Logo

प्रवास

के अष्ट्रेलिया अध्ययन बजार हल्लाजस्तै कठिन भएकै हो ?



होइन । पक्कै पनि होइन । कुनै पनि कलेज या युनिभर्सिटी पढ्न निश्चित मापदण्डहरू पूरा गरेको हुनुपर्छ । जस्तै; शैक्षिक, भाषिक तथा आर्थिक रुपमा सबल एवम् सक्षम । रह्यो अष्ट्रेलियाको हदमा किन अहिले भिषा रिफ्युजल बढिरहेको छ ? अझ भन्ने हो भने भोकेसनल (Vocational Education and Training-VET) कोर्षमा तुलनात्मक रूपमा धेरै भिषा रिफ्युजल देखिएको छ । यस्ता कोर्सहरू बजारको आवश्यकता अनुसार छोटो समयमा सिपयुक्त जनशक्ति तयार गर्न केन्द्रित  हुन्छन् । उच्च शिक्षामा  (Bachelor/Master) भिषा ग्राण्ट भने  भइरहेको छ । के यसको मतलब भिषा लाग्न  उच्च शिक्षा नै पढ्नुपर्छ त ? मेरो बुझाइमा त्यस्तो होइन । कुन विषय र स्तरमा पढ्नको लागि आवेदन दिने भन्ने कुरा नितान्त रुपमा आफ्नो शैक्षिक पृष्ठभूमि, भाषिक दक्षता, पारिवारिक आर्थिक अवस्था, भविष्यको योजना एवम् व्याक्तिगत चाहनामा भर पर्ने कुरा हुन् ।

यद्यपि भोकेशनल कोर्समा आवेदन दिनेहरूको रिफ्युजल धेरै भएको तर हाइयर एजुकेशनमा (विशेष गरि युनिभर्सिटिमा) आवेदन दिनेहरूको चाहिँ भिषा लागिरहेको छ । आखिर त्यस्तो किन भयो त ? भोकेशनल कलेजहरूमध्ये पनि TAFE मा इनरोल गर्ने अधिकांशको भिषा आइरहेको कुरा सम्बन्धित अधिकारीले हालै हामीसँगको भेटमा बताएका थिए । किन यस्तो भइरहेको छ त ?

यहाँ छ मुख्य बुझ्नु पर्ने कुरा

प्राय: उच्च शिक्षाका लागि एप्लाई गर्ने विद्यार्थीले सुरूमै आफूलाई प्रमाणित  गर्नुपर्ने हुन्छ कि ऊ त्यो कलेज अथवा विश्वविद्यालय पढ्नका लागि सबै हिसाबले सक्षम छ । अर्को भाषामा भन्दा अष्ट्रेलियाले विद्यार्थी भिषा प्राप्त गर्नको लागि निर्धारण गरेका प्रायः मापदण्डहरू पूरा गरेर मात्र उनीहरूले विद्यार्थीको आवेदनलाई स्वीकृत गर्दछन् । यस्ता मापदण्डहरूलाई Genuine Temporary Entrant (GTE) criteria भनिन्छ । कमजोर शैक्षिक पृष्टभूमी भएको, भविष्यको स्पष्ट योजना र आर्थिक रूपले सवल नदेखिएको विद्यार्थी यही चरणमा फिल्टर हुने  हुन्छन् । युनिभर्सिटीहरूले डकुमेन्ट अलिक कडाइका साथ हेर्छ । विद्यार्थीसँग  इन्टरभ्यू लिने देखि उपलब्ध गराएका डकुमेण्टहरूको क्रस भेरिफिकेसन गर्ने सम्मका कामहरू हुन्छन् । जसले गर्दा हाईकमिसनले पनि त्यस्तो धेरै शंकाको दृष्टीले नहेरी भिषा दिने आधार बन्न सक्छ ।

केही निजी कलेजहरूले पनि विश्वविद्यालयको जस्तै मापदण्डहरू लागु गरेर विद्यार्थी इनरोल गर्ने गर्दछन् । जसको भिषा अप्रुभल राम्रो देखिन्छ । High Commission ले विद्यार्थीले रोजेको संस्था र तिनीहरूले लागु गरेको GTE screening criteria लाई भिषाको निर्णय गर्दा निकै महत्व दिएको देखिन्छ ।

