Logo

अर्थ

रसुवागढी–केरुङ नाका आजदेखि खुला



काठमाडौं । कोभिड–१९ सङ्क्रमण फैलिएसँगै बन्द रहेको रसुवागढी–केरुङ नाका बिहीबारदेखि खुला भएको छ । चीनको केरुङबाट सामान बोकेका १४ वटा कन्टेनर बिहीबार रसुवागढी नाका आइपुग्नेछन् । जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दयाराम पौडेलले चिनियाँ पक्षबाट बिहीबारदेखि व्यापारिक नाका खुला हुने मोबाइल सन्देश प्राप्त भएको जानकारी दिए ।

चिनियाँ पक्षबाट आएको सन्देशमा कोरोना महामारीको सङ्क्रमणका कारण बन्द गर्नु परेको व्यापारिक नाका सङ्क्रमण कम भएसँगै खुला गरिएको उल्लेख गरिएको छ । साथै उक्त सन्देशमा बिहीबार चीनबाट नेपाली सामान बोकेका कन्टेनर नेपाल पठाइनेसमेत उल्लेख गरिएको पौडेलले जानकारी दिए ।

सिन्धुपाल्चोकको तातोपानी नाका पनि एकतर्फी खुला भएको छ । चीनबाट नेपाली सामान बोकेका ११ वटा कन्टेनर दैनिक नेपालतर्फ आइरहेको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए । नेपाली पक्षले दुईतर्फी रूपमा सवारीसाधनको आवतजावत खुला हुनुपर्ने माग गर्दै आएको छ तर चीनियाँ पक्षले त्यसबारे कुनै प्रतिक्रिया नदिएको खनालले बताए । दुवै नाका विगत तीन वर्षदेखि बन्द थिए ।

प्रकाशित मिति : भाद्र ३०, २०७९ बिहीबार  ७ : ०३ बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।