Logo

अनलाइनपाना खोज

‘होली वाइन’का मतियार राजन भट्टराईलाई मंसिर ४ मा बाधक बन्न सक्छन् यी आरोप र विवादित पृष्ठभूमि



काठमाडौं । नयाँ संविधान जारी भएपछि दोस्रो पटक हुन लागेको ऐतिहासिक आमनिर्वाचन यही मंसिर ४ गते हुँदै छ । उम्मेदवारका रुपमा विभिन्न पृष्ठभूमि भएका व्यक्ति चुनावी ब्याटलग्राउण्डमा होमिएका छन् । जसमध्ये अन्य विविध क्षेत्रमा अब्बल सावित भएर पनि राजनीतिक स्वाद चाख्न आएकाहरुदेखि वर्षौंसम्म राजनीतिमै रहेर/भएर पनि आफूलाई आमजनतामाझ सफल राजनीतिज्ञ एवं असल जनप्रतिनिधिका रुपमा प्रमाणित गर्न नसकेकाहरु पनि छन् ।

यस पटकको निर्वाचनमा चासोका साथ हेरिएको प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्येको एक काठमाडौं–४ पनि हो । यहाँ मुलुकका प्रमुख दुई पार्टीका दुई ‘हेबीवेट’बीच रोचक प्रतिस्पर्धा हुने अनुमान लाउन जो कोहीलाई कठिन छैन । यस निर्वाचन क्षेत्रमा पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट मुलुककै जेठो दल नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वमन्त्री गगन थापा र नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईबीच कडा टक्कर हुँदै छ । मुलुकका प्रमुख दुई पार्टीको महत्वपूर्ण भूमिकामा हरेका यी दुई उम्मेदवारहरुबीचको ‘ब्याटल’ कस्तो होला भनेर नै काठमाडौं–४ तिर धेरैको ध्यानाकर्षित भएको छ ।

दुवै उम्मेदवारले जित आफ्नो पक्षमा रहेका दाबी गर्दै आएका छन् । तर २०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदासमेत बाजी मार्न सफल भएका कांग्रेसका थापाविरुद्ध जित निकाल्न एमालेका भट्टराईलाई सहज छैन । अहिलेको राजनीतिक समिकरण ०७४ को भन्दा फरक छ । त्यसबेला एमालेलाई साथ दिएको नेकपा माओवादी केन्द्रले भट्टराईविरुद्ध नै मत हाल्दै छ भने स्वयं एमाले सग्लो छैन । अझ विभक्त भई बनेको पार्टी एकीकृत समाजवादीसमेत विपक्षमै छ । जसबाट एमालेका भट्टराई दाबाबमा छन् भने गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको अंकगणित समेत उनको पक्षमा छैन ।

यीबाहेक भट्टराईका लागि मुख्य बाधक बनेर उभिएको अर्को चुनौती उनको आफ्नै विवादित पृष्ठभूमि हो । वि.स. २०२५ साल असार २९ गते सिन्धुपाल्चोक जिल्लाको सिन्धुकोटमा मध्यमवर्गीय परिवारमा भट्टराईको जन्म भएको थियो । पशूपति मित्र मावि हुँदै पद्मोदय माध्यमिक विद्यालयबाट २०४१ सालमा एसएलसी उतीर्ण गरेका उनले छात्रवृत्तिमा युनिभर्सिटी अफ लण्डनबाट २०५८ सालमा ‘इन्टरनेशनल रिलेशन एण्ड डिप्लोम्याटिक प्राक्टीस’मा एमए गरे । जवाहरलाल नेहरु विश्वविद्यालयबाट ‘भारत÷चीन सम्बन्धका सन्दर्भमा नेपालको बदलिँदो सुरक्षा दृष्टिकोण’मा विद्यावारिधी (पिएचडी) गरेका हुन् ।

२०५३ देखि २०५८ सालसम्म एमालेको विदेश विभाग सचिव भएर काम गरेका भट्टराईले २०६६/०६७ मा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा परराष्ट्र सल्लाहकारका रुपमा काम गरे । २०७१ देखि २०७४ सम्म संविधानसभा सदस्य थिए भने उनै गगन थापासँग ०७४ को चुनावमा हार व्यहोरेपछि पुनः प्रतिनिधिसभा छिर्न पाएनन् । त्यसपछि सरकारको नेतृत्व सम्हालेका केपी ओलीको परराष्ट्र सल्लाहकारकै रुपमा काम गरे । अहिले उनी काठमाडौंको प्रतिनिधिसभा निर्वाचन क्षेत्र ४ कै भैसेपाटीस्थित निवासमा बस्दै आएका छन् । उनी बस्दै आएका उक्त घर सर्वसाधारणको अर्ब ठगी गरी अहिले जेलजीवन बिताइरहेका इच्छाबहादुर तामाङले दिएको बताइन्छ ।

यही हुन् भट्टराईलाई विवादमा तान्ने विषय र अरोपहरु
–एसिया प्यासिफिक सम्मेलन अर्थात् ‘होली वाइन’ सम्मेलन गराउन मुख्य भूमिका खेलेको ।
–१५ लाख रुपैयाँमा चिनीयाँ दूतावासलाई नेपाल–भारत १९५० सन्धीदेखि अहिलेसम्मको रहेको रिपोर्ट बेचेको । श्रीमतीको नामा पैसा लिएको । (दूतावासले सार्वजनिक गरेको रिपोर्टबारे संचारमाध्यममा समाचार प्रकाशन÷प्रशारण भएको थियो ।)
–केपी ओलीलाई गुप्तचर भेटाएको ।
–नेपालको शक्तिशाली पोजिसनमा बसेर अस्थिरताको राजनिति गरेको ।
–एमसीसी टेबल गर्नेदेखि सबै प्रकियामा केपी ओलीसँगै रहेको ।
–संसद्मा हुँदा निष्क्रिय भूमिका । (४ वर्ष सांसद् हुँदा खासै जनचासोका कुराबारे संसद्मा नबोलेको)
–कोभिडको समयमा पार्टी तोड्ने र जोड्ने कुरामा लागेको ।
–सडक ढिला बनाएको भनेर ठेगदारलाई कारबाही गराउन सिफारिस गरेको बेलामा अर्थमन्त्रीको सहयोगमा कारबाही नै रोक्न लगाएको । तर सडक निर्माणमा चासो नदेखाएको ।

के हो ‘होली वाइन’ प्रकरण, कसरी जोडिए भट्टराई ?
क्रिश्चियन धर्मका प्रवर्तक जिसस क्राइस्टका अधुरा काम पूरा गर्न आएको र जिससले समेत गर्न नसकेको ‘पवित्र बिहे’ गरेर नयाँ युग सुरु गरेको दाबी गर्ने भन्दै सन म्युङ मुनले युनिफिकेसन चर्च स्थापना गरे । यही चर्चसँग आवद्ध विवादास्पद एनजिओले गरेको एसिया प्यासिफिक समिटमा निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलाई एक लाख डलर राशीको ‘लिडरसीप एण्ड गुड गर्भनेन्स’ अवार्डसमेत दिइयो ।

युनिफिकेशन चर्चका संस्थापक मुनले सन् २००५ मा ‘युनिभर्सल पिस फेडेरेसन (युपीएफ)’ नामको संस्था बनाए, जुन विवादास्पद आइएनजिओ हो । कम्युनिस्टका कट्टर आलोचक एवं स्वघोषित मसिहा र अत्यन्तै विवादित व्यक्ति सन म्युङ मुनको सन् २०१२ मा निधन भयो। उनको निधनपछि उनकी श्रीमती हक जा हान मुन ‘म्याडम डाक्टर मुन’ले युनिफिकेशन चर्च र युपीएफको नेतृत्व गर्दै आएकी छिन् ।

‘जिसस क्राइस्टले आफ्ना अधुरा काम गर्न मलाई खटाएको हो,’ भन्ने दाबी गर्ने मुनले आफ्ना अनुयायीहरुको जीवन सारथी चुन्ने अधिकार आफूमा भएको र ‘मेरो आशीर्वादविना विवाह सम्पन्न हुँदैन’ भन्ने दाबी गर्छिन् । उनले भने अनुसारको जोडीले बिहे गरेमात्र पापमुक्त रगतको नाता तयार हुन्छ भन्ने दावी उनको थियो ।

विवाह गरे हुन्छ भनेर मुनले अनुमति दिएपछि के के गर्नुपर्ने भन्नेबारे मुनको युनिफिकेसन चर्चको निर्देशन छ । युनिर्भसल चर्चले आयोजना गर्ने हरेक कार्यक्रमको मुख्य पाटो भनेको ‘सच्चा आमाको आर्शिवाद’ हो ।

यसका हरेक कार्यक्रममा विवाह हुनु वा विवाह गरिसकेका जोडीलाई ‘होली वाइन’ खुवाएर आर्शीवाद दिनु हो । ‘होली वाइन’ खाएर सच्चा आमाको आर्शीवाद लिएपछि उनीहरु पापमुक्त हुन्छन् र यसरी पापमुक्त भएका जोडीबाट जन्मेका सन्तान असल र शान्तिका अग्रदुत हुन्छन् भन्ने विश्वास आफ्ना अनुयायीहरुलाई दिलाइएको छ ।

वि.स.२०७५ मध्ये मंसिरमा काठमाडौंमा एउटा विवादित संस्थाको सम्मेलन भयो । त्यस कार्यक्रममा पनि होली वाइन खानेको भीड लागेको थियो । यूपीएफका नेपाल संयोजक एकनाथ ढकाल हुन्, जसले त्यसबेला विश्वमा परिवार विखण्डन भइरहेका बेला आर्शीवाद दिएर नेपाली परिवारलाई विखण्डनबाट जोगाउनका लागि आर्शीवाद दिइएको दाबी गरेका थिए ।

युनिफिकेसन चर्चले आफ्ना पाप पखाल्नका लागि ‘होली वाइन’ समारोहमा सरिक हुनुपर्छ भन्ने मान्यता खडा गरेको छ । होली वाइनमा हरेक वस्तु र तहको प्रतिनिधित्व गर्ने २१ वटा तत्वहरु समावेश गरिएका बताइन्छ । युनिफिकेशन चर्च र विवादित आइएनजिओ युपिएफमा आवद्ध सबैले विवाह अगाडि यो होली वाइन खानै पर्छ । नेपालमा पनि यसको शाखा छ । यो चर्चसँग आवद्ध नेपालीहरुले पनि अरुले जस्तै आफू खुसी विवाह गर्न पाउँदैनन् । युनिफिकेशन चर्चमा आवद्ध सबैले विवाहपूर्व आफ्ना ‘लिडर’ले म्याचिङ गरेपछि मात्र विवाह गर्न पाउँछन् । पहिला विवाहका लागि म्याचिङको काम मुनले नै गर्दै आएका थिए।

शाखा विस्तार र संगठन ठूलो हुँदै गए पनि यो काम मुनले मात्र नभ्याएपछि ‘लिडर’ बनाइए । नेपालमा दुई जना लिडरहरु छन् । तीमध्ये एक हुन् एकनाथ ढकाल र अर्का सन्तोष पौडेल । नेपालमा युनिफिकेशन चर्चमा आवद्धहरुको जोडी यी दुई जनाले म्याचिङ गर्दै आएका छन् ।

अहिले उनै एकनाथ नेकपा एमालेका समानुपतिक उम्मेदवार हुन् । नेपाल परिवार दलका अध्यक्षसमेत रहेका उनको नाम नेकपा एमालेको समानुपातिक बन्द सूचीमा खस–आर्य पुरुषतर्फ दोस्रो नम्बरमै छ । उच्च प्राथमिकताका कारण उनी आगामी संसदमा एमालेबाट समानुपातिक सांसद बन्ने लगभग निश्चित रहेको बताइन्छ ।

चौतर्फी विवादित बनेको एसिया प्यासिफिक समिट पनि उनै एकनाथको मुख्य पहलमा भएको थियो । जसबाट काठमाडौं–४ का एमाले उम्मेदवार भट्टराई पनि उनै विवादित आईएनजिओसँग आबद्ध छन् भने कुरा पुष्टि हुन्छ । उनका यी यस्तै विवादित पृष्ठभूमि पनि आगामी निर्वाचनमा अर्को बाध बन्ने विश्लेषकहरुको विश्लेषण छ । साथै नेपालभरका क्रिश्चियन समुदायहरुको भोट तान्न युपिएफका नेपाल संयोजक एकनाथसँग साँठगाँठ गरेको केहीको अरोप एमालेलाई छ ।

प्रकाशित मिति : कार्तिक ३०, २०७९ बुधबार  ८ : १२ बजे

195
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।