Logo

प्रमुख समाचार

मधेशका मुख्यमन्त्री राउतले हटाए कांग्रेसका तीन मन्त्री



काठमाडाैं । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका तीन जनालाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषद्बाट जसपाका चार मन्त्रीलाई बर्खास्त गरेपछि राउतले पनि मधेश सरकारबाट नेपाली कांग्रेसका तीन मन्त्रीलाई बर्खास्त गरेका हुन् ।

कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह छन् । उनीहरुलाई मुख्यमन्त्री राउतले टेलिफोनमार्फत राजीनामा दिन गरेको आग्रहलाई नमानेपछि बर्खास्त गरेका हुन् ।

बिहीबार साँझ सत्ता गठबन्धन घटक दलहरु नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका ६ मन्त्री र २ राज्यमन्त्री सबैलाई बर्खास्त गर्ने तयारी गरे पनि त्यसमा जसपाले पुनर्विचार गरी कांग्रेसका मात्र मन्त्री हटाएको हो ।

मधेश सरकारमा एकीकृत समाजवादीबाट शत्रुधन महतो वन तथा पर्यटन मन्त्री, प्रमोद यादव कानून, न्याय तथा प्रदेश सभा मामिलामन्त्री र नागेन्द्र राय यादव राज्य मन्त्री छन् । यसैगरी नेकपा माओवादी केन्द्रबाट गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साह र राज्यमन्त्री रुवीकुमारी कर्ण छन् । उनीहरुलाई भने राउतले हटाएका छैनन् ।

सत्ता गठबन्धन छाडेर जसपाले नेकपा एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई बिहीबार बर्खास्त गरेका थिए । देउवाकै सिको गर्दै मुख्यमन्त्री राउतले पनि कांग्रेसबाट मन्त्री बनेकाहरुलाई हटाएका हुन् ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार १४:०६   :  बजे

207
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।