लुम्बिनी प्रदेशमा विपक्षी गठबनधनलाई सरकार निर्माणको बाटो सहज हुने देखिएको छ । प्रदेशका पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य लीला गिरीले दायर गरेको रिट निवेदनलाई हेर्न नभ्याइने सूचीमा राखिएपछि विपक्षी गठबनधनलाई सरकार बनाउन सहज हुने देखिएको हो ।
विपक्षी गठबन्धनको समावेदन बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले बुधबारका लागि प्रदेशसभाको विशेष अधिवेशन आब्हान गरेका छन् । उक्त विशेष अधिवेशनमा मुख्यमन्त्री विरुद्ध विपक्षी गठबन्धनले हालेको अविश्वास प्रस्ताव उपर मत अभिमत हुने हुनाले त्यसलाई रोक्न सदस्य गिरीले रिट दायर गरेका थिए ।
रिट निवेदनमा संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त दलको नेताका रूपमा शंकर पोखरेल गत वैशाख १९ गते नियुक्त भएको दाबी गर्दै दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाइने जिकिर गरिएको छ ।
मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा पेशी तोकिएको गिरीको रिट हेर्न नभ्याइने सूचीमा परेको हो ।
हाल प्रदेशसभामा कायम ८० सदस्यमध्ये मुख्यमन्त्री पोखरेलको दल नेकपा एमालेका ३८ सांसद मात्र छन् । प्रदेशसभाका बाँकी सबै सांसद विपक्षी गठबन्धनमा छन् ।




















प्रतिक्रिया