तर अधिकांश निजी कलेजहरू जसले प्रायः भोकेशनल कोर्सहरू पढाउँछन्, धेरै भन्दा धेरै विद्यार्थी भर्ना गर्ने (सिट क्षमता अनुसार) र खुकुलो मापदण्ड अपनाएको देखिन्छ । यही लचकतालाई प्रयोग वा दुरुपयोग गरेर अधिकांश विद्यार्थी तथा एजेन्सीहरूले अस्वाभाविक संख्यामा भिषाको लागि आवेदन दिएपछि अहिलेको अवस्था सृजना भएको हो ।  कोभिड महामारीका कारण लगभग २ वर्ष अष्ट्रेलियाको बोर्डर प्राय बन्द भयो । बोर्डर खुला भइसकेपछि यहाँ उपलब्ध कामको अवसरले गर्दा धेरै मानिसहरूले संसारभरी बाट विभिन्न भिजाका लागि आवेदन दिन थाले । यहाँका कलेज तथा विश्वविद्यालय र  सम्बन्धीत व्यवसायीहरू बढी भन्दा बढी विद्यार्थी भित्र्याउने होडमा लागे । बोर्डर भर्खर खुलेको बेला High Commission ले लचिलो मापदण्ड अपनायो । अधिकांश भिषाहरू अप्रुभ पनि भए । निजी कलेजहरू हौसिए । कन्सल्टेन्सीहरू पनि यो मौकाको भरपूर उपयोग गर्नेतर्फ लागे । विद्यार्थीहरू पनि आफ्नो वास्तविक क्षमता विर्सिएर लहैलहैमा लागे । 

सामन्यतया अष्ट्रेलियामा विश्वास भन्ने कुराको ठूलो भ्यालु हुन्छ। आफ्ना कुराहरुको सेल्फ डिक्लरेसन गर्यो भने त्यसलाई पनि विश्वास गर्छ । अहिले नेपाली विद्यार्थीहरूमाथि High commission ले यही कुराको संकट देखेको छ । विद्यार्थीहरूले उपलब्ध गराएका कागजातहरूको विश्वसनीयतामाथि प्रश्न उठाएको छ । डकुमेण्टहरू प्रमाणिकरण गर्दा एक पछि अर्को फ्रड देखिने गरेको High commission ले जनाएको छ ।

त्यसैले अहिले केही दिन अघिबाट s56 Request for More Information notification पठाइरहेको छ, जसको कारण अधिकांश विद्यार्थी त्रासमा छन् । आफूले उपलब्ध गराएका डकुमेण्टहरू original हुन् भने आत्तिनु पर्ने केही छैन । देखाउन, बनाउन सकिने सहयोगी डकुमेण्टहरू सक्दो छिटो इमानदार पूर्वक बनाउनु र नसक्ने वा अपूरो भएका डकुमेण्टहरूको बारेमा किन वा के कारणले बनेन राम्रोसँग स्टेटमेण्ट लेखेर attach गर्नु भयो भने Case Officer कन्भिन्स हुन सक्छन् । 

सपोर्टिभ डकुमेन्ट माग्नु स्वभाविक छ । कुनै मानिसले आफ्नो आम्दानी उसको काम या व्यवसायबाट देखाएको छ भने त्यसलाई तिमिले कमाएको या प्राप्त गरेको प्रमाण देउ भन्नु गलत होइन । र त्यो जाँच गर्नु स्वभाविक हो । अध्ययन अवधि सम्मको लागि अप्रुभ भएको लोन वा डिपोजिट विद्यार्थीको Tuition Fee र Accommodation को लागि सहज पँहुचमा भएको कुरा पनि आश्वस्त पार्न जरूरी छ ।

