एउटै अनुहारले कति पटक जित्न जरुरी छ ? १ पटक, २ पटक वा सधैँ ।
यो मैले किन पनि सोधेको भने नेपाल एयरलाइन्स कतार एयरलाइन्स भन्दा ३५ वर्ष जेठो छ । नेपाल एयर इ.सं १९५८ जुलाई १ र कतार एयर १९९३ नोभेम्बर २२ स्थापना भएको हो । नेपाल एयरको विमान ३५ दिन बन्द भयो भने कति फरक पर्छ ? र, कतार एयर ३५ मिनेट मात्र बन्द भयो भने कति फरक पर्ला ! आज कतार एयरले विश्वभर आफ्नो पहुँच फैलाएको छ, नेपालले ? भो कुरा नगरौँ दुःख लाग्छ ।
प्रसङ्ग जोडौँ चुनावमा ।
एकपटक वा बढीमा दुई पटक विजयी भएको नेतृत्वले ऊसँग भएको ज्ञान, सिप, क्षमता र विवेक प्रयोग गर्छन् । नेपालमा त अझ एक पटक मात्रै । पहिलो पटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीको क्रेज र दोस्रो पटकको उनको क्रेज हेरौँ । पहिलो पटक प्रधानमन्त्री हुँदा पुष्पकमल दाहाल सम्झिऔँ । शेरबहादुर देउवा पनि पहिलो पटक प्रधानमन्त्री हुँदा अहिले जति निष्क्रिय थिएनन् । म दावाका साथ भन्न सक्छु, अर्को पटक उनीहरूको कार्यक्षमता र आकर्षण अवश्य घट्नेछ ।
लगभग ३० वर्षदेखि नेपालमा सत्ताको बागडोर हातमा लिएर बसेका यिनीहरूले नेपाल एयरलाई कहाँ पुर्याए ? चुरोट कारखाना, चिनी कारखाना, सिमेन्ट कारखाना, जुत्ता कारखाना, अन्य धेरै । नेपालको विकास कति भयो ? कहाँ पुग्यो ? दुबै, कतार जस्ता देशमा छोटो समयमा भएको विकास र नेपालमा लामो समयमा पनि नभएको विकासको मूल कारण के हुन सक्ला ? लामो समयदेखि जाँचिएका, प्रयोग गरिएका, हेरिएका नेतालाई फेरी जिताउनुको परिणाम होइन ? यत्रो २४–२५ वर्षमा उनीहरू सरकारमा पनि थिए, प्रतिपक्षमा पनि । उनीहरू प्रयोग भइसके, जाँची सक्यौँ, अब विकल्प सोचौँ ।
कुरा इलामको क्षेत्र नम्बर २ को । संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्बाङ चुनावी मैदानमा छन् । उनको टक्कर हुँदै छ नेपाली काँग्रेस इलाम सभापति डम्बर खड्कासँग । यो क्षेत्रबाट नेम्बाङले कुनै पनि चुनावमा पराजय भोगेका छैनन् । नेम्बाङ जत्तिको नेता पाएको यो क्षेत्रले न त मुहार नै फेर्न सक्यो, न जनताले महसुस गर्न सक्ने गरी विकास भयो । खड्का र नेम्बाङ पहिलो पटक आमने-सामने भएका हुन् । नहार्ने र नगर्ने छवि बनाएका नेम्बाङसँग गर्ने तर राष्ट्रिय पहिचान नबनाएका खड्काको प्रतिस्पर्धा रोचक छ ।
आज यही विषयमा कुरा गरौँ ।
सजिलो छैन । किनभने, नेम्बाङ केन्द्रका नेता हुन् । नेम्बाङले देशका महत्त्वपूर्ण क्षेत्रमा भूमिका निर्वाह गरिसकेका छन् । खड्का भूगोलका नेता हुन् । उनीसँग देशको महत्त्व जोडिएको परिचय छैन । तर, स्थानीयसँग उनी सदैव छन् ।
गज्जबको ओझ, गज्जबको व्यक्तित्व, सरल स्वभाव, मिठो शैली छ नेम्बाङको । झट्ट हेर्दा कतै खोट लगाउने ठाउँ छैन उनीलाई । नयाँ मान्छेले पहिलोपल्ट नेम्बाङ भेट्ने वा उनको भाषण सुन्ने हो भने लाग्छ मैले खास मान्छे भेटेँ । हुनैलाई चाहिँ नेम्बाङलाई यति सजिलै बुझ्न सकिन्न । उनी प्याज जस्तै हुन्, जति नजिक उति पत्र ।
