Logo

प्रवास

‘द भ्वाइस’ मा पहिलो पटक लाइभ प्रस्तुति दिँदै परिजिता



बाल्टिमोर । गायनमा आधारित अमेरिकी रियालिटी शो ‘द भ्वाइस’ को २२ औं संस्करणमा एकपछि अर्को चरण पार गर्दै अघि बढेकी नेपाली मूलकी परिजिता बास्तोलालाई जिताउन विश्वभरीका नेपाली एक ढिक्का भएका छन् ।

परिजिताले यो शोमा अमेरिकी समय अनुसार सोमबार राति ८ बजे पहिलो पटक लाइभ प्रस्तुति दिँदैछिन् । यही प्रस्तुतिपछि उनलाई भोट दिन सकिने छ ।

परिजितालाई यो प्रतियोगितामा अझ अगाडि बढ्ने हौसला दिनका लागि शुभकामना सन्देशहरु प्राप्त भैरहेका छन् । यसै क्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह तथा परिजिता बास्तोलाबीच वार्तासमेत भएको छ । बालेन स्वयं कलाकार भएको नाताले यही सेरोफेरोमा रहेर कुराकानी भएको बताइन्छ । कुराकानीको क्रममा बालेनले परिजितालाई जीतका लागि शुभकामनासमेत दिएका छन् । बालेनले परिजितालाई प्रोत्साहन गर्नुको साथै बिजयको नजिक रहेको समेत उल्लेख गरेका छन् ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले ‘नाममै जीतको कामना भएकी तिमीलाई जिताउन कुनै भोट, अपील त चाहिँदैन । यद्यपि, भोटले पीर नमानोस् भनेर दुई चार शब्द तिम्रा लागि र जितेर आउनू’ भनि आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् । बाल्यकालदेखि नै तिमी हुर्कँदै देखेको हुँ । तिम्रो क्षमतामा कहिल्यै शंका भएन । तिम्रा गीतहरू सुनेको र कुनै दिन तारा बन्ने छौ भनी गर्वका साथ भनेको सम्झेको छु, उनले भनेका छन् ।

यसैगरि गायक दीपक बज्राचार्य, संगीतकर्मी प्रेमराजा महतलगायत थुप्रै कलाकारहरुले परिजितालाई शुभकामना सन्देश दिनुका साथै शुभकामना सन्देश आउने क्रम जारी छ ।

अमेरिकाका विभिन्न संघ–संस्थाहरुले परिजिताका लागि ऐक्यबद्धता तथा समर्थन सार्वजनिक रुपमा गरेका छन् । गैर आवसीय नेपाली संघ अमेरिका, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनास, नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल इन्जा, उत्तर अमेरिकाको सबैभन्दा पुरानो संस्था एएनए, मिस नेपाल युएस, नेपाली अमेरिकन कन्भेन्सन, न्यूयोर्क नेपाली कामपोस्ट, साथी बाल्टिमोर, नाम्लो इभेन्ट्स, नेपाली अमेरिकन टेनिस क्लब अफ बाल्टिमोर, माधवी डान्स सेन्टरलगायत विभिन्न संघ, संस्था, सामाजिक सञ्जाल समूह, व्यक्तिगत तथा सामाजिक अभियन्तासमेतले समर्थन गरिरहेका छन् ।

परिजितालाई मत दिने
अमेरिका बाहिरबाट http://Nbc.com/voicevote मा गएर आफ्नो ईमेल प्रयोग गरी प्रोफाईल क्रिएट गरेर १० पटकसम्म भोट गर्न सकिनेछ भने अमेरिकाबाट App Store/ Play store मा ‘The Voice App’ डाउनलोड गरेर एउटा डिभाईसबाट १० पटक सम्म भोट गर्न सकिन्छ ।

प्रकाशित मिति : कार्तिक २८, २०७९ सोमबार  ६ : ४७ बजे