Logo

टिप्पणी

लौरो चिन्ह स्वतन्त्रहरुको हो भनेर भ्रम फैलाउनेहरुलाई निर्वाचन आयोगको एक्सन !



स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा बालेन शाह र धरान उपमहानगरपालिकामा हर्क साम्पाङले लौरो चिन्ह लिएर अत्यधिक मतले जित हासिल गरेपछि प्रतिनिधीसभाको निर्वाचनमा पनि लौरो चिन्हलाई स्वतन्त्रहरुको चिन्ह भनेर भ्रम फैलाउन खोज्नेहरुलाई निर्वाचन आयोगले एक्सन लिएको छ ।

स्थानीय तहको निर्वाचनपछि हाम्रो नेपाली पार्टी नामक दल निर्वाचन आयोगमा दर्ता गराएर उक्त पार्टीले लौरो चुनाव चिन्ह लिएको थियो । एउटा राजनीतिक दलको चुनाव चिन्ह भए पनि स्वतन्त्रहरुको भोट उक्त चिन्हमा आएपछि स्वतन्त्र भनेर प्रचार गराउनेहरु माथि निर्वाचन आयोगले एक्सन लिएको छ ।

आयोगले लौरो चुनाव चिह्न स्वतन्त्र उम्मेदवारहरुको हो भनेर गरिएको प्रचार रोक्न निर्देशन दिएको छ । यो चुनाव चिह्न हाम्रो नेपाली पार्टीको भएको भन्दै आयोगले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’का नाममा भइरहेको प्रचार रोक्न निर्देशन दिएको हो ।

आयोगले हाम्रो नेपाली पार्टीलाई स्पष्टीकरण सोध्दै स्वतन्त्र उम्मेदवारको लौरो निर्वाचन चिह्न भनेर गरिएको प्रचार कानुन सम्मत नदेखिएको बताएको छ । यस्ता गतिविधीले जनतामा भ्रम प्रैदा गराएको भन्दै तत्काल रोक्न पनि आयोगले निर्देशन दिएको छ ।

‘दलको नामबाट लौरो चिह्न प्रयोग नगरी स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान स्वतन्त्र उम्मेदवार भनी प्रचार प्रसार गरेको कार्य निर्वाचनको स्वच्छ प्रतिस्पर्धाको सिद्धान्त विपरीत देखिएको र यसले आम जनमानसमा भ्रम तथा अन्यौलता सिर्जना गर्ने भएकाले त्यस्ता भ्रमक कुराहरु प्रचार प्रसार नगर्न नगराउन अनुरोध छ’ आयोगले पत्रमा भनेको छ ।

साथै के आधारमा लौरोलाई स्वतन्त्र उम्मेदवारको चिह्न भनेर प्रचार गरिएको हो ? यसरी प्रचार गर्ने अधिकार कुन कानुनले दियो ? र कानुन विपरीत भ्रम सिर्जना गरेकाले कारबाही किन नगर्ने भनेर हाम्रो नेपाली पार्टी र यसका अध्यक्ष अनन्तराज घिमिरेलाई आयोगले तीन दिने स्पष्टीकरण समेत सोधेको छ ।

प्रकाशित मिति : आश्विन १०, २०७९ सोमबार  ६ : ५० बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।