Logo

अर्थ

कुखुरापालनबाटै राम्रो कमाइ



मोरङ । मोरङको सुन्दरहरैँचा–९ स्थित प्रगति टोलका किसान एनकुमार गिरीले १० वर्षदेखि व्यावसायिक कुखुरापालन गरेका छन् । उनले यसबाटै राम्रो कमाइसमेत गरेका छन् । एनी एन्जल कृषि फार्म प्रालि दर्ता गरेर १५ कठ्ठा जग्गामा व्यावसायिकरूपमा गरेको लेयर्स जातको कुखुरापालनबाट वार्षिकरूपमा रू ४० लाख आम्दानी गर्न सफल भएको गिरीले बताए ।

रु दुई करोड लगानीमा फार्म सञ्चालन गरेका गिरीले अहिले लेयर्स जातका कुखुरा पालेका छन् । “स्वदेशमै बसेर केही आयआर्जन गर्ने सोचमा भएकोले सुरूमा ऋण लिएर कुखुरा फार्मका लागि जग्गा जोडेको थिएँ, अहिले यही पेसाबाट बैंकको ऋणसमेत तिर्न सफल भएँ”, गिरीले सुनाए ।

बिबिएस पास गरेका उनी आयुर्वेदका ज्ञातासमेत हुन् । कृषिमा ठूलो सम्भावना देखेर रहरले सुनसरीको तरहराबाट सुन्दरहरैँचा आएर व्यावसायिकरूपमा कुखुरापालन गरेकोमा यसबाट आफू खुशी भएको उनले सुनाए ।

फार्ममा दैनिक पाँच हजार अन्डा उत्पादन हुन्छ । अन्डा प्रतिगोटा रू ११ मा फार्ममै बिक्री हुन्छ भने पूर्वी नेपाललगायत विभिन्न स्थानमा थोक तथा खुद्रा मूल्यमा बिक्री हुने गरेको किसान गिरीले उल्लेख गरे । लेयर्सजातको कुखुरा अण्डा र मासुका लागि उपयुक्त मानिन्छ ।

कुखुराको सुली (मल) बाट समेत राम्रो आम्दानी हुने गरेको उनले बताए । प्रतिबोरा रू तीन सयमा फार्मबाट सुली बिक्री हुने गरेको गिरीले सुनाए । दुई वटा ठूला ठूला कटेरोमा कुखुरा पालिएको छ । कुखुरापालनसँगै बाख्रासमेत पालेर उनले आफ्नो कृषि पेसा अगाडि बढाएका छन् । उनले उन्नत बोयर जातका ५० भन्दा बढी बाख्रा पाल्नुभएको छ । “कृषिमा सम्भावना धेरै छ, जाँगर चलाउँदै तरिका पुर्‍याएर काम गर्दा नाफा हुछ”, उनी भन्छन् ।

कुुखुरालाई बेलाबखत लाग्ने रोगले भने सताउँछ । त्यस्तै कहिलेकाहीँ बिचौलियाले गर्दा उचित मूल्य नपाउने गुनासो पनि उनले सुनाए ।

सुन्दरहरैँचा नगरपालिका–९ का वडाध्यक्ष प्रकाश श्रेष्ठले यस नगर क्षेत्रमा कृषिका लागि धेरै सम्भावना र अवसर भएको बताए । उनले गिरीले गरेकाे कृषि कार्य उदाहरणीय भएको बताए । “उद्यमशील किसानलाई सरकारले आवश्यक सहयोग गर्न जरूरी छ”, उनले भने ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार १८:०४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।