नेपालीले प्रस्टसँग हेरिरहेका छन् । उनले आफ्नो संयमता जोगाउन आवश्यक रहेको देखिन्छ । धरानले उनलाई धेरै भरोसा गरेर उक्त सिटमा पठाएको छ । जुन कुरा उनले भुल्नु हुँदैन ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलवार १४:०१   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।