४० वर्षसम्म भारतमा जेल जीवन बिताएका दुर्गा प्रसाद तिम्सिनाको मानसिक अवस्था झन् विछिप्त भएको छ । गत चैतमा नेपाल ल्याइएका तिम्सिनाको शारिरीक अवस्थामा सुधार आए पनि मानसिक सम्स्या भने झन् बढेको हो ।
उनको रेखदेखमा ध्यान दिइ रहेका भतिज गोपाल तिम्सिनाका अनुसार दुर्गालाई घर परिवारमा सम्हालेर राख्न समेत समस्या भइरहेको छ । इलामको माई नगरपालिका–१० लुम्बकका दुर्गाप्रसादले परिवारका सदस्य तथा छिमेकमा समेत अस्वाभाविक व्यवहार देखाउने गरेका छन् ।
६१ वर्षीय दुर्गा प्रसादले अश्लिल बोलेर परिवारका सदस्य तथा छिमेकीहरुलाई हैरानी दिने गरेका छन् । उनका भतिज गोपालले अनलाइनपानालाई बताए अनुसार दुर्गा प्रसाद जे भेट्यो त्यही खान्छन् । दुर्गा प्रसाद नालीको पानी समेत पिउँछन् । उनी कोठामै पिसाब फेरि दिन्छन् ।

भारतीय जेलबाट फर्काएका समयमा डाक्टरले ९ वर्ष ९ महिनाको मानसिक अस्थाको भएको बताइएको दुर्गा प्रसाद यतिबेला भने सबैकुरा बुझ्न सक्ने भएका छन् । एक पटक गएको ठाउँमा सजिलै पुग्छन् । एक पटक चिनाएको मान्छेलाई अर्को पटक चिन्छन् । तर व्यवहारमा व्यापक विचलन छ । परिवार वा छरछिमेकी कसैले केही भनेमा उनी भौतिक आक्रमण गर्न समेत अघि सर्छन् । झम्टि हाल्छन् ।
दुर्गा प्रसाद छिमेकीको घरमा समेत जान्छन् । जे मन लाग्यो त्यही माग्छन् । जे भेट्यो त्यही खान्छन् । सफा सुग्घरमा ध्यान नदिने मात्र होइन, जथाभावी रुपमा फोहोर लुगा लगाउँछन् ।
दुर्गा प्रसादले परिवारलाई वेचैन बनाएका छन् । उनलाई भारतबाट ल्याउदा परिवार र छरछिमेकमा छाएको खुसी खोसिएको छ । छिमेकीले दुर्गा प्रसादको परिवारप्रति नै हेयको दृष्टि राख्न थालेका छन् । झर्को फर्को मान्न थालेका छन् । कतिपयले यस्तो मान्छेलाई छिमेकमा राख्न नहुने समेत भन्न थालेका छन् ।
गोपालका अनुसार डाक्टरले परिवारको माया ममतापूर्ण व्यवहारले उनको मानसिक अवस्थामा सुधार आउने बताएका थिए । कतिपयले लामो समय अस्पतालमा राखेर उपचार गर्न सुझाएका पनि हुन् । तर दुर्गा प्रसादका लागि अस्पताल उपयुक्त लागेन । घरमै राखेर हेरविचार गरे ।
दुर्गा प्रसाद सँधै नै यताउता हिडडुल गर्ने गर्थे । जहाँ गएपनि घरमा फर्किएर भने आफैं आउँथे । तर आइतबार उनी राति अबेरसम्म पनि फर्किएनन् । गोपालले सुरक्षा निकाय लगायत हरेक ठाउँमा खबर गरे ।
कसैलाई इलाम बजार त कसैलाई दर्जिलिङ जान्छु भन्दै हिडेका उनी साधारण मानिसहरुलाई हिडेर ४ घण्टामा पुगिने गोदकमा १ घण्टामा पुगेको जानकारी परिवारले पायो । राती १२ बजे गोदकमा हातमा चप्पल बोकेर हिडि रहेका उनलाई प्रहरीले नियन्त्रणमा लिएर राख्यो । सोमबार गोपालले जिम्मा लिएका छन् ।
गोपालका अनुसार दुर्गा प्रसादलाई परिवारमा राख्न अब झन् चुनौती छ । परिवारका सदस्य वा छिमेकीलाई कुन बेलामा दुव्र्यवहार वा आक्रमण गर्ने हुन् यसै भन्न सक्ने अवस्था छैन । कतिपयले घरमा बाँधेर राख्न सुझाव दिन्छन् । तर बाँधेर राखेमा दुर्गा प्रसाद पहिलेभन्दा कमजोर हुनेमा उनको परिवार चिन्तित छ ।
दुर्गा प्रसादलाई आफूहरुसँगै राख्न परिवार इच्छुक छ । तर उनले परिवारमा पुर्याउन सक्ने सम्भावित हानीप्रति पनि सचेत छ । त्यसैले पनि अव दुर्गा प्रसादलाई कुनै सुधारगृहमा राख्नुको विकल्प नभएको गोपालले बताए । ‘अब मुटुमा ढुंगा राखेर भए पनि ठूलोबुबालाई सुधारगृहमा राख्नुको विकल्प रहेन । खेती किसानी नगरी हुदैन । ठूलोबुबाको निगरानी गर्दा गर्दौ पनि कतिबेला के गर्नु हुन्छ पत्तै पाउन गार्हो हुने अवस्था छ ।’- गोपालले भने ।
जिल्ला प्रहरी कार्यालय इलामका एसपी महेन्द्र कुमार श्रेष्ठले दुर्गा प्रसाद हराए भन्ने थाहा पाउनासाथ जिल्लाका सबै प्रहरी इकाइहरुमा खबर गरिएको बताए । तीनघरे भन्ने ठाउँमा राती भेटिएको थाहा पाएपछि परिवारमा खबर गरिएको र बिहान उनका भतिजले जिम्मा लिएर गएको एसपी श्रेष्ठको भनाइ रहेको छ ।
दुर्गा प्रसादले परिवार र समाजमा दुख दिएको र सुधारगृहमा राख्नु पर्ने अवस्था आएको बारेमा जिज्ञासा राख्दा एसपी श्रेष्ठले त्यति धेरै जानकारी आफूलाई नभएको बताए । उनको मानसिक अवस्थामा समस्या भए मानसिक अस्पतालमा उपचार गर्नुपर्ने सुझाव एसपी श्रेष्ठको रहेको छ ।
प्रदेश नं. १ सरकारले उनको उपचार गर्ने अनौपचारिक जानकारी आफूले पाएको बताउँदै एसपी श्रेष्ठले नभए काठमाडौं लगेर भए पनि उनको उपचार गर्नु पर्ने बताए । कुनै संरक्षण केन्द्रमा राखेर मानसिक उपचार गर्न सके दुर्गा प्रसादलाई राम्रो हुन सक्ने समेत एसपी श्रेष्ठको भनाइ रहेको छ ।