तर समस्या कहाँनिर हो भने हाम्रोमा यस्तो खाले प्राक्टिस अहिलेसम्म भएको थिएन । एक्कासी कसरी यो सब बनाउने ? नेपालका सरकारी निकायहरू मा High Commission ले भने जस्तो सबै कागजातहरु बनाउन झन्झटिलो वा असम्भव पनि हुनसक्छ । कहिँकतै मागे जस्तै डकुमेण्ट बनाउन सकिएन भने यो कारणले मैले यति देखाएँ, अरु देखाउन सकिनँ भन्नुस् । डिक्लिएर् गर्नुस् । जसले गर्दा तपाईँको भिषा कुनै कारणवश रिफ्युजल भयो भने पनि बोगस डकुमेण्टको लान्छना लगाएर लामो समयसम्म अष्ट्रेलिया अप्लाइ गर्न नपाउने/व्याण्ड गर्ने जस्ता कुराबाट बच्न सकिन्छ ।

कन्सल्टेन्सीको भूमिका के ?

एजुकेशन कन्सल्टेन्सीले पनि जेन्युन डकुमेण्टको महत्व के हो ? कसरी जेन्युइन डकुमेण्ट बनाउने ? कस्ता डकुमेन्ट भयो भने अष्ट्रेलियाको GTE requirements meet हुन्छ भन्ने कुरा इमानदारीताक साथ भनिदिनु पर्दछ । न कि बल्ल बल्ल विद्यार्थी आयो, यसको डकुमेन्ट लिइहालौँ जे पर्छ गर्दै गरौँला भन्ने । 

सबैकुरा हुन्छ हुन्छ भन्ने, ।GTE डकुमेण्ट  आफै बनाइदिन्छु भन्ने जस्ता काम बन्द षर्नुपर्छ । विद्यार्थीले आफ्नैबाट मात्र अप्लाइ गर्नु पर्छ भन्ने भन्दापनि मैले उसको उज्ज्वल भविष्य र आफ्नो पेशागत मर्यादा कायम गर्नुपर्छ भन्ने सोच राख्नु अत्यन्त जरुरी हुन्छ।

उसाे भए अहिले अष्ट्रेलिया अप्लाई गर्ने कि नगर्ने ?

यो प्रश्नको साधारण उत्तर हो, तपाईंसँग अष्ट्रेलिया जाने जेन्युन कारण छ कि छैन ? यदि जेन्युन कारण छ भने अहिले High Commission ले माग्ने गरेका डकुमेण्टहरू उपलब्ध गराउन सक्ने आधार छ कि छैन ? तपाईको केशको सबैभन्दा राम्रो जानकारी राख्ने व्यक्ति तपाईं मात्र हो । तपाईं GTE requirements अहिले पूरा गर्न सक्ने अवस्थामा हुनुहुन्न भने हतार नगरि तयारीमा लाग्नुस् । आफ्नो एकेडेमिक अवस्था हेर्नुस् । English test को स्ट्रेन्थ बढाउनुस् । पहिले  पढेको र अहिले रोजेको कोर्षको रिलेभेन्सी के छ भन्ने पहिचान गर्नुस् । साथै अष्ट्रेलियामा पढेर नेपाल फर्कने आधारहरू बलियो गरी प्रस्तुत गर्नुस् । अष्ट्रेलियाको अर्थतन्त्रको मुख्य आधारहरू मध्य एक अन्तराष्ट्रिय विद्यार्थीको सहज आगमन बन्द गर्ने सरकारको नीति कदापि होइन, मात्र व्यवस्थित बनाउने र साँच्चै पढ्ने उद्देश्य भएका र सक्षम विद्यार्थी भित्र्याउने उद्देश्य हो। त्यसैले आफूलाई जेन्युन प्रमाणित गर्ने आधारहरू छन् भने अष्ट्रेलियामा पढ्ने सपना त्यति टाढा छैन ।

(१२ वर्षयता अष्ट्रेलियामा रही ६ वर्षदेखि शैक्षिक क्षेत्रमा आवद्ध मिराइ ग्लोबल एजुकेसन एण्ड भिषा सर्भिसेसका प्रबन्ध निर्देशक उमेश खड्कासँग गरिएकाे कुराकानीमा आधारित ।)

प्रकाशित मिति : भाद्र ३०, २०७९ बिहीबार  ६ : ३२ बजे