काठमाडौं । खुद ब्याज आम्दानी ६४ प्रतिशत बढेसँगै नबिल बैंकको नाफा ४१।३ प्रतिशत उक्लिएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
पोहोर यही अवधिमा बैंकको नाफा १ अर्ब ११ करोड रुपैयाँ थियो । नबिलले नेपाल बंगलादेश बैंकलाई गाभेपछि एकीकृत नाफा निकालेको हो । गत आवको अन्त्यसम्म नबिलको नाफामा एनबी बैंकको नाफा जोडिएको थिएन ।
एनबी बैंकको नाफा जोडिदा नबिलको वितरणयोग्य मुनाफाले पनि छलाङ मारेको छ । हाल बैंकसँग २ अर्ब ९१ करोड रुपैयाँ वितरणयोग्य नाफा छ ।
विशेष गरी झन्डै एक प्रतिशतले बैंकको स्प्रेड दर बढेपछि खुद ब्याज आम्दानीले छलाङ लिएको हो । बैंकले असोज अन्त्यसम्म ३ अर्ब ६७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यस्तै, फी तथा कमिसन आम्दानी पनि ह्वात्तै बढेको छ। ४० प्रतिशतको वृद्धि देखिन्छ ।
यस अवधिमा बैंकको निक्षेप संकलन र कर्जा परिचालन दुवै सुस्त छन् । मर्जरको असर बैंकको प्रोभिजनिङमा देखिन्छ । प्रोभिजनिङ ह्वात्तै बढेको छ । करिब एक अर्ब रुपैयाँ बैंकले प्रोभिजनिङका लागि छुट्याएको छ । विशेषगरी नबिलको आफ्नो भन्दा एनबी बैंक तर्फबाट यो बढेको हो ।
बैंकको प्रति सेयर आम्दानी भने घटेको छ । मर्जरका कारण जुन अनुपातमा चुक्ता पुँजी बढ्यो नाफा सोही अनुपातमा नाफा नबढ्दा प्रति सेयर आम्दानी घटेको हो । अहिले बैंकको प्रति सेयर आम्दानी साढे २७ रुपैयाँ पुगेको छ। यस्तै, नेटवर्थ पनि घटेर २३३ रुपैयाँमा सीमित छ ।




















प्रतिक्रिया