विल्कुल फरक छ खड्काको शैली । खड्का उति गुलिया र मिठा छैनन् । समानान्तर तुलामा राखेर विष्लेषण गर्दा मधुरो देखिन्छ खड्काको तस्बिर । फरक कति मात्रै हो भने, खड्का दुःखी मनहरूसँगै हुन्छन् । भोट हाल्ने स्थानीयको पहुँचमा नेम्बाङ छैनन् । खड्का स्थानीयसँगै भएर सुमसुम्याउनु मात्रै भोट उनको जित्ने आधार होइन । तर, देशको महत्त्वपूर्ण ठाउँमा भएर पनि नेम्बाङले आफूलाई भोट हाल्नेको मुहारमा खुसी पठाउन नसक्नु उनको कमजोरी हो ।
सुवास नेम्बाङको अध्यक्षतामा नेपालले संविधान पायो । संविधानको पुस्तक उचालेका सम्माननीय राष्ट्रपति रामवरण यादवलाई जति सम्झिन्छौँ, अध्यक्ष नेम्बाङको चित्र सँगैसँगै आउँछ । यो उनको सफलता हो । ‘हामीले गौरवपूर्ण संविधान बनायौँ’ नेम्बाङले यसो भन्दै गर्दा ‘अब हाम्रो सरकारलाई कसैले तोड्न वा भत्काउन सक्दैन, हामीले स्थायी सरकार बनायौँ’ पनि छुटाएनन् । नेम्बाङले सधैँ संविधान निर्माण लाई शिरमा राखेर स्थायी सरकार दोहोर्याइरहे ।
इतिहासमा उनै नेम्बाङको पार्टीले झन्डै २ तिहाइ ल्याएर सरकार बनायो । नेम्बाङको भाषामा स्थायी, कसैले तोड्न नसक्ने सरकार । तर नेम्बाङकै पार्टी अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुई पटक संसद् नै भङ्ग गरिदिए । एक पटक होइन दुई–दुई पटक । नेम्बाङले गर्व गरेर जे सुनाए, उनकै पार्टी अध्यक्षले त्यसैमा ठाडो प्रहार गरे । माओवादी र काँग्रेसको भाषामा भन्ने हो भने नेपालको संविधानको धज्जी उडाए । त्यस समय नेम्बाङ गायब जस्तै भए । यो विषयमा सार्वजनिक रूपमा कहीँ पनि उनले अभिब्यति दिएनन् । जब सम्माननीय अदालतले ओलीको कदम गलत भएको निष्कर्ष निकाल्यो । त्यसपछि त झन् नेम्बाङ गायब नै भए । करिब हप्ता दश दिन मौन व्रत बसे । यो समयमा नेम्बाङले गरेको कार्यलाई बौद्धिक वा प्राज्ञिक वर्गले बौद्धिक बेइमानी भन्छन् । विकसित देशमा राजनीति गर्नेहरू बौद्धिक बेइमानीमा परे भने राजनीतिबाटै अवकाश लिन्छन् । नेम्बाङले त्यसो गरेनन् बरु लाज पचाएर भोट माग्न आए ।
भनिन्छ, ‘आफू र आफ्नो देश विरुद्ध बौद्धिक बेइमानी गर्न सक्ने व्यक्तिले जे पनि गर्न सक्छ ।’ किनभने, राजनीति गर्ने व्यक्तिलाई देश भन्दा माथि दोस्रो केही हुनै सक्दैन । नेम्बाङ जुन ठाउँमा बसेर सबैभन्दा ठूलो काम गरेको सुनाउँथेँ त्यही ठाउँ ओलीले ध्वस्त बनाउँदा उनी बेपत्ता भइदिए । यो जगमा बसेर प्रश्न गर्न सकिन्छ, भोलि देश दोस्रो पटक अप्ठ्यारोमा पर्दा नेम्बाङ भेटिएलान् ? देशका ठूला नेतालाई देशले त भेटेन, जाबो भोट दिएको आधारमा भोलि तपाईँलाई अप्ठ्यारो पर्दा तपाईँ नेम्बाङ भेट्नुहोला ? बौद्धिक बेइमान गर्न पछि नपर्ने नेतासँग गाउँको मुहार नै फेर्ला भन्ने आस गर्न सकिन्छ ?
