Logo

अर्थ

बजेट ल्याउन असफल ४४ पालिकामा कामकारबाही ठप्प !



काठमाडौं । जनताको नजिकको सरकार भनिने स्थानीय तहका हरेक गतिविधिले स्थानीयवासीको जनजीवनमा प्रत्यक्ष प्रभाव पर्छ । मुलुकका ७५३ स्थानीय तहमध्ये झैसम्म ४४ पालिकाले चालु आर्थिक वर्षको बजेट ल्याउन सकेका छैनन् । स्थानीय तहमा योग्य जनप्रतिनिधि निर्वाचित नहुनाले र दक्ष कर्मचारीको अभावले गर्दा कतिय स्थानीय तहहरुको कामकारबाही अस्तव्यस्त बनेको छ । समय र प्रक्रिया अनुसार कुनै पनि काम हुन सकेका छैनन् । कतिपय स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई आफ्नो कार्यक्षेत्र, अधिकार र कर्तव्यबारे नै थाहा छैन ।

संविधानतः स्थानीय तहमा सत्तापक्ष र प्रतिपक्ष हुँदैनन् । तर पनि कतिपय स्थानीय तहमा फरक दलका जनप्रतिनिधिले सहमतिको भन्दा विमतिको बाटो रोज्नाले विवादहरु धेरै देखिएका छन् । कुनै—कुनै पालिकामा प्रमुख र उप—प्रमुख तथा अध्यक्ष र उपाध्यक्ष, पालिका सदस्यहरु फरक पार्टीबाट निर्वाचित भएका हुनाले नीति तथा कार्यक्रमसँगै बजेट ल्याउन तथा प्रक्रियासम्मत कामकारबाही अगाडि बढाउन निकै झमेला हुने गरेको देखिएको छ ।

उम्मेदवारी दिँदै गर्दा निर्वाचित भएपछि पार्टीलाई भन्दा कामलाई महत्व दिने प्रतिवद्धता जाहेर गरेका स्थानीय जनप्रतिनिधिहरुले अहिले विभिन्न विवादहरु खडा गरेर आफ्नो प्रतिवद्धताबाट विचलित भएका छन् । यसरी नियम, कानुन अनुसार जनप्रतिनिधिले व्यवहार नगर्दा संघीयतामाथि नै प्रश्न उठेको छ । संघीयताअघि नै यस्ता कठिनाइको पूर्वानुमान नगरिएका कारण स्थानीय सरकार अझै व्यवस्थित रूपमा चल्न नसकेको संघीयताका जानकारहरूको विश्लेषण छ ।

अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन अनुसार स्थानीय सरकारले असार १० गते नयाँ आर्थिक वर्षको राजश्व र व्ययको अनुमान आफ्ना गाउँ वा नगरसभामा पेश गर्नुपर्ने वाध्यता छ । तर, तोकिएको अवधिभन्दा दुई महिना नाघ्दासमेत ४४ स्थानीय तहले चालु आर्थिक वर्ष २०७९÷८० को बजेट ल्याउन सकेका छैनन् । कानूनअनुसार सम्बन्धित गाउँ÷नगर सभामा बजेट पेश भई स्वीकृत नभएसम्म स्थानीय तहले बजेट खर्च गर्न पाउँदैनन् ।

दक्ष कर्मचारीेको अभावले पनि स्थानीय तहले समयमा बजेट ल्याउन नसकेको बताइएको छ । स्थानीय तहले आफै नयाँ कर्मचारी भर्ना गर्न पनि पाउँदैनन् । बजेट रोकिएकोले धेरै काम समयमा हुनबाट रोकिएको छ । बजेट पारित गर्न नसकेकाले पालिकाका विकास निर्माणका काम अत्यन्त प्रभावित भएका छन् । अब छिट्टै बजेट पारित गर्ने प्रयत्नमा लागेको बताइएको छ ।
स्थानीय तहमा अनियमितता बढेको, जनप्रतिनिधिले राजनीतिक पूर्वाग्रह बोकेर काम गर्ने गरेको, सबै गाउँ टोलमा समान रुपले विकासका कामहरु नभएको, जनताको आवश्यक्ता र आकांक्षा अनुसार काम नभएको, सहज रुपमा नागरिकले सेवा सुविधा नपाएको जस्ता समस्याहरु आइरहेका बेला बजेट नै ल्याउन नसक्नु प्रमुख समस्या बनेको छ ।

बजेट पेश नगर्नेमा ३३ पालिका मधेशका

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार बजेट पेश नगर्ने स्थानीय तहमा मधेश प्रदेशका मात्रै ३३ वटा पालिका रहेका छन् । यसमा १८ नगरपालिका र १५ गाउँपालिका रहेको मन्त्रालयले जानकारी दिएको छ ।

बजेट पेश नगर्ने मधेश प्रदेशका स्थानीय तहमा कञ्चनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, विष्णुपुर गाउँपालिका, बलान–विहुल गाउँपालिका, मिर्चैया नगरपालिका, औरही गाउँपालिका, कर्जन्हा नगरपालिका, नवराजपुर गाउँपालिका, बरियारपट्टी गाउँपालिका, धनुषाधाम नगरपालिका, नगराइन नगरपालिका, विदेह नगरपालिका र कमला नगरपालिका रहेका छन् ।

यस्तै धनौजी गाउँपालिका, सोनम गाउँपालिका, मलंगवा नगरपालिका, विष्णु गाउँपालिका, कटहरीया नगरपालिका, दुर्गाभगवती गाउँपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, बौधीमाई नगरपालिका, माधवनारायण नगरपालिका, मौलापुर नगरपालिका, युमनाई गाउँपालिका, महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका र पोखरिया नगरपालिकाले पनि हालसम्म बजेट पेश गर्न सकेका छैनन् ।

मधेश प्रदेशको धोबीनी गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका र कालिकामाई गाउँपालिका पनि बजेट पेश नगरेको मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी लुम्बिनी प्रदेशमा ६, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा २ वटा पालिकाले बजेट पेश गरेका छैनन् । बजेट पेश नगर्ने लुम्बिनी प्रदेशका स्थानीय तहमा गैडहवा गाउँपालिका, मायादेवी गाउँपालिका, छत्रदेवी गाउँपालिका, राजपुर गाउँपालिका, डुडुवा गाउँपालिका र पुथा उत्तरगंगा गाउँपालिका रहेका छन् ।

कर्णाली प्रदेशको चन्दननाथ नगरपालिका, जुनीचाँदे गाउँपालिका र भैरवी गाउँपालिकाले बजेट पेश गरेका छैनन् । सुदूरपश्चिम प्रदेशका पंचदेवल विनायक नगरपालिका र बुंगल नगरपालिकाले हालसम्म बजेट पेश गरेका छैनन् । प्रदेश नम्बर एक, बागमती प्रदेश र गण्डकी प्रदेशका भने सबै स्थायि तहले चालु आर्थिक वर्षको बजेट पेश गरिसकेका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार १७:२९   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।