Logo

टिप्पणी

‘पुर्खा’ नेताहरुलाई जनताले अब जबरजस्ती ‘युवा’ मान्नेवाला छैनन् !



आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको चहलपहल बढेको छ । चुनाव नजिकिँदै गर्दा राजनीतिक दलहरु पनि व्यस्त देखिएका छन् । उम्मेदवार कसलाई बनाउने ? टिकट कसलाई दिने ? भनेर दलहरु छलफल र परामर्शमा छन् । यता, टिकटका लागि नेताको घर धाउनेको भीड बढेको छ भने कतिलाई भनसुन गरेर हुन्छ कि पार्टीलाई पोसेर टिकट चाहिएकै छ । यो क्रम बढेसँगै पहिलेकै प्रवृत्ति देखिने निश्चित छ । जो पार्टीको अध्यक्ष र सभापतिको नजिक भयो उसले टिकट पाउने भइनै हाल्यो ।

यता, पैसा खर्च गर्न सक्नेले नि सहजै टिकट पाउँछन् । तर, पार्टीमा दशौं वर्षदेखि लागेका र पार्टीका लागि मरिमेटेर काम गरेकाहरु यस पटक पनि टिकट पाउनबाट वञ्चित हुने निश्चितप्रायः छ । विगतको कुराहरु फेरि पनि केलाउने हो भने यो कुरा पुष्टि हुन्छ । सभापति वा अध्यक्षको मनले नखाएको र पैसा नभएकाहरु चुनावी मैदानमा उत्रिनबाट अझै पनि वञ्चित छन् । जनताको मन परेको व्यक्ति भएपनि उसले टिकट नै नपाएपछि के फाइदा ? जनताले चिन्दै नचिनेका, पार्टीमा यागदानै नगरेका व्यक्तिलाई धमाधम टिकट दिने गरिएको विगतको इतिहास छर्ललंग छ हाम्रोसामू ।

व्यापारी, दलालीलगायत पेशाबाट आएका र खर्च गर्ने सामथ्र्य राख्नेहरुले मात्र टिकट पाउँछन् । नेपाली कांग्रेस र नेकपा एमालेबाट २०४८ देखि २०७४ सालसम्म एउटै व्यक्तिले टिकट पाएका छन् । उनीहरु हारे पनि जितेपनि पार्टीले टिकट दिइनै रहेको छ । अब २०७९ को चुनावमा लड्नका लागि पनि तीनैले टिकट पाउनेमा दुईमत छैन, अपवादका रुपमा केही ठाउँमा युवा र नयाँ उम्मेदवार आउनु फरक कुरा । कांग्रेस र एमाले सबैभन्दा पूराना पार्टी भएपनि त्यसभित्र बस्नेले जनताको चाहनाबारे कहिल्यै बुझ्न सकेनन् । यो आमसर्वसाधारण जनताकै गुनासो हो । यसबाट के पुष्टि हुन्छ भने आम जनता यी पार्टी र नेताहरुदेखि आजित भइसकेका छन् ।

निर्वाचन आयोगले एकपटक चुनाव गराउँदा जनताले तिरेको १० अर्ब कर खर्च हुन्छ । घामपानी नभनिकन बिहानदेखि लाइनमा बसेर जनताले भोट हाल्छन् । तर जनताको हितमा केही कुरा उठाइँदैन । न जनताले चाहेका र विज्ञ व्यक्ति मन्त्री हुन्छन्, न मन्त्री हुनेहरुले जनताको मर्म र भावना बझ््छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मन परेको व्यक्ति जो छन् मन्त्री पद त उनीहको पेवा हुन्छ । जसकारण सांसद् नै नभएको व्यक्तिलाई पनि मन्त्री बनाइन्छ । जनताको भोटको मानसम्मान कहाँसम्म रहेछ भनेर यहाँबाट पनि बुझ्ना सकिन्छ ।