मलाई उत्तर चाहिएन, तर मनन गर्न जरुरी ठान्छु ।
मलाई त कुनै पनि नेतालाई दुई पटक भन्दा धेरै नदोहोर्याउने विकसित देशको नियम ठिक लाग्छ । अपवाद बाहेक दुई पटकमा उसले प्रयोग गर्ने सोच र जाँगर लगभग सकिइसकेको हुन्छ । नयाँ मान्छे नयाँ सोच र ऊर्जाका साथ आउँछ । उसले केही गर्न सकेन भने पनि केही न केही गरेरै जान्छ । ताजा र तातै छ, काठमाडौँका मेयरको अनुहार सम्झियौँ एक पटक ।
नेम्बाङले एक पटक वा दुई पटक मात्रै होइन, धेरै पटक यो ठाउँबाट विजयी भएर गए । उनलाई हामीले परीक्षण गरी सक्यौँ । उनले जति गर्न सक्ने थिए, गरे । अब उनीबाट खारिएर वा माझिएर नयाँ केही आउने वाला छैन । जति आयो उनीबाट आउन सक्ने पर्याप्त आयो । अब उनलाई इतिहास मानेर सम्मान गर्नुपर्छ । उनी सम्मानका हकदार त भए नै ।
हामीमा समस्या के छ भने, हामी नेम्बाङको उचाइ बराबरको विकल्प खोज्छौँ, र चुक्छौ । तागत नेम्बाङमा होइन हामीमा छ । हामीले पहिलोपटक भोट दिँदै गर्दा नेम्बाङ सगरमाथा भएका थिएनन् । हामीले नै भोट दिँदा दिँदा उनलाई सगरमाथा बनाएका हौँ । हामीले यसरी सोच्यौ भने विकल्पको हल सजिलै गर्न सक्छौँ ।
यस पटक नेम्बाङको विकल्पमा खड्का आएका छन् । उनी एकदम असल, एकदम राम्रा वा एकदम अकबरी सुन हुन् भन्ने मेरो तर्क होइन । मैले भन्न खोजेको उनी विकल्प हुन् मात्रै हो ।
खड्काले अहिलेको हैसियत बनाउन धेरै काम गरेका छन् । उनले अहिलेको हैसियत विरासतमा पाएका होइनन् । धेरैलाई थाहा छ, खड्काका बा धनबहादुर खड्का चिया मजदुर थिए । उनकी आमा मुरैका डल्ला बेच्ने काम गर्थिन । खड्का गरिबीसँगै हुर्किएका थिए । यसर्थमा खड्का अहिले जहाँ छन् सितिमिति पुगेका छैनन् ।
उनलाई मैले सोधे, दाइ तपाईँले तपाईँको कुरा जनतालाई बुझाउन सक्नुभयो भने विजयी हुनुहुनेछ, त्यसपछि के गर्नुहुन्छ ?
