Logo

अर्थ

ब्याजदर घटाउने अर्थमन्त्री शर्माको प्रयास असफल !



काठमाडौं । ब्याजदर घटाउने अर्थमन्त्री जनार्दन शर्माको प्रयास असफल हुने भएको छ । पछिल्लो समय तरलता अभाव चर्किंदै जाँदा बैंकहरूले ब्याजदर बढाएपछि त्यसबारे छानबिन गर्न अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदी संयोजकत्वमा गठित अध्ययन समितिले ब्याजदर निर्धारणमा हस्तक्षेप गर्न नहुने निष्कर्ष निकालेको हो ।

उद्योगीहरु आन्दोलित भएपछि अर्थमन्त्री शर्माले ब्याजदर घटाउने बताउँदै आएका थिए । तर, उनले गठन गरेको समितिले बैंक ब्याजदर निर्धारणमा हस्तक्षेप गर्न नहुने निष्कर्ष निकालेपछि उनको यो प्रयास असफल हुने भएको हो ।

८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य भेटाउन तरलता व्यवस्थापन गर्न तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउनुपर्ने अवस्था र ७ प्रतिशतको मूल्यवृद्धिको लक्ष्यलाई वाञ्छित सीमाभित्र राख्न ब्याजदरलाई बैंकहरुबीचको प्रतिस्पर्धाकै आधार तोकिनुपर्ने समितिको निष्कर्ष छ । यसले बैंक ब्याजदर बजार अर्थतन्त्रलाई खुला रूपमा छाड्नुपर्ने भएको छ । समितिले सोमबार अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिवेदन बुझाएको थियो ।

नेपाल बैंकर्स संघले १ असोजदेखि लागू हुने गरी निक्षेपको ब्याजदरमा गरेको भद्र सहमति खारेज गर्दै ब्याजदर वृद्धि गरेपछि अर्थमन्त्री शर्मा असन्तुष्ट थिए । उनको प्रस्तावमा ९ असोजमा बसेको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकले मुलुकको आर्थिक, वित्तीय र मौद्रिक अवस्था (तरलता, बैंक ब्याजदर र वित्तीय लागत न्यूनीकरण) लगायतका विषयमा छलफल, परामर्श तथा विश्लेषण गरी नीतिगत सुझावसहित प्रतिवेदन पेश गर्न समिति गठन गरेको थियो ।

सो समितिले संस्थागत निक्षेप प्रतिस्पर्धात्मक विधि अपनाई खुला बोलकबोलको माध्यमबाट संकलन गर्ने व्यवस्था गर्न सुझाव दिएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलवार २१:११   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।