Logo

प्रमुख समाचार

विष्णु पौडेललाई केशव सूर्यवंशीको टक्कर, के पुग्लान त संसदमा ?



रुपन्देहीको क्षेत्र नम्बर २ मा मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीबीच प्रतिस्पर्धा हुने भएको छ । सत्तारुढ गठबन्धनले केशव बहादुर थापा मगरलाई सघाउने निर्णय गरेसँगै त्यहाँ एमाले र जनमुक्ति पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने भएको हो ।

यसअघि नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज गरिदिएपछि गठबन्धनले जनमुक्तिका उम्मेदवार केशवलाई सघाउने निर्णय गरेको हो । नेकपा एमालेले विष्णु पौडललाई उम्मेदवार बनाएको छ । पौडेल यो क्षेत्रमा लगातार तीन पटक २०६४, २०७० र २०७४ को चुनाव जितेर ह्याट्रिक गरेका नेता हुन् ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा पार्टीको समर्थनमा थापाले पौडेललाई कडा टक्कर दिने भएका हुन् । गत स्थानीय निर्वाचनमा जनमुक्ति पार्टीले बुटवलमा एमालेलाई समर्थन गरेको थियो । तर, यसपटक भने एमालेसँगै मुख्य प्रतिस्पर्धा गर्ने भएको हो ।

गत वैशाखमा सम्पन्न स्थानीय चुनावमा जनमुक्तिले तिलोत्तमा नगरपालिकामा कांग्रेससँग तालमेल गरेको थियो । स्थानीय तहको निर्वाचनमा रुपन्देही–२ अन्तर्गतका वडामा वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मतका आधारमा यो क्षेत्रमा गठबन्धनको नेतृत्वकर्ता कांग्रेस पहिलो पार्टी बनेको थियो ।

कांग्रेसले ३४ हजार ९५९, एमालेको ३३ हजार १८७, राप्रपाको ३ हजार ९२०, माओवादी केन्द्रले ३ हजार १८८, एकीकृत समाजवादीले एक हजार ३८२ र जसपाको १८३ मत देखिन्छ । राष्ट्रिय जनमुक्ति पार्टीका वडाअध्यक्ष पदका उम्मेदवारले पाएको मत दुई हजार ७० छ । यो मतमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूको मत जोड्दा ४१ हजार ५९९ मत हुन्छ ।

जबकि एमाले–राप्रपा–जसपा गठबन्धनसँग ३७ हजार २९० मतमात्र देखिन्छ । बुटवल उपमहानगरपालिकाका १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२ र १३ वडा पर्दछन् । यस्तै, सैनामैना नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ तथा तिलोत्तमा नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६ नम्बर वडा पनि यसै क्षेत्र अन्तर्गत पर्दछन् । यस क्षेत्रमा केही साना पार्टी र स्वतन्त्र गरी १५ जना उम्मेदवार चुनावी मैदानमा हुनेछन् ।

को हुन् केशव ?

सत्ता गठबन्धनले समर्थन गरेका थापा राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष हुन् । बुटवल उपमहानगरपालिका वार्ड ८ मा स्थायी बासिन्दा रहेका उनी पहिलोपटक संसदीय निर्वाचनमा सहभागि भएका हुन ।

२०४३ सालतिर मनमोहन अधिकारी नेतृत्वको नेकपा माक्र्सवादी निकट प्रगतिशील विद्यार्थी युनियन हुँदै उनले राजनीतिक यात्रा सुरु गरेका थिए । केशव सूर्यवंशी समेत नामले चिनिने थापा २०४६ सालको आन्दोलनमा माक्र्सवादीबाटै आन्दोलनमा सहभागी भएका थिए ।

पछि माक्र्सवादी र माले एकीकरण बनेर एमाले बनेपछि उनी खासै राजनीतिमा सक्रिय भएनन् । ०५१ सालमा राष्ट्रिय जनमुक्तिमा आवद्ध भए भने ०५३ सालमा पार्टीको पश्चिमाञ्चल सचिव, ०५६ सालमा केन्द्रीय सदस्य भएका उनी उपमहासचिव, महासचिव हुँदै गत भदौबाट कार्यकारी अध्यक्ष भएका हुन् ।

बुटवलको एक सरकारी विद्यालयमा ५ वर्षसम्म पढाएका थापाले केही वर्ष पत्रकारिता समेत गरेका थिए । बुटवलबाट प्रकाशित नयाँ राज्य सत्ता साप्ताहिक, बुद्ध सन्देश साप्ताहिक,सङ्घीय एक्सप्रेस अर्घ साप्ताहिक लगायतमा काम गरेका थिए ।

२०२७ सालमा बुटवलमा जन्मिएका थापाले १६ वर्षको उमेरमा राजनीतिमा प्रवेश गरेका हुन् । माक्र्सवादी राजनीतिबाट जनमुक्ति पार्टीमा लागेपछि २०५३ सालमा शिक्षक पेसाबाट राजीनामा दिएर पूर्णकालीन रूपमा राजनीतिमा होमिएका हुन् ।

जनमुक्ति पार्टीको २०५६ सालदेखि केन्द्रीय सदस्य भएका थापा त्यसपछि पार्टीको नेतृत्वमा कहिल्यै पछाडि फर्कनु परेर । बरु कतिपय पादहरूमा दोहोरिएरसम्म काम गर्ने अवसर पाएका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आईतवार १३:५७   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।