मेरो अपेक्षा विपरीत उनले भने, ‘भाइ मलाई मिठो गफ गर्न आउँदैन, म जे गरिरहेको छु त्यसैलाई निरन्तरता दिन्छु ।’
खड्का कोरोनाको बेला सबैभन्दा बढी खटेका थिए । २८९५ नम्बरको उनको निजी बेलुरो एम्बुलेन्स बनाएर जनताको घरघरमा पुगे । धेरै ठाउँमा त सार्वजनिक रूपमै भने, कम्तीमा इलामे जनता खान नपाएर मर्ने दिन नआओस् । र खाना बोकेर भोकाएका मान्छेका घर घर गए ।
खड्का ठेकेदार पनि हुन् । उनलाई विकास निर्माण गर्न आउँछ । उनी बिरामी, अशक्त, खेलकुद, मन्दिर, गुम्बा वा चर्चलाई आर्थिक सहयोग गरिरहेका हुन्छन् । यसबाट अनुमान गर्न सकिन्छ खड्कामा धार्मिक प्रवृत्ति पनि हावी छ । सँगसँगै नेम्बाङले गरेजस्तो बेइमानी उनीबाट हुन्न कि आशा गर्न ठाउँ धेरै छन् ।
खड्का पर्यटन हबको रूपमा क्षेत्र नम्बर दुईको चित्र बोकेर भोट मागिरहेका छन् । उनले यही चित्र जस्ताको तस्तै प्रयोग गर्न पाए भने धेरै हुनेछ । त्यसो त नेम्बाङले बोकेको विकासको ड्राफ्ट कमजोर छ भनेको होइन । गुणस्तर, भाषा सम्पादन र शैलीको हिसाबले खड्काको भन्दा अब्बल छ । तर, उनको ड्राफ्ट धेरै पटक सुनिसक्यौँ, हेरिसक्यौँ, देखिसक्यौँ । उनले गरेको विकास भोगिरहेका छौँ । खड्का प्रयोग गरिएका छैनन् ।
अब तुरुन्त खड्कालाई भोट दिनुपर्छ भन्ने मेरो तर्क होइन । मैले त विकल्प मात्रै केलाएको । मेरो तर्क कति मात्रै हो भने, नेम्बाङलाई सम्मानजनक इतिहासमा ठाउँ दिनुपर्छ । बुढेसकालमा गतिलाे सल्लाहकार हुन सक्छन् उनी । तर, आफैँ जुवा काँधमा हालेर हलो तान्न अब सक्दैनन् ।
त्यसो त मैले धेरै भाषणमा नेम्बाङले डम्बर खड्काले पैसा खाएर बाटो नबनाएको भन्ने आरोप लगाएको सुनेँ । मैले सिधै खड्कालाई सोधेँ, दाईं एमालेले ल्याएको विकासको पैसा खाएर बाटो नबनाएको रे त, अनि कुन मुख लिएर भोट माग्न आएको ?
खड्काले मुस्कुराउँदै स्पष्टीकरण दिए, ‘चुनावमा अर्कोलाई निचो देखाउन लाग्ने यस्ता आरोप प्रत्यारोप त सामान्य कुरा हुन् । तर, मैले त्यो मात्रै होइन कुनै पनि विकास गरेबापत आफ्नो व्यावसायिक मर्यादा बिर्सिएर पैसा खाएको छैन । नेपालटार मंगलबारे सडकको पहिलो ग्राभेलको ठेक्का कन्काई विल्डर्स रे पारेको थियो । त्यसमा म सुपरभाइजर भएर काम गरेको हुँ । पछि पिचको ठेक्का पार्ने सूर्य कन्स्ट्रक्सनसँग त मेरो दुरदुर तक रस्ता छैन ।’
स्वतन्त्र म पनि छु, तपाई पनि हुनुहुन्छ । मंसिर ४ गते मतपत्र हातमा नपरुन्जेल हामी खोज्न सक्छौँ, बुझ्न सक्छौँ । डम्बर खड्का असल भोट हाल्नै पर्छ होइन, सुवास नेम्बाङ खराब भोट हाल्नै हुँदैन पनि होइन । आफ्ना ठाउँमा नेम्बाङ पनि खराब, खड्का पनि खराब । आफ्ना ठाउँमा नेम्बाङ पनि असल, खड्का पनि असल ।
मेरो अन्तिम कुरा कति मात्र हो भने, २४ वर्षदेखि जे गर्दा भएन त्यो चाहिँ नदोहोर्याऔँ !
















प्रतिक्रिया