Logo

अनलाइनपाना खोज

एनएमबी बैंकको मनोमानी : पहुँचवालाले एक दिनमै पाउने सेवा सर्वसाधारणलाई एक महिना



काठमाडौं । एनएमबी बैंककी ग्राहक सिर्जना वाग्लेको करिब दुई महिना अघि एटीएम कार्ड हरायो । एटीएम कार्ड हराएपछि जो–कोहीको विकल्प बैंकमा खबर गर्ने र अर्को बनाउने नै हुन्छ । चौबीसै घण्टा सहजै सेवा प्राप्त गर्न सकिने महत्वपूर्ण कार्ड बैंकले पुनः छिट्टै उलब्ध गरावस् भन्ने ग्राहकलाई चाहना हुनु अस्वभाविक होइन । यही चाहनाका साथ वाग्लेले एनएमबी बैंकको बबरमहल शाखामा पुगिन् ।

त्यहाँ उनले आफ्नो एटीएम कार्ड हराएको जानकारी गराउँदै अर्को एटीएम लिनका लागि फर्म भरिन् । तर बैंकककी कर्मचारी रीतु सापकोटाले भनिन् – तपाईंको एटीएम बन्न कम्तिमा एक महिना लाग्छ ।

सामान्यतयाः सबैजसो बैंकले एक–डेढ हप्तामा आफ्नो ग्राहकलाई एटीएम कार्ड उपलब्ध गराउँछन् । यस्तो बेला एनएमबी बैंक बबरमहलले एक महिना लाग्छ भनिदिँदा आश्चर्यचकित हुँदै उनी फर्किइन् । आर्थिक बिटमै कलम चलाउने पत्रकारसमेत रहेकी उनले बैंकको जवाफप्रति चित्त बुझाएर नबस्ने निर्णय गरिन् । एक महिना कुर्दा आफूलाई आर्थिक कारोबार गर्न समस्या हुने ठहर गर्दै यसबारे थप सोधखोज गर्ने निर्णयमा उनी पुगिन् ।

लगत्तै (भदौ १० गते शुक्रबार) उनले बैंकको यस किसिमको जावाफ र ढिलासुस्तीप्रति प्रश्न उठाउँदै एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सँग एक जना पत्रकार साथि मार्फत कुरा राखिन् । जवाफमा एनएमबीका सीईओ सुनील केसीले भने– कुन शाखामा हो ? जवाफमा सिर्जनाले भनिन्– बबरमहल । त्यसपछि सीईओ केसीले फेरि भने– हुन्छ, म बुझेर भोलि खबर गर्छु ।

सीईओसँगको यो सोधीखोजीपछि (भदौ १४ गते) तीजको दिन बैंकबाट उनलाई फोन आयो । सीईओसम्म पुगेको विषयलाई लिएर बैंकको सम्बन्धित शाखाका इन्चार्ज किरण झाबाट आएको फोनमा गुनासोयुक्त शैलीमा भनियो– तपाईंले माथि कम्प्लेन गर्नुभएछ किन गर्नुभएको हाम्रोमा बाहिरबाट ल्याउनुपर्ने कार्डमा प्रयोग हुने चिपको अभाबको कारणले गर्दा एक महिना लाग्छ भनेका हौं ।

फेरि झाले भने तलका कर्मचारीले नबुझेर अनुमानका आधारमा एक महिना लाग्छ भनेको हुनुपर्छ । तर केहिदिनमा तपाईको कार्ड बन्छ ढुक्क हुनुस् उनले भने । कुराकानीका सिलसिलामा वाग्लेले यसरी एउटा कार्ड बन्न महिनौंसम्म लाग्ने कुराले कम्पनीको रेपोटेशन खराब हुने र प्रतिस्पर्धात्मक बजारमा ग्राहकले बैंक प्रति हेर्ने दृष्ट्रिकोण नकारात्मक हुने भन्दै यथासिघ्र यो समस्या समाधान गर्न सुझाब समेत दिईन् र फोन राखिन् ।

केहि समयको अन्तरालपछि उनलाई फेरि बैंकबाट फोन आयो ‘तपाइको कार्ड बनेकने छ लिन आउनुस्’ उनी अचम्म मान्दै हुन्छ भन्दै फोन राखिन् ।

यहाँनिर बैंकको बुझाइ गलत सावित हुन पुग्यो । किनभने बैंकले अन्य सर्वसाधारण ग्राहक जस्तै ठानेर सिर्जनालाई पनि एक महिना कुर्न भनेको थियो । तर उनी एक शिक्षित नारी मात्र थिइनन्, एक व्यवसायिक मिडियामा कार्यरत पत्रकारसमेत थिइन् ।

पत्रकारितमा पनि उनले आर्थिक बिटमै कलम चलाउने हुँदा यस सम्बन्धिका कुरा बुझ्न र बैंकको सेवाप्रतिको असन्तुष्टिबारे कम्प्लेन गर्न सीईओसम्म पुग्न समस्या नै भएन । सिर्जना भन्छिन्, ‘सुरुमै एक–डेढ हप्ता भनिएको भए म सहजै कुर्थेँ । यो विषय सीईओसम्म पुग्ने नै थिएन । मैले किन कम्प्लेन गर्थेँ र ?’

कम्प्लेन गरिएको बिषयमा गुनासो पोख्दै सिर्जनालाई एनएमबीको बबरमहल शाखाले गरेको फोनमा भनियो थियो– अब एक हप्ता लाग्छ । एक महिना भनिएकोमा सीईओसम्मको कम्प्लेन र त्यसपछि सीईओको निर्देशनपछि हुनुपर्छ, समयावधि घटाएर एक हप्तामा झारियो । अब एटीएम कार्ड पाउन उनले कमसेकम अर्को एक हप्ता भने कुर्नु पर्ने भयो । तर सहजै हुने कामका लागि पनि बैंक तथा वित्तीय संस्थाहरु तथा विभिन्न सरकारी निकायले सर्वसाधरणप्रति गर्ने नराम्रो व्यवहार, अनावश्यक समय लिने र रुखो बोल्ने प्रवृत्तिबारे जानकार उनले भनिदिइन्– म मिडिया पर्सन पनि हो ।

अहिलेसम्म सामान्य एउटा महिला ग्राहक ठानिरहेको बैंकले अब सिर्जना पत्रकार रहेछिन् भन्ने थाहा पायो । फोन राखियो । तर त्यसपछि पुनः केही छिनमै अर्को फोन आयो । जसले उनलाई आश्चर्यचकित बनायो । फोनमा भनियो– तपाईंको एटीएम कार्ड रेडी छ । लिन आउनुस् । ‘भर्खरै एक हप्ता लाग्छ भनिएको थियो । फेरि केही छिन पछि तयारी भइसक्यो, लिन आउनु भन्ने फोन आयो’, उनी भन्छिन्, ‘एक हप्ता लाग्ने काम केही छिन मै भयो भन्दा त म आश्चर्यचकित भएँ ।’

कमसेकम एक हप्ता लाग्ने काम केहीछिनमै हुनु तपाईं हाम्रो लागि पनि कम आश्चर्यजनक चाहिँ होइन । एनएमबी शाखा बबरमहलको यो व्यवहारबाट आम सर्वसाधारणले यस बैंकबाट समान सेवा पाउन नसक्ने कुरालाई पुष्टि गर्छ । बैंकबाट सेवा प्राप्त गर्न व्यक्तिको परिचय वा सोर्सफोर्स प्रमुख ठानिन्छ र बनाइन्छ भने आम सर्वसाधारणले यस्ता बैंक तथा वित्तीय संस्थाबाट कसरी सेवा लिने ? बैंकले चाह्यो भने छिनभरमै हुने सेवा पाउन पूरै एक महिना कुर्ने ? माथि उल्लिखत खघटनाक्रमले यो टट्कारो प्रश्न खडा गरेको छ ।

प्रकाशित मिति : भाद्र १४, २०७९ मंगलबार  ३ : ४६ बजे