इलामको तत्कालीन एकतप्पा गाउँ पञ्चायत–८ खँगुवा ९ (हाल फाकफोकथुम गाउँपालिका) बाट २०३७ साल माघमा मंगलबारे बजारको बुधबारे हाटमा तोरी बेच्न भनी हिँडेका उनी भारतीय जेलमा पुगेका थिए ।
लामो समय जेलमा बिताएका कारण मानसिक स्वास्थ्यमा समस्या भएपछि १ नम्बर प्रदेश सरकारमार्फत गत वैशाखमा विराटनगरस्थित विराट मेडिकल कलेजमा १७ दिन अस्पतालमै राखेर उपचार गरिएको थियो । त्यस्तै माई नगरपालिकाले ५० हजार नगद र यातायात खर्च १७ हजार रुपैयाँ प्रदान गरेको थियो । तर थप उपचार नपाएपछि केही साता यता स्वास्थ्यमा समस्या हुँदै आएको थियो ।
मानसिक अवस्था असामान्य बन्दै गएका दुर्गा प्रसादप्रति समाजमा हेय बढ्न नदिन सम्बन्धित निकायले बेलैमा ध्यान दिनु पर्ने देखिएको छ । अन्जानमा त्यति लामो समय भारतीय जेलमा बिताएर स्वदेशमा ल्याइएका दुर्गा प्रसादको स्वास्थ्य तथा उनको परिवारप्रति सिंगो राज्य नै जानकार र जिम्मेवार बन्नु जरुरी छ ।




















प्रतिक्रिया