तीन करोडसम्म खर्च गरेर टिकट लिन लागेको कुराले अहिले बजारमा चर्चा पाएको छ । टिकट लिनका लागि यत्रो खर्च गर्छन् भने निर्वाचन लड्नका लागि कति खर्च गर्लान् ? आफ्नो खर्च उठाउनका लागि भोलि भ्रष्टाचार गर्छन् । व्यापारीको अगाडि लम्पसार पर्छन् ।

जसरी पनि दलहरुलाई चुनाव जित्नै पर्छ भन्ने छ । त्यसैका लागि आ–आफ्नो स्वार्थमा गठबन्धन गरेर चुनावी मैदानमा होमिने तयारी भइरहेको छ । एक्लै जनतासामू गइए जित अनिश्चित भएको थाहा पाएका सत्तारुढ दलहरु गठबन्धनबाट अघि बढ्ने तयारी गरिरहेका छन् । उता एमाले पनि कहाँ कम, उले पनि सानातीना दलहरुकै भएपनि साथ खोजिरहेको छ । कसैको साथविना एक्लै चुनावमा जाने एक मात्रै बहादुर पार्टी आफूलाई दाबी गरे पनि एमालेले राप्रपा, लोसपा लगायतका दलहरुलाई साथमा लिने प्रयास गरिरहेकै छ ।

अहिले सांसद रहेका कतिपयले टिकटनै नपाउने सम्भावना छ भने पाउनेले पनि पाउनेले जित्न पनि त्यत्ति सजिलो छैन । किन भने अब जनताले पार्टीका झोले कार्यकर्तामा भएर भोट दिने अवस्था छैन । अब युवा, भिजनदारी र पढेलेखेका विज्ञ नै जनताले छान्छन् भन्ने कुरा स्थानीय निर्वाचबाटै जनताले यसको छनक दिइसकेका छन् ।

अहिले प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तामा रहेका दलका मन्त्री र नेताहरुको भन्दा बढी चर्चा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको छ । बालेनको कामले देशभरको जनताको ध्यान खिचेको छ । मुलुकभरको जनता बालेनको पछाडि उभिएका छन् । बालेनको काम सबै जनताले देखेका छन् । तर, राजनीतिक दलले काम गरेको त जनताले देखेका छैनन् । गर्दै नगरेर पनि जनताले नदेखेका हुन सक्छन् ।

मंसिर ४ पछि एमाले एक हिसाबले तहसनहस भएको सुनिन्छ । कुनै चमत्कार भएन भने सबैभन्दा कम सिट ल्याउने नै एमाले हुन्छ । एकीकृत समाजवादीका नेताहरुलाई प्रत्यक्षतर्फ दुईचार सिट जित्न पनि गाह्रो पर्ने छ । पूराना पार्टीलाई खुड्किलो बनाएर आफू माथि आउँछु भनेर हिँडेका रवि लामिछानेको भ्रम पनि धेरै टिक्ने छैन । हिजो मिडियामा कराएर मैले जनताका लागि के के न गरेँ भनेर सोच्नु नै गलत छ उनका लागि । मिडियामा कराउनु उनको जागिर थियो । यसबाट उनले मासिक तलब लिएका थिए । अब कामचोर नेताहरुको झुठा आश्वासनको पछाडि जनता लाग्दैनन् । अहिलेको चुनावमा नेताहरु जनताबाट नराम्रोसँग नाङगिनेवाला छन् ।

यो चुनावपछि यिनीहरुको राजनीति नसकिएपनि भताभुङ्ग हुने छ । मंसिर ४ पछि पक्कै पनि राजनीतिले नयाँ मोड लिने छ । पुर्खा नेताहरुलाई युवा भनेर जनताले अहिलेसम्म जबरजस्ती जति विश्वास गर्नुथ्यो गरे । अब गर्दैनन् ।

(याे लेखककाे व्यक्तिगत धारणा तथा टिप्पणी हाे ।)

प्रकाशित मिति : भाद्र २५, २०७९ शनिबार  २ : ४५ बजे