Logo

गण्डकी प्रदेश

मुख्यमन्त्रीबाटै महिला सांसद अपहरणपछि बन्धक, शौचालयको चप्पलमा भागेर मुक्त



लुम्बिनी प्रदेशको सत्तापक्षले प्रदेश सांसद विमलाकुमारी खत्री (वली)लाई पाँच दिनसम्म बन्धक बनाएको खुलेको छ । पीडित सांसद वलीले बिहीबार पत्रकार सम्मेलनको आयोजना नै गरेर उक्त कुराको खुलासा गरेकी हुन् । 

आफूलाई प्रदेशको सत्तापक्षले साउन १५ गते अपहरण शैलीमा मुख्यमन्त्रीको निवासमा पुर्‍याएर पाँच दिनसम्म बन्दी बनाएर राखेको सांसद वलीले पत्रकारसम्मेलनमा बताईन् । बुटवलमा गरिएको पत्रकार सम्मेलनमा वलीले साउन २० गते आफू त्यहाँबाट भाग्न सफल भएको बताईन् । 

पाँच दिनसम्म बन्धक जीवन बिताउनु पर्दा मानसिक रुपमा धेरै पिडा भोग्नु परेको बताउँदै वलीले २० गते भने सबै जना आराम गरिरहेको मौका छोपेर शौचालयको चप्पल लगाएर भागेको बताईन् । 

प्रदेशमा सरकार गठनको अंकगणित गणना सुरु भएको बेला साउन १५ गते वली सम्पर्कवीहिन भएकी थिईन् । सांसद वली पार्टीको सम्पर्कमा नआएपछि माओवादीले उनलाई एमालेले अपहरण गरेको आरोप लगाएको थियो । पछि उनी प्रहरीको सम्पर्कमा आएको बताइएको थियो भने प्रदेशको विपक्षी गठबन्धनले प्रदेशप्रमुख अमिक शेरचनसमक्ष सरकार गठनको लागि समावेदन गर्दा उनको हस्ताक्षर संलग्न नभएको बताइएको थियो । 

सोही दिन वलीको नाम र हस्ताक्षरमा आफू एमालेमै फर्किएको भन्दै विज्ञप्ति सार्वजनिक भएको थियो । तर उक्त विज्ञप्ति वलीले नभई अरु कसैले निकालेको बताइएको छ । बुधबार प्रदेश संसदीय दलको बैठकमा वली उपस्थित भएकी थिइन् । निकै नै तनाव र हतासमा रहेकी वली बैठकमा डाको छोडेर रुदै आफूलाई मुख्यमन्त्री कार्यालयमा राखिएको बताएकी थिइन् । 

आफ्ना पति उत्तरकुमार वलीको दुर्घटनामा मृत्यु भएपछि दाङ ३ (ख) मा  भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् । फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेको घोषणा गरेकी थिइन् । उनी प्रदेश सभामा विपक्षी बेन्चमै बस्दै आएकी थिइन् । प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेपछि उनी गत शनिबारदेखि माओवादी केन्द्रसँग सम्पर्कविहीन भएकी थिइन् ।

बिहीबारको प्रस विज्ञप्तिमा सांसद वलीले आफू नेकपा माओवादी केन्द्रप्रति आफू पूर्ण प्रतिवद्ध रहेको उल्लेख गरेकी छिन् । 

प्रकाशित मिति : श्रावण २१, २०७८ बिहीबार  ३ : १२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।