Logo

टिप्पणी

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको बयानले तरंग



चोलेन्द्र शम्शेर जबराले संसदको महाअभियोग छानविन समितिमा दिएको बयानले ठूलो तरंग गएको छ । परमादेश प्रकरण देखी के कस्ता सम्म खेल हुन्छन् न्यायालय भित्र भन्ने राणाले सबै छताछुल्ल पारिदिएका छन् ।

आफू माथि विभिन्न आरोप सहित लागेको महाअभियोगको बारेमा प्रष्टिकरण दिन संसदीय छानबिन समितीको कठघरामा उपस्थित भएका राणाले आफ्ना सहकर्मी न्यायाधीश देखी वरिष्ठ अधिवक्ता सम्मको अनी राजनीतिक दलका नेताको समेत पोल खोलेका छन् ।

निलम्बीत प्रधानन्यायाधीश राणाले संसदीय छानविन समितिमा दिएको बयानले देशमै ठूलो तरंग जाने अवस्था आएको छ भने उनले बोलेका कुरा साँचो प्रमाणित भएमा न्यायालय भित्रको कुरुप चित्र छरपष्ट हुने भएको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपक कार्कीमाथि राणाले प्रधानन्यायाधीश बन्न आफूविरूद्ध लागेको आरोप लगाए । रोलक्रममा मपछिको व्यक्तिलाई प्रधानन्यायाधीश बन्ने इच्छा हुन्न र ? दीपक कार्कीलाई पनि थियो होला । उहाँलाई प्रधानन्यायाधीश बनाउन मसँग तीन/ चारपटक प्रस्ताव आएको हो । मैले यसरी न्यायालय चल्दैन भनेर मानिनँ, उनले भने ।

सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीलाई पनि राणाले मुद्दा पन्छाउने गरेको आरोप लगाए । हरिकृष्णजी मुद्दा पन्छाइरहनुहुन्छ । केपी शर्मा ओलीको महान्यायाधीवक्ता भएकाले उहाँको हेर्न मिल्दैन भन्नुहुन्छ तर आफ्नो स्वार्थका अन्य मुद्दा हेर्नुहुन्छ,’ उनले भने।

सर्वोच्चकै अर्का न्यायाधीश प्रकाशसिंह राउतलाई पनि उनले इजलास हेर्दाहेर्दै राखेर निस्किने, रक्सी खाएर मात्नेदेखि श्रीमतीमाथि हिंसा गरेर डिभोर्स गर्न लगाउनेसम्मका आरोप लगाए ।

‘प्रकाशसिंह राउत इजलास हेर्दाहेर्दैमा राखेर पक्षहरूलाई भेट्न निस्किनुहुन्छ । रेस्टुरेन्टमा गएर रक्सी खाएर लड्खडाउँदै निस्किनुहुन्छ । कहिले त पिएसओ र ड्राइभरले बोकेर घर ल्याउनुपर्छ,’ राणाको भनाइ उद्धृत गर्दै एक सांसदले भने, श्रीमतीलाई जबर्जस्ती डिभोर्स गर्न लगाउनुभएको थियो, उहाँको के कुरा गर्नु !

अरू न्यायाधीशहरूले गुटबन्दी गरेको र आफूलाई काम गर्न नदिएको उनले बताएका थिए । राणाले प्रतिनिधिसभा विघटनमा भएको फैसलामा अरू न्यायाधीशलाई किन उन्मुक्ति दिइयो भन्ने सवाल पनि गरेका थिए । पूर्वप्रधानमन्त्री ओलीले दोस्रोपटक गरेको प्रतिनिधिसभा विघटनमा भएको फैसलापछि आफूलाई मात्र किन अभियोग लगाइयो भन्ने उनको प्रश्न थियो ।

प्रतिनिधिसभा विघटनविरूद्ध रिट दिने निवेदकहरूले अरू न्यायाधीशलाई आश्वासन दिएको उनले ठोकुवा गरे । असार २८ पछि मैले के गरेँ र ममाथि अभियोग आयो ? प्रस्ट रूपमा भन्छु ९ निवेदकबाट अन्य न्यायाधीशमाथि आश्वासन दिइएको छ,’ उनले भने ।

गएको दसैंपछि उनीविरूद्ध न्यायालयमा भएको विद्रोहबारे सांसदहरूले प्रश्न गरेका थिए । त्यही सन्दर्भमा उनले न्यायाधीशहरूलाई एकपछि अर्को आरोप लगाएका हुन् । सर्वोच्चका १९ न्यायाधीशले ४० दिनसम्म उनले तोकेका इजलास बहिष्कार गरेका थिए । त्यसपछि पेसी तोक्ने प्रधानन्यायाधीशको अधिकार खोसेर उनीहरू इजलास फर्किएका थिए ।

राणालाई सोध्न भनी तयार पारिएका ४३ वटा प्रश्नहरुमा आज जम्मा ४ वटा प्रश्नको मात्रै जवाफ उनले दिएका छन् । राणाले आफू निलम्बीत प्रधानन्यायाधीशको रुपमा नभइ एक सर्वसाधारण नागरिकको रुपमा मात्रै बयान दिन आएको पनि जिकिर गरेका थिए । उनले आफू माथि लगाइएको महाअभियोग स्वत निष्किृय भएको दाबी समेत गरे ।

प्रकाशित मिति : भाद्र १६, २०७९ बिहीबार  १० : ०८ बजे